प्रवास

एनआरएनए ज्ञान तथा विज्ञ सम्मेलन अक्टोवरमा, कार्यपत्र आह्वान

इकागज |
साउन २७, २०८० शनिबार ६:४९ बजे

लण्डन- आगामी अक्टोबरमा तेस्रो विश्व ज्ञान सम्मेलन हुने भएको छ ।

गैरआवासीय नेपाली संघको आयोजनामा अक्टोबर १७ देखि १८ सम्म काठमाडौँमा सम्मेलन आयोजना गर्न लागिएको हो । 


गैरआवासीय नेपाली संघले शुक्रवार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सम्मेलनका लागि  ३१ जुलाई २०२३ (श्रावण १५) देखि कार्यपत्र आह्वान गरिएको छ । साथै अन्य सहभागीहरुको लागि १५ अगष्ट २०२३ (श्रावण ३०) बाट दर्ता सुरु गरिने जनाइएको छ । 

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले नेपालको समृद्धीमा गैरआवासीय नेपालीहरुको आर्थिक लगानी जति महत्वपूर्ण छ त्यो भन्दा बढी ज्ञान, सीप र प्रविधिको लगानीको महत्व रहेको वताए । उनले गैरआवासीय नेपाली अभियानमा बैद्धिक व्यक्तित्वहरुलाई सहभागी गराउने नीति लिएको वताए । 

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा  ज्ञान सीप र प्रविधि विभाग प्रमुख  डा. हेमराज शर्माका अनुसार नेपाली, डायस्पोरा र अन्तर्राष्ट्रिय जगतमा ख्याति प्राप्त विज्ञहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले सो सम्मेलनको आयोजना गर्न लागिएको हो । सम्मेलनले विधमान सरकारी नीतिहरू, शिक्षा विज्ञान र प्रविधि विकासमा लगानी र यसको अनुसन्धान लगायतका विषयमा पनि जोड दिने सम्मेलन तयारी समितिका संयोजक डा. राजु अधिकारीले जानकारी दिए । 

‘विगतका वर्षमा जस्तै यसपटक पनि नेपाल सरकारसहित नेपालका शैक्षिक तथा अनुसन्धनात्मक संघसंस्था, निजी तथा सरकारी, गैरसरकारी संस्था लगायत अन्य सरोकारवालाको उपस्थितिमा सम्मेलन आयोजना गरिनेछ’, संघद्धारा शुक्रवार जारी एक विज्ञप्तिमा उल्लेख छ ।   

‘सामाजिक अर्थतन्त्र विकासको लागि वैज्ञानिक अन्वेषण र लगानी’ भन्ने मुल नारा रहेको सम्मेलनमा अर्थ, विज्ञान, पूर्वाधार , कृषि र उर्जामा आधारित चार वटा प्लेनरी सेसन सहित ११ विभिन्न विधामा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहेका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । 

सम्मेलनमा विशेषतः दिगो शहरी विकास योजना, दिगो कृषि र खाद्य सुरक्षा, वातावरण, प्रकोप र जोखिम व्यवस्थापन, नवीकरणीय ऊर्जा, जैविक प्रविधि र व्यवसायिक अवसर, विज्ञान तथा प्रविधीमा लगानी र नीतिहरू, डिजिटल र एआई प्रविधि, जनसंख्या र जनस्वास्थ्य, अर्थतन्त्र र विदेशी लगानी, दिगो पूर्वाधार र निर्माण सामग्री, विदेशिक रोजगारी र व्यवसायिक प्राविधिक शिक्षा लगायतका विषयमा बृहत छलफल गरिने छ ।

यस्तै सम्मेलनले पारम्परिक अर्थतन्त्रलाई ज्ञान र प्रविधिमा आधारित अर्थतन्त्रमा परिवर्तन गर्ने र संयुक्त राष्ट्र संघको स्थायी विकासका लक्ष्यहरू तथा नेपाल सरकारको पञ्चवर्षीय योजनालाई समेत सम्बोधन गर्ने अपेक्षा संघको छ । सम्मेलनको आयोजनाको लागि विभिन्न विशेषज्ञ सम्मिलित समितिहरु गठन गरिएको सम्मेलन आयोजक समितिका उपसंयोजक डा. देवी बस्नेतले जनाए ।  


Author

थप समाचार
x