प्रवास

एनआरएनए कुँवर समूहले मार्चमा महाधिवेशन र विश्व सम्मेलन गर्ने

इकागज |
असोज १, २०८० सोमबार १०:४५ बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) विनोद कुँवर समूहले आगामी मार्चमा ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरेको छ । १६ सेप्टेम्बरमा कुँवरको सभापतित्वमा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषदको १८ औं बैठकले महाधिवेशनको मिति टुंगो लगाएको हो ।

मार्च २ र ३, २०२४ मा नेपालमा प्रतिनिधिहरू स्वयं उपस्थित भएर ११ औं अन्तराष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलन गर्ने निर्णय गरिएको अध्यक्ष कुँवरले इकागजलाई जानकारी दिए ।


बैठकले सम्मेलन सफल रुपमा सम्पन्न गर्नका लागि अध्यक्ष कुँवरको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । ११ औँ महाधिवेशनका आयोजक समितिका सल्लाहकारहरूमा निर्वतमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा. शेष घले, निवर्तमान संरक्षक तथा पूर्व अध्यक्ष देवमान हिराचन, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, पूर्व संरक्षक दिल गुरुङ, सम्पूर्ण वर्तमान सल्लाहकारहरू र सम्पूर्ण मानार्थ परिषद सदस्यहरू रहेका छन् ।

त्यसैगरी आयोजक समितिमा सम्पूर्ण पदाधिकारीहरू, परिषद्‌ सदस्य र सबै एनसीसी अध्यक्षहरूसमेत रहने गरी मूल आयोजक समिति गठन गरिएको छ। समितिका सदस्य सचिवमा कार्यकारी निर्देशक राजेश सम्शेर राणा रहेका छन् । 

त्यस्तै ११ औं अन्तराष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नको लागि गत विशेष साधारणसभाको निर्णय अनुसारको ३ देखि ५ सदस्य रहने गरी एक निर्वाचन समितिको गठन गर्ने निर्णय गरेको छ । निर्वाचन समितिका प्रमुख र सदस्यहरूको नियुक्ति संघका अध्यक्ष र महासचिवले गर्नेगरी निर्णय गरिएको अध्यक्ष कुँवरले जानकारी दिए ।

विश्व सम्मेलनको लागि आर्थिक व्यवस्थापन र श्रोत विकासको लागि उपाध्यक्ष भोमा लिम्बुको संयोकत्वमा समिति गठन गरेको छ भने उपाध्यक्ष थर्क सेनको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ।

संघको गत बिशेष साधारणसभाले पारित गरेका परिमार्जित दफा र नियमहरूसमेत समेटेर ११ औं महाधिवेशनको लागि एनसीसीहरूको लागि बिधान (मास्टर कपी) तथा राष्ट्रिय महाधिवेशन सहज बनाउनको निर्देशिका तथा अन्तराष्ट्रिय महाधिवेशन सञ्‍चालन निर्देशिकासमेत तयार पार्नको लागि उपाध्यक्ष बाबुराम (बिआर) लामाको संयोजकत्वमा समिति गठन गरिएको छ।

११ औं अन्तराष्ट्रिय महाधिवेशन व्यवस्थापन गर्न महासचिव जानकी गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिले महाधिवेशन प्रतिनिधिहरूको समेत प्रमाणीकरण कार्य गर्ने कुँवरले जानकारी दिए ।

सम्मेलनको लागि प्रचार प्रसार तथा प्रकाशनको लागि सचिव कृष्ण संजेल केसीको संयोजकत्व समिति गठन गरिएको छ। सम्मेलनको घोषणा २०२४ जारी गर्नको लागि  प्रवक्ता प्रकाश धमलाको संयोजकत्वमा समिति गठन गरिएको छ। 

संघको विधान २०२२ लाई आवश्यक भए सो र विशेष साधारणसभा २०२३ ले पारित गरेका परिमार्जित दफा र नियमहरूसमेत समेटेर विधान संशोधनको लागि क्षेत्रिय संयोजक केशव कँडेलको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरिएको छ ।

सम्मेलनको कार्यक्रम व्यवस्थापन गर्न यूथ एम्बसडर दिपेश खत्रीको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समिति गठन गरिएको छ । सम्मेलनको लागि बनाइएका समिति संयोजकहरूले समितिमा आवश्यकता अनुसार सदस्यहरू मनोनित गर्न र आवश्यकता अनुसार उपसमितिहरू समेत गठन गर्न सक्ने कुँवरले बताए ।


Author

थप समाचार
x