प्रवास

एनआरएनए आरके समूहद्वारा सर्वोच्चको फैसलाको स्वागत

इकागज |
चैत २६, २०८० सोमबार १०:५० बजे

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके शर्मा समूहले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । आइतबार भर्चुअल माध्यमबाट बसेको शर्मा समूहको बैठकले सर्वोच्चको फैसलाको स्वागत गर्दै सबैले आ–आफ्नो इगो त्यागेर एकताको महाधिवेशन सफल बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।

बैठकलाई सम्बोधन गर्दै शर्माले सर्वोच्चको फैसला कसैको हारजितभन्दा पनि संस्थाको भलाइका लागि आएको बताए । उनले संस्थालाई एकताबद्ध बनाउनका लागि मनमुटाव त्यागेर अघि बढ्नुपर्नेमा जोड दिए । ‘अदालतको फैसलाबारे कुनै पनि नकारात्मक टिकाटिप्पणी नगरिदिन आग्रह गर्छु’, उनले भने, ‘साथीहरू सबैसँग मित्रवत रुपमा अघि बढेर एकताको महाधिवेशन गर्नुपर्छ ।’


उनले आफूहरू एनआरएनएमा देखिएको विकृतिविरुद्ध लड्दै आएको र आगामी दिनमा पनि खबरदारी भने जारी रहने बताए । उनले आफूले विकृतिविरुद्ध लडिरहने भनेर बाचा गरेको स्मरण गर्दै यो नटुंग्याइ खुट्टा कमाउँदिन भनेको र त्यसका लागि काम पनि गरेको उल्लेख गर्दै आगामी दिनमा पनि जिम्मेवारी पाएको खण्डमा पुरा गरिछाड्ने बताए ।

बद्री केसी समूहले आफ्नो गल्तीलाई स्वीकार्न नखोज्दा र १०औँ महाधिवेशनदेखि नै इगो हाबी भएकाले संस्था अहिलेको खराब अवस्थामा पुगेको पनि उनले जिकिर गरे । समयमै समस्याको इमानदारिताका साथ समाधान गरिएको भए अहिलेको अवस्था नआउने उनको भनाइ थियो ।  

यसैगरी अभियन्ता महेश श्रेष्ठ कठिन परिस्थितिमा पनि शर्माको नेतृत्वमा काम कारबाही भएको भन्दै शर्मासहित सबै साथीहरूप्रति हार्दिक आधार व्यक्त गरे । जटिल परिस्थितिलाई बुझेर सर्वोच्चले जसरी फैसला छ त्यसलाई सकारात्मक रुमा लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए । उनले संस्थामा अफ्ठ्यारो परिस्थिति सिर्जना हुनुमा नेतृत्व गर्न चाहने साथीहरूको इगोले भूमिका खेलेको जिकिर गरे ।

‘१०औँ महाधिवेशनमा प्रतिनिधिको विवाद भयो । सोही विवाद मिलाउन सकिने भएपनि इगोले काम गर्‍यो’, उनले भने, ‘सर्वोच्चको फैसलाको मनसाय नै एकता छ । हाम्रो १०औँ महाधिवेशनदेखि नै जुन भावना थियो, त्यही भावना सर्वोच्चबाट आएको छ । इगो त्याग्न सकिएन भने अझै पनि एकता गर्न सकिने अवस्था छैन ।’

अब आउने नेतृत्वमा आवश्यक परे अहिलेको परिस्थिति निम्तने कार्यमा जिम्मेवारहरूले नेृतत्वमा दाबी गर्न नहुने उनले बताए । उनले सर्वोच्चको फैसलालाई नै चुनौती दिने कार्य बद्री केसी पक्षबाट भएको भन्दै असन्तुष्टि पोखे । ‘अदालतले हराइदियो अब पनि देखाइदिने हो भन्ने भावना जगाउने हो भने एकता हुँदैन’, उनले जोड दिँदै भने, ‘सबैले आत्माआलोचना गरौँ । इगो त्यागौँ । एक कदम पछि हटौँ । समस्याको समाधान हुन्छ ।’

यस्तै अर्का अभियन्ता केशव पौडेलले १०औँ महाधिवेशनदेखि संस्थामा पावर, पैसा र मसलको अली बढी प्रयोग हुँदा समस्या बढ्दै गएको बताए । ‘यसको सुरुवात २०१९ मा भएको अधिवेशनबाट भयो । यो अभियान अभियाजस्तो भएन भनेर भनेका थियौँ । इगो र पावरको लोभ छाडेर सहमति, सहकार्य र सहअस्तित्वमा गइयो भने समस्या ठूलो हुँदैन’, उनले भने ।

यस्तै अभियन्ता गंगाधर गौतमले बद्री केसी, गौरीराज जोशी, हेमराज शर्मालगायत अझै पनि अरुलाई दोषारोपण गरेर आफूलाई पानीमाथिको ओभान देखाउन तल्लीन रहेको आरोप लगाए । एमाले अध्यक्ष केपी ओलीले नेपालमा गरेको ठट्टाको राजनीति नै उनीहरूले पनि एनआरएनएमा गरेका उनले आरोप लगाए ।

सर्वोच्च अदालतले गत बुधबार एनआरएनएको १०औँ र ११औँ महाधिवेशन अवैध ठहर गर्दै २०७८ माघ १ को अवस्थामा फर्काइदिएपछि एनआरएनहरू तरंगित छन् । दुई दिनअघि बद्री केसी पक्षको बैठकले सर्वोच्चको फैसलाप्रति असन्तुष्टि जनाउँदै पुनरावलोकनमा जाने निर्णय गरेको थियो । 

तर, शर्मा पक्षले भने सर्वोच्चको फैसला स्वीकार्दै एकताबद्ध एनआरएनए बनाउन जोड दिएको हो । आधिकारिकतासम्बन्धी विवादमा विनोद कुँवर पक्षको एनआरएनएले दिएको मुद्दामा सर्वोच्चबाट पछिल्लो फैसला आएको हो । फैसलाअनुसार शेष घले नेृतत्वको १३ सदस्यीय कमिटीले एकताको महाधिवेशन गराउनुपर्नेछ ।


Author

थप समाचार
x