प्रवास

८ दिनमा ६३ करोड आन्तरिक चिनियाँ पर्यटक

अजय अलौकिक |
असोज ३०, २०७७ शुक्रबार २०:१० बजे

बेइजिङ : भर्खरै चीनमा सुनौलो सप्ताह सम्पन्न भएको छ । नयाँ चीन (जनगणतन्त्र चीन) स्थापना भएको दिन अक्टुबर १ मा चीनमा राष्ट्रिय दिवस मनाइन्छ । योसँगै चीनमा सात दिनको लामो विदा दिने परम्परा रहँदै आएको छ ।

यो चिनियाँ नव वर्षपछिकै सबैभन्दा लामो विदा पनि हो । यसैकारण यस विदा अवधिलाई सुनौलो सप्ताह भन्ने गरिन्छ । साथै यस वर्ष चिनियाँ चाड (चोङ छ्यु चे) मिड अटम फेस्टिभल पनि १ तारिख नै परेकोले आम चिनियाँले ८ दिन विदा पाएका थिए ।


कोभिड-१९ का कारण विश्व अर्थतन्त्र नै धरायशी भएको अवस्थामा यस विदामा विश्वले चीनको आर्थिक सुधारको उज्ज्वल सम्भावना देख्न पाएको छ । यस विदाको अवधिमा ६३ करोड ७० लाख चिनियाँ पर्यटकहरूले आन्तरिक यात्रा गरेका छन् । कोभिड-१९ का कारण यस पटक एक अर्ब ४० करोड चिनियाँ सर्वसाधारणले नयाँ वर्ष मनाउन पाएका थिएनन् । हाल कोभिड-१९ माथि चीनले विजय हासिल गरिसकेको अवस्थामा चिनियाँहरू ढुक्क भएर पर्यटन गरेका छन् । यी पर्यटकबाट चीनले ४ खर्ब ६६ अर्ब ५६ करोड युआनको आय गरेको छ ।

तथ्याङ्क अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो आय २८ प्रतिशतले घटेको छ । साथै गत वर्ष ७८ करोड २० लाख चिनियाँ पर्यटकहरूले आन्तरिक पर्यटन गरेका थिए । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले भाइरस रोकथाम तथा नियन्त्रणका लागि पर्यटकीय स्थलमा दैनिक रूपमा आगन्तुकको संख्यालाई सिमित गरेबाट पनि यसको संख्या कम भएको देखिन्छ । चीनको यातायात मन्त्रालयको पछिल्लो तथ्याङ्क अनुसार, अक्टोबर १ देखि ८ तारिखसम्म राष्ट्रिय रेलमार्ग, राजमार्ग, जलमार्ग र हवाइमार्गबाट प्रत्येक दिन ६ करोड २१ लाख १५ हजार पटक यात्रा भएको छ ।

यसै गरी सो विदाको अवधिमा बेइजिङले मात्र १ करोड आन्तरिक पर्यटकलाई स्वागत गरेको थियो । बेइजिङ नगरको संस्कृति तथा पर्यटन ब्यूरोका अनुसार ५९ लाख १० हजार बेइजिङबासीले बेइजिङ शहरको भ्रमण गरेका थिए भने बाँकी अन्य शहर र प्रान्तबाट आएका पर्यटक थिए ।

कोभिड-१९ लाई नियन्त्रणमा राख्न सफल भएपछि चीन आर्थिक उन्नतितर्फ अग्रसर छ । यही परिप्रेक्ष्यमा नेपालले पनि नजिकिँदै आएको महान चाड दसैंलाई साधारण रूपमा मनाइ सर्वप्रथम कोभिड-१९ महामारी फैलिरहेको अवस्थामा सुरक्षाका उपायहरू अवलम्बन गरी यसको रोकथाम र नियन्त्रण गर्नु जरूरी देखिन्छ ।
 


Author

थप समाचार
x