प्रवास

अफगानिस्तान : धातु र खनिज पदार्थ उत्खनन गरे बन्‍नसक्छ समृद्ध देश

राम रिसाल |
भदौ २५, २०७८ शुक्रवार ९:३३ बजे

ढाका, बंगलादेश- अफगानिस्तान बहुमूल्य धातु तथा खनिज पदार्थको भण्डार हो । यो दक्षिण एसियादी मुलुकले धातु तथा खनिजको उत्खनन् तथा बिक्रिबाटै करिब तीन खर्ब अमेरिकी डलर बराबरको आम्दानी गर्नसक्ने अनुमान गरिएको छ । अफगानी भूमिमा रहेका यस्ता पदार्थको प्रयोग नवीकरणीय उर्जामा पनि प्रयोग गर्न सकिने स्थिति छ । 

तर यिनको उत्खनन् र प्रयोगका लागि अफगानिस्तान निरन्तर असफल भइरहेको हामीले देखेका छौँ । हुन त यो सबै गर्न अफगानिस्तानमा वातावरण र आर्थिक तथा प्राविधिक स्रोत नभएको पनि हो । जे होस्, अफगानिस्तानको यस्तो स्रोतमाथि अब तालिबानले कब्जा गरेको छ । 


तालिबान २० वर्षपछि अफगानिस्तानको शासन सत्तामा फर्किएको हो । युद्धले धुजाधुजा भएको अफगानिस्तानको आर्थिक स्रोत सीमित छ । जसकारण त्यहाँ राज्य सञ्चालन गर्न तालिबानलाई सजिलो छैन । विगतमा अफगानिस्तानलाई आर्थिक सहायता गरिरहेका अन्तर्राष्ट्रिय दाताहरूकै भर पर्नुपर्ने बाध्यता छ, तालिबानलाई । तर अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरू, अमेरिका, युरोपियन युनियनलगायतले अफगानिस्तानलाई तत्काल सहयोग गर्ने अवस्था छैन । तसर्थ अफगानिस्तान आर्थिक नाकाबन्दीकै स्थितिमा छ । आफूसँग आर्थिक स्रोत तथा प्राविधिक दक्षता नभएपछि तालिबानले आफ्नो भूमिमा रहेको महंगा धातु तथा खनिज पदार्थको उत्खनन् गरी बिक्रि गर्ने र आम्दानी गर्ने सम्भावना पनि छैन ।

अमेरिकाको जियोलोजिकल सर्भेका रिपोर्टका अनुसार अफगानिस्तानमा तामा, फलामको धातु, लिथियम र  रेयेर अर्थ जस्ता बहुमूल्य धातु तथा खनिज पदार्थको भण्डार छ । बिजुलीको तार बनाउनको लागि प्रयोग हुने तामाको विश्वव्यापी माग बढ्दो छ । यसको मूल्य यस वर्ष आकाशिएर चार लाख १० हजार प्रति टन पुगेको छ ।

ब्याट्रिमा प्रयोग हुने लिथियमका मूल्य र माग पनि अत्याधिक बढेको छ । विश्व नवीकरणीय उर्जातर्फ अघि बढिरहँदा लिथियमको माग भविष्यमा झनै बढ्नेछ । सीमित स्थानमा मात्रै पाइने लिथियमको ठूलो भण्डार अफगानिस्तान भएकाले यस मुलुकको महत्व यस कोणबाट पनि बढेको छ । 

अफगानिस्तान ‘रेयेर अर्थ’ को पनि घर हो । यसको प्रयोग स्वच्छ ऊर्जा क्षेत्रमा हुन्छ । मोबाइल, कम्प्युटर, टेलिभिजन, म्युजिक सिस्सटम आदिमा प्रयोग हुने ‘चिप्स’को उत्पादन ‘रेयेर अर्थ’ विना सम्भव छैन । अमेरिकाको जियोलोजिकल सर्भेले अफगानिस्तानमा एक खर्ब अमेरिकी डलर बराबरको खनिज पदार्थ रहेको बताए पनि अफगानी अधिकारीहरू भने आफ्नो मुलुकमा तीन अर्ब अमेरिकी डलर भन्दा बढीको बहुमूल्य खनिज रहेको दाबी गर्छन् । 

अफगानिस्तानका पन्‍ना र माणिक जस्ता बहुमूल्य पत्थरको भने अवैध तस्करी हुने गरेको छ । तस्करीमा पाकिस्तानको बाटो प्रयोग हुने बताइन्छ । चल्क, संगमरमर, कोइला र फलामका धातुहरूको पनि तस्करी हुने गरेको छ । अफगानी भूमिमा रहेका बहुमूल्य धातुहरूको तस्करी होइन, व्यवस्थित उत्खनन् र बिक्रि गर्ने वातावरण मिलाउन जरुरी छ । यसका लागि विदेशी लगानीकर्ताहरू अफगानिस्तान पुग्नुपर्छ । तर काबुलमा तालिबानको उपस्थितिका कारण विदेशी लगानीकर्ता अफगानिस्तानको यो क्षेत्रमा लगानी गर्न तयार होलान् ? यद्यपि छिमेकी चीनले अफगानिस्तानमा लगानी गर्ने इच्छा देखाएको छ ।  

हुन त चिनियाँ सरकारी स्वामित्वमा रहेको चाइना मेटा लुरजिकल ग्रुप कर्पोरेशन र जियाङसी कप्पर सन् २००७ देखि नै अफगानिस्तानमा सक्रिय रहँदै आएका छन् । उनीहरूले त्यहाँ रहेको आयनाक तामा खानीबमट ११ करोड टन तामा उत्खनन् गर्ने ठेक्का पाएका थिए । यद्यपि सुरक्षाका कारण यो तामा खानी सञ्चालनमा आउन सकेको छैन । 

चिनियाँ अखबार ग्लोबल टाइम्सले चिनियाँले ठेक्का पाएको खानी चाँडै सञ्चालनमा आउने बताएको छ । तालिबानी सरकारले चीनको मान्यता पाउने र त्यहाँ चिनियाँ कम्पनीहरूले लगानी गर्ने पनि ग्लोबल टाइम्सको अनुमान छ । 

वासिङ्टनमा रहेको प्रतिष्ठित थिंकट्याङ्क बु्रकिङसँग आबद्ध विदेश मामिला विज्ञ रायन हासले चीनले अफगानिस्तानमा लगानी गर्ने अनुमान गरेका छन् । तालिबानको पुनरागमनप्रति उत्साहित नभए पनि चीनले अफगानिस्तान मामिलामा धैर्य रहेको र त्यहाँ गरेको लगानीको प्रतिफलका लागि पर्खन तयार रहेको पनि हासको भनाइ छ ।   


Author

थप समाचार
x