कृषि

कृषि मन्त्रालयले भन्यो : पोखरा, लहान र नेपालगञ्‍जमा राख्न पाँच वर्ष अगाडि भारतसँग राँगो मागिएकाे थियाे

इकागज |
जेठ २१, २०८० आइतबार १८:२२ बजे

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को केही दिनअघि भारत भ्रमण भयो । जेठ १७ देखि २० गतेसम्म भएको भ्रमणमा भारतले नेपाललाई मुर्रा राँगो दिने समझदारीसमेत भयो ।

प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्केपछि सबैभन्दा बढी चर्चा मुर्रा राँगोको छ । आखिर राँगाको वास्तविकता के हो ?  यसअघि नै भारतले नेपाललाई राँगा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको थियो ।


सन् २०१८ मा नेपाल भारत संयुक्त कृषि प्राविधिक कार्य समूहको बैठकमा नेपालले औपचारिक/ अनौपचारिक तवरबाट ३० वटा मुर्रा जातको राँगो माग गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले सन् २०२० मा भारतको पशुपन्छी मन्त्रालयलाई प्रजननका लागि बिउँ राँगो माग गरेको थियो । सोही बमोजिम भारतले मापदण्ड अनुरूप नेपाललाई मुर्रा राँगो उपलब्ध गराउन प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले आइतबार सूचना जारी गरी प्रस्ट पारेको छ ।

नेपालस्थित भारतीय दूतावासले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा १५ वटा मुर्रा राँगो उपलब्ध गराउने जनाइसकेको थियो । दूतावासले नेपाललाई राँगो दिने भनेर २ जुन २०२३ मा सूचना जारी गरिसकेको थियो ।

भारतले नेपाललाई १५ वटा राँगो निःशुल्क दिन लागेको हो । राँगोको प्राविधिक पक्ष निरीक्षण र अध्ययन गर्नका लागि निरीक्षण तथा विज्ञ टोलीहरू भारतको सरकारी फार्ममा जान लागेको मन्त्रालयले जनाएको छ ।

प्राविधिक पक्ष टुंगिएपछि भारतले नेपालको भन्सारसम्म राँगो पठाउनेछ । भारतबाट ल्याइएका राँगा पशुसेवा विभाग मातहतका राष्ट्रिय पशु प्रजनन कार्यालयहरू पोखरा, नेपालगञ्ज र लहानमा राखिने मन्त्रालयको भनाइ छ । उच्च गुणस्तरको वीर्य उत्पादन गरी कृषकलाई कृत्रिम गर्भाधान कार्यका लागि उपलब्ध गराइनेछ ।

 


Author

थप समाचार
x