कृषि

लम्पी स्किनबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन सक्दैनौं : कृषिमन्त्री भुसाल

इकागज |
साउन ३२, २०८० बिहीबार १७:८ बजे

काठमाडौँ- कृषि तथा पशुपन्क्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरूको क्षतिपूर्ति दिन नसक्ने बताएका छन् ।​ बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पी स्किनबाट मृत्यु भएका पशुहरूको क्षतिपूर्ति दिन नसकिने बताएका हुन् ।

मन्त्री भुसालले लम्पी स्किन रोग लागेर पशुहरूको मृत्यु भएपश्चात किसानहरूलाई ठूलो क्षति भए पनि त्यसको सम्पूर्ण क्षतिपूर्ति दिन भने नसकिने प्रष्ट्याए । यद्यपि सरकारको तर्फबट किसानहरूलाई राहत दिने गरी कार्यविधि बनिरहेको जानकारी गराए । उनले सरकारको तर्फबाट राहत उपलब्ध गराउन आधार, मापदण्ड र कार्यविधि लगायतका प्रकृयालाई अगाडि बढाइएको जानकारी दिए । कार्यविधि पास हुने बित्तिकै राहत उपलब्ध गराउने कृषिमन्त्रीको भनाइ छ ।


उनले लम्पी स्किनबाट अहिलेसम्म १३ लाख पाँच हजार ३६१ पशु संक्रमित भएको बताए । मन्त्री भुषालले चैतदेखि हालसम्म ४७ हजार ६४९ पशुको मृत्यु भएको जानकारी दिँदै एक लाख ७५ हजार ५५३ पशु अहिले पनि संक्रमित रहेको बताए ।

मन्त्री भुसालले सरकारले सबै प्रदेशमा पशुलाई लाग्ने रोग लम्पी स्किनविरुद्ध उपचार, लक्षण लगायतका विषयमा सचेतना दिइरहेका कारण मृत्युदर घटेको उल्लेख गरे ।


Author

थप समाचार
x