कृषि

बेथानचोकका किसानलाई दूधमा अनुदान

इकागज |
भदौ ७, २०८० बिहीबार १५:२४ बजे

फाइल फोटो

काभ्रे - बेथानचोक गाउँपालिकाका किसानलाई दूध उत्पादन परिमाणका आधारमा अनुदान वितरण गरिएको छ । 

दूध उत्पादन र बजारीकरण गर्दै आएका जिल्लाका दुग्ध उत्पादक सहकारी संस्था, दूधको कारोबार गर्ने कृषि, बहुमखी र बहुद्देश्यीय संस्थाले आर्थिक वर्ष २०७९÷८० मा प्रतिफलमा आधारित प्रोत्साहन अनुदानबापत प्रदान गरिने रकमअन्तर्गत बेथानचोकका किसानलाई अनुदान वितरण गरेका हुन् । 


आधुनिक कृषि सहकारी संस्थाले थानी महांकाल डेरीमार्फत दूध बिक्री गर्ने कृषकलाई अनुदान रकम वितरण गरेको हो । सहकारीले थप अनुदान माग गरेको १० लाख ५८ हजार ३६ लिटर दूधमध्ये १० लाख ५२ हजार लिटर दूधमा अनुदान रकम प्राप्त गरेको बेथानचोक–२ का वडाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले जानकारी दिए । 

उनका अनुसार सहकारीमा आबद्ध किसानलाई बागमती प्रदेश सरकारले दूध उत्पादनमा आधारित रहि प्रतिलिटर दूधमा तीन रुपैयाँ ५६ पैसा अनुदान दिएको रकम हस्तान्तरण गरिएको हो । यस्तै सहकारीमार्फत बेथानचोकको २ र ३ नं वडाका एक सय ९६ किसान र पनौती नगरपालिकाका ९९ किसानले थप अनुदान रकम पाएका छन् । 

सहकारीले १० लाख ५८ हजार लिटर दूधमा रु ३७ लाख ४८ हजार पाँच सय ८३ अनुदान रकम पाएकामा बेथानचोकका किसानले रु २६ लाख नौ हजार छ सय १५ र पनौतीका किसानले रु ११ लाख ३८ हजार नौ सय ३८ प्राप्त गरेका हुन् । एक किसानले कम्तीमा रु चार हजार तीन सय ४३ देखि अधिकतम रु ५० हजारसम्म अनुदान पाएका हुन् ।

गाउँपालिका अध्यक्ष भगवान अधिकारीले वर्ष दिन किसानले बिक्री गरेको दूधको परिमाणका आधारमा प्रदेश सरकारले दिएको अनुदान रकमले किसानलाई पशुपालनमा आकर्षित गरी थप दूध उत्पादन गर्न उत्प्रेरणा दिएको बताए । 

उनले युवा तथा किसानलाई व्यावसायिक कृषि तथा पशुपालनमा आकर्षित गर्न निःशुल्क कृत्रिम गर्भाधान सेवा तथा गाउँपालिका साक्षी बसेर सहुलियत दरमा कर्जा सुविधाको कार्यक्रम र तथ्यांक संकलन सकिएपछि ‘किसान परिचयपत्र’ वितरण गरिने तयारी गरिएको जानकारी दिए । रासस


Author

थप समाचार
x