कृषि

पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक १० हजार

इकागज |
असोज २९, २०८० सोमबार १६:७ बजे

गुल्मी - गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ । पछिल्लो समय धेरै किसानको पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेकोे हो ।

पालिकाभित्र पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रुपमा रू १० हजार अनुदान उपलब्ध गराउने निर्णय भए अनुसार अनुदान रकम वितरण गर्दै आइएको गाउँपालिका अध्यक्ष भगतसिंङ खड्काले जानकारी दिए । उनका अनुसार पालिकाले चालु आर्थिक वर्षमा चार पशुपालन गर्ने फार्मलाई मासिक रू १० हजारका दरले अनुदान रकम उपलव्ध गराएको छ ।


उक्त फार्मले पाँच भन्दा बढी दुहुना गाईभैँसी पाल्दै आएकाले अनुदान रकम उपलब्ध गराइएको अध्यक्ष खड्काले बताए । उनका अनुसार अनुदान पाउनेमध्ये वडा नं ५ मा रहेको नमुना कृषि तथा पशुपक्षी फार्ममा नौ दुहुना गाई, वडा नं–१ को गौरव कृषि तथा पशुपक्षी फार्ममा नौ, वडा नं ६ को घिमिरे कृषि तथा पशुपक्षी फार्ममा नौ र वडा नं २ मा रहेको गगन गृष्मा कृषि तथा पशुपक्षी फार्ममा आठ गरी ३५ वटा दूध दिने गाईभैँसी रहेका छन् ।  

किसानलाई कृषि र पशु पालनमा प्रोत्साहन गर्दै थप हौसला प्रदान गर्न पालिकाले गत आवदेखि अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाकी उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् । “यसरी व्यावसायिक रुपमा सञ्चालनमा आएका फार्मको अवलोकन गर्दा किसानको मेहनत देखेर निकै खुसी लागेको छ”, उनले भनिन्, “यसले ईस्मालाई दूधमा आत्मनिर्भर बनाउन थालेको छ ।”

पालिकाले उपलब्ध गराएको अनुदानको रकमले व्यावसायिक किसानलाई थप ऊर्जा र हौसला थपिदिएको गगन गृष्मा फार्मका सञ्चालक गगन कुँवरले बताइन् । पालिकाले गत आवमा छ फार्मलाई अनुदान उपलब्ध गराएको थियो । 
रासस


Author

थप समाचार
x