कृषि

रुकुम पश्चिमबाट ६९ करोड बढीको माछामासु बिक्री

इकागज |
कात्तिक १३, २०८० सोमबार १५:५४ बजे

फाइल फोटो

रुकुम पश्चिम - रुकुम पश्चिममा एक वर्षको सयममा जिल्लाभरबाट ६९ करोडभन्दा धेरैको माछामासु बिक्री भएको छ । 

गत आव २०७९/८० मा जिल्ल्लाका विभिन्न ठाउँबाट उत्पादन भएको माछा मासु जिल्ला भित्र र बाहिर गरेर ६९ करोड १९ लाख आठ हजार रुपैयाँको माछामासु बिक्री भएको पशु अस्पताल तथा पशु सेवा कार्यालय निमित्त प्रमुख ज्ञानुुकुमार शर्माले जानकारी दिए । उनका अनुसार मासु ६७ करोड १४ लाख र माछा दुई करोड पाँच लाख रुपैयाँको बिक्री भएको छ ।


माछा मासु उत्पादन र प्रयोगका हिसाबले जिल्ला आत्मनिर्भर बन्दै गएको निमित्त प्रमुख शर्माले बताए ।  “तीन नगरपालिका तीन गाउँपालिका रहेको रुकुम पश्चिममा माछामासुमा पछिल्लो समय आत्मनिर्भर बनेको छ । स्थानीय उत्पादनले नै जिल्लामा माछामासुको आवश्यकता पूरा भई जिल्ला बाहिरसमेत खसी, बोका बिक्री भइरहेको छ”, उनले भने । 

जिल्लामा गत आव २०७९/८० मा आठ सय ३९ दशमलव २६ मेट्रिकटन अर्थात् आठ लाख नौ हजार दुई सय २० केजी मासु उत्पादन भएर बिक्री भएको छ भने माछा दुई सय ३१ मेट्रिकटन अर्थात् दुई लाख ३१ हजार केजी उत्पादन भएको छ ।

जिल्लामा मासु पर्याप्त भएपछि खसी, बोका चितवन काठमाडौँलगायतका विभिन्न बजारमा पठाउने गरिएको छ । जिल्लाको आठबीसकोट नगरपालिका र बाँफीकोट गाउँपालिकामा व्यावसायिकरुपमा बाख्रापालन गरिएकाले धेरै मामु उत्पादन हुने गरेको निमित्त प्रमुख शर्माको भनाइ छ । माछाका लागि जिल्लामा विशेष गरी स्र्यापू ताल, भेरी नदी, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा उत्पादन हुने गरेको छ ।

स्थानीय उत्पादनले अण्डामा भने जिल्ला अपर्याप्त रहेको उनको भनाइ छ । व्यावसायिकरुपमा अण्डाका लागि कुखुरापालन नगरिएकाले जिल्लामा अण्डा पोखरा, चितवन दाङबाट ल्याउनुपर्ने बाध्यता रहेको पशु अस्पताल तथा पशुसेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । रासस


Author

थप समाचार
x