कृषि

बन्दीपुरमा ४० रोपनी क्षेत्रफलमा सयपत्री खेती

इकागज |
कात्तिक २१, २०८० मंगलबार २१:४८ बजे

फाइल तस्बिर

तनहुँ- जिल्लाको बन्दीपुर गाउँपालिकामा चालिस रोपनी क्षेत्रफलमा व्यावसायिक फूल खेती गरिएको छ । भारतबाट आयात हुने फूललाई निरुत्साहित गर्दै  स्वदेशमै उत्पादित फूलको प्रवर्द्धन गर्न फूल खेती थालिएको हो । 

बन्दीपुर गाउँपालिका–५ स्थित थुम्का, कल्चोकमा नेत्रप्रसाद लामिछाने, नारायण लामिछाने लगायतका २० जना बढी किसानले व्यावसायिक रुपमा फूल खेती गर्दै आएका छन् ।  


विगत चार वर्षदेखि व्यावसायिक फूल खेती गर्दै आएको स्थानीय किसान तामप्रसाद भट्टले जानकारी दिए । अघिल्ला वर्षमा थोरै क्षेत्रफलमा फूल लगाए पनि यस वर्ष चार रोपनी क्षेत्रफलमा फूल खेती गरेको उनले बताए । उत्पादित फूल जिल्लाभित्र र नारायणगढमा लगेर बिक्री गर्ने गरेको छु,' उनले भने, 'प्रतिमाला रु दुई सयदेखि तीन सय ५० सम्म बिक्री गर्ने गरेको छु ।'

यस वर्ष करिब रु डेढ/दुई लाखसम्मको फूल बिक्री हुने अपेक्षा रहेको किसान भट्ट बताउँछन् । त्यस क्षेत्रका फूल उत्पादक किसानले सिजनमा रु एक लाख बढीसम्मको बिक्री गर्ने गरेका छन् । गाउँपालिकामा सयपत्री फूल खेती गरेसँगै तिहारको समयमा बाह्य देशबाट ल्याउनु नपरेको व्यवसायी बताउँछन् ।  

भारतको तुलनामा नेपालमा फूल उत्पादनमा लागत बढी पर्ने भएकाले  दसैँ तिहारका समयमा भारतबाट आउने फूलको मूल्यसँग प्रतिस्पर्धा गर्न कठिन हुने गरेको अर्का किसान नारायण लामिछानेले बताए । बिरुवा लगाएको चार महिनाभित्र फूल उत्पादन हुन्छ । थोरै लगानीबाट राम्रो आम्दानी गर्न सकिने भएपछि पछिल्ला समय व्यावसायिक किसानको यसतर्फ आकर्षण बढ्दै गएको पाइन्छ ।  

उक्त वडालाई बाह्रै महिना फूल उत्पादन गर्ने क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए । आगामी वर्षदेखि उक्त वडामा नर्सरी बनाएर गाउँपालिकाले हाइब्रीड फूलको बीउमा अनुदान र प्राविधिक सहयोग उपलब्ध गराइने उनले बताए । 

उक्त क्षेत्रमा गरिएको व्यावसायिक फूल खेतीको आफूले स्थलगत अवलोकन गरिसकेको अध्यक्ष थापाले बताए । 'फूल खेतीबाट आफू प्रभावित भएको बताउँदै अध्यक्ष थापाले आउँदो वर्ष समयमै गाउँपालिकाको सक्रियतामा किसानलाई प्रोत्साहन हुने किसिमले काम गर्ने सोच बनाएका छौँ,' उनले भने । रासस


Author

थप समाचार
x