कृषि

रुपा तालमा छाडियो १० हजार माछाका भुरा

इकागज |
मंसिर ५, २०८० मंगलबार १८:१४ बजे

फाइल फोटो

गण्डकी - विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् । मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् । 

‘स्वदेशी माछाः पोषण र जीवकोपार्जनको आधार’  नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन् । कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए । जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए । 


रुपा ताल मत्स्यपालनका साथै सिपिमा मोति खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोति खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए । 

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए । उत्पादनसँग व्यक्ति तथा जनतसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए । 

कार्यक्रममा सिड फाउन्डेसनका पूर्वअध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनःस्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्ष्णसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए । रासस


Author

थप समाचार
x