कृषि

गाउँपालिका हाँकेका पाइजाको किबी खेती

इकागज |
मंसिर १४, २०८० बिहिवार २०:५२ बजे

गलकोट (बागलुङ)- बडिगाड गाउँपालिका-५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किवीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक धौलागिरि अञ्चलमा पहिलो पटक किवी भित्र्याएर यसको खेती सुरु गरेका पाइजा यति बेला भने धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् ।

तत्कालीन समयमा प्रतिबिरुवा रु एक हजार पाँच सयमा किवी खरिद गरेका उनले २०६४ सालमा मात्रै व्यावसायिक खेती गर्ने सोच बनाएका थिए । उनी यति बेला एक सय २० रोपनीमा फलफूल खेती गरिरहेका छन् । पाइजाले गत वर्ष मात्रै चार हजार केजी किवी बिक्रीबाट रु पाँच लाखभन्दा बढी आम्दानी गरेको बताए । उनले हाल चार सय किवीका बिरुवाबाट व्यावसायिक खेती गरिरहेका छन् । 


कृषिमा रमाइरहेका पाइजा किसानको नेता हुँदै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बडिगाड गाउँपालिका अध्यक्षमा निर्वाचित भए । पालिका अध्यक्षको कार्यकाल सकिएलगत्तै उनले फेरि गाउँमा किवी खेतीमै रमाइरहेका छन् ।

'कृषि पेसाकै कारण मलाई धेरैले चिने, धौलागिरिका चार जिल्लामै पहिलो पटक किवी खेती भित्र्याउने मै हो,' पाइजाले भने, 'कृषिबाटै जिल्लामा चिनिएको थिए, गाउँपालिकाको निर्वाचनमा पालिका अध्यक्षमै निर्वाचित भएँ, सो कार्यकालमा पालिकामा किवी खेती विस्तार गरेँ ।' उनले आफू अध्यक्ष भएका बेला किसानलाई अनुदान उपलब्ध गराएको समेत बताए । 

'गाउँपालिका अध्यक्ष भएपछि व्यस्तता बढ्यो, गाउँमा बसाइँ कम भयो, धेरै काम पालिका केन्द्रबाट गर्नुपर्ने हुँदा किवीले अलि स्याहार पाएन,' पाइजाले भने, 'अहिले त फुर्सद छ दिनभर किवीको स्याहार गर्न भ्याउँछु, परम्परागत कोदो, गहुँ र मकैबाली पूर्ण रूपमा बन्द गरेर फलफूलमा लगानी गरेको हुँ ।' उनले हाल किवीसँगै ओखर, हलुवाबेद, सुन्तला, स्याउ, पाउलिनिया, एभोकार्डो, कागती, अनार खेतीका साथै आठ घार मौरी पनि पालन गरिरहेका छन् ।

पाइजाको किवी खेती देखेरै यति बेला बागलुङका कैयन किसानले व्यावसायिक किवी खेती सुरु गरेका छन् । गलकोट नगरपालिका-१ दुदिलाभाटीका गुमानसिंह खत्री, निसीखोला गाउँपालिका-४ का लीला घर्ती, बागलुङ नगरपालिका-८ सिगानाका अनन्तबहादुर खड्का, राजन जिसी, बागलुङ नगरपालिका-९ तित्याङका हीरा केसी र प्रेम केसी, ताराखोला गाउँपालिका-५ का नरबहादुर राना लगायत व्यावसायिक किवी खेतीमा रमाएका छन् ।

बागलुङमा झण्डै ४० हेक्टर जमिनमा व्यावसायिक किवी खेती गरिँदै आइएको सरकारी तथ्याङ्क छ । बागलुङको दुदिलाभाटीमा किवी पकेट कार्यक्रम नै सञ्चालित  छ । किवी भिटामिन सी, एन्टिअक्सिडेन्ट र फाइबरको राम्रो स्रोत  मानिन्छ । किवी फ्रुट भिटामिन सी र एन्टिअक्सिडेन्टको राम्रो स्रोत हो । यसलाई नेपालमा ‘ठेकीफल’ पनि भनिन्छ । रासस


Author

थप समाचार
x