कृषि

रौतहटका दूध उत्पादक किसान आजदेखि आन्दोलनमा

इकागज |
फागुन १४, २०८० सोमबार ११:३ बजे

फाइल फोटो

रौतहट - लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरू मारमा परेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको साढे ५ करोड रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै विभिन्न निजी डेरीहरूले रौतहटका किसानबाट लगेको दूधको ३ करोड पैसा दिन सकेका छैनन् । 


दूधको पैसा समयमा नआएपछि रौतटका दूध उत्पादक किसानहरुले आन्दोलनका कार्यक्रम तय गरेका छन् । रौतहटको गरुडा भन्दा उत्तरी भेगका किसानले उत्पादन गरेको दूध बेचेको साढे ८ करोड रुपैयाँ डेरीहरुले नतिरेपछि दूध उत्पादक किसानहरू समस्यामा परेका हुन् ।

दूध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार रौतहटका दूध उत्पादक किसानहरूले फागुन १४ गते जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउने कार्यक्रम तय भएको छ । त्यस्तै दूध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगापुरमा २ घण्टा चक्काजाम गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइएको छ ।

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरूले गर्ने रौतहट जिल्ला दूध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । त्यति गर्दा पनि सुनुवाई नभए देशभरका दूध उत्पादक किसानहरूले २१ गते काठमाडौँस्थित माइतीघर मण्डलामा सरकारको विरुद्ध प्रदर्शन गर्ने तयारी गरेका छन् ।

रौतहट जिल्लामा मात्र दैनिक ३० हजार लिटर दूध उत्पादन हुने गरेको छ । रौतहटमा उत्पादन भएको दूध हेटौंडा स्थित नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसी र विभिन्न निजी डेरीहरूले लाने गरेका छन् ।​

दूध बेचेको पैसा समयमा डेरीहरूले भुक्तानी नगरेका कारण रौतहटमा दूध उत्पादनमा सक्रिय किसानहरूले पशुलाई दाना खुवाउने पैसा समेत नभएको गुनासो गरेका छन् ।

विगत छ महिनादेखि दूधबिक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानहरूलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् । 

छ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरुले समयमा किसानले उत्पादन गरेको दुध समेत खरिद नगर्दा किसानहरु दुध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ । ​

दूध बेचेको पैसा समयमा नआउँदा व्यवसायिक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौतहटका किसानहरू मारमा परेका छन् । 

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ ।

 


Author

थप समाचार
x