कृषि

रौतहटका दूध उत्पादक किसानले गरे पूर्व-पश्चिम राजमार्गमा चक्काजाम

इकागज |
फागुन १७, २०८० बिहीबार १३:५७:१ बजे

फाइल फोटो

रौतहट - रौतहटको चन्द्रनिगाहपुरमा लामो समयदेखि आफूले दूध बेचेको पैसा नपाएपछि रौतहटका दूध उत्पादक किसानहरूले बिहीबार पूर्व-पश्चिम राजमार्गमा दुई घण्टाको लागि बन्द गरेर प्रदर्शन गरेका छन् ।

नेपाल सरकारको स्वामित्वमा रहेको डिडिसीले रौतहटका दूध उत्पादक किसानको हालसम्मको करिब ७ करोड रुपैयाँ तिर्न बाँकी छ ।  गत भदौको दोश्रो सातायता फागुन १५ गते सम्मको कुल भुक्तानी देशभरका किसानहरुको करिब ७ अर्ब डिडिसिले दूधको पैसा समयमा भुक्तानी नदिएपछि रौतहटका दूध उत्पादक किसानहरूले आन्दोलनका कार्यक्रम तय गरी पूर्व-पश्चिम राजमार्गस्थित चन्द्रनिगाहपुर मुख्य सडक खण्डमा दुई घण्टाको लागि चक्काजाम गरेका छन्। 


दूध उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष कृष्णप्रसाद अधिकारीका अनुसार सम्बन्धित निकायको ध्यानाकर्षण गराउन दूध उत्पादक किसानहरूले १७ गते पूर्वपश्चिम महेन्द्र राजमार्गको चन्द्रनिगाहापुरमा २ घण्टा चक्काजाम गरेको बताएका छन्।

यो कार्यक्रम देशभरका ७७ वटै जिल्लामा दूध उत्पादक किसानहरूले गर्ने समेत रौतहट जिल्ला दूध उत्पादक संघका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् ।

विगत ६ महिनादेखि दूध बिक्री गरेको पैसा नपाएपछि व्यावसायिक रुपमा पशुपालनमा लागेका किसानहरूलाई घर चलाउन नै समस्या भएपछि उनीहरुले आन्दोलन गर्न बाध्य भएको किसानहरूले बताएका छन् ।

६ महिनासम्म दूधको पैसा नदिएका निजी तथा सरकारी स्वामित्वका डेरीहरूले समयमा किसानले उत्पादन गरेको दूध समेत खरिद नगर्दा किसानहरू दूध फाल्न बाध्य भएको उनीहरूको गुनासो रहेको छ । दूध बेचेको पैसा समयमा नआउँदा व्यवसायीक रुपमा ठूलो संख्यामा पशुपालन गर्दै आएका रौतहटका किसानहरू मारमा परेका छन् ।

सरकारले आफूहरूको समस्या समयमा समाधान नगरेका कारण आफूहरूले बाध्य भएर विभिन्न संघर्षका कार्यक्रम गर्नुपरेको उत्पादक जिल्ला संघ रौतहटका अध्यक्ष अधिकारीको भनाइ रहेको छ । 


Author

थप समाचार
x