कृषि

यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने

इकागज |
बैशाख ११, २०८१ मंगलबार १४:५१ बजे

फाइल तस्बिर

कैलाली- कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले यस वर्ष सुदूरपश्चिममा रासायनिक मलको अभाव नहुने बताएको छ । अहिले मलको आपूर्ति सहज रूपमा भइरहेकाले मल अभाव नहुने केन्द्रको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशभर मागको ७० प्रतिशत मल आपूर्ति गर्ने जिम्मेवारी पाएको कृषि सामग्री कम्पनी लिमिटेडसँग हाल एक हजार दुई सय ६६ मेट्रिकटन युरिया र ३४४ मेट्रिकटन डीएपी मल मौज्दात रहेको कार्यालय प्रमुख नवलसिंह बोगटीले बताए ।


उनले कृषि सामग्री कम्पनीमा केही मल मौज्दात रहेको र बाँकी मल केही दिनमै आइपुग्ने भएकाले यस वर्ष मल अभाव हुने अवस्था नरहेको उनको भनाइ छ । अन्य वर्षको तुलनामा गत वर्षबाट किसानले सहजरूपमा मल पाइरहेको उनले बताए । 

सुदूरपश्चिममा विगतका वर्षमा विभिन्न कारणले मल आपूर्ति हुन नसक्दा अभाव हुने गरेको थियो । तर, गत वर्षबाट मल आपूर्तिमा सहज भएकोले यो वर्ष रासायनिक मल अभाव नहुले प्रादेशिक कार्यालय धनगढीले जनाएको छ ।

कृषि सामग्री कम्पनीले सहकारीमार्फत रासायनिक मल विक्री वितरण गर्दै आएको छ । सहकारीमार्फत रासायनिक मल वितरण गरिन थालेपछि यहाँका किसानले सहज रूपमा मल पाइरहेको कार्यालय प्रमुख बोगटीले बताए । सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई याममा गरिने खेतीका लागि वार्षिक ३० हजार मेट्रिकटन मलको आवश्यकता पर्ने गरेको जनाइएको छ । 

प्रदेशभर कूल मागको ३० प्रतिशत मल आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसन धनगढीसँग मल मौज्दात नरहे पनि भैरहवाबाट मल आउन थालिसकेकाले जनाइएको छ । सुदूरपश्चिममा एक लाख ७९ हजार नौ सय १७ हेक्टरमा धान खेती र एक लाख ४९ हजार हेक्टरमा गहुँ खेती गरिँदै आएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ । रासस


Author

थप समाचार
x