कृषि

आलुको बिउ उत्पादन गर्न टिस्यूकल्चर ल्याब निर्माण

जितेन्द्र थापा |
भदौ ७, २०७८ सोमबार ८:१९ बजे

दैलेख – जिल्लाकोे गुँरास गाउँपालिकामा आलुको बिउ उत्पादन गर्न टिस्यूकल्चर ल्याब निर्माण गरिएको छ । दैलेखको घोडाबासमा कृषकलाई व्यवसायिक बनाउन र उनीहरूको आम्दानी वृद्धि गर्न गाउँपालिकाले ल्याब निर्माण गरेको हो ।

गुराँस गाउँपालिकाको १ करोड ९५ लाख र नेपाल कृषि विकास फर्मको साझेदारीमा दुई करोड लगानीमा कर्णालीकै पहिलो आलुको बिउ उत्पादन टिस्यूकल्चर ल्याब निर्माण गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । उनकाअनुसार टिस्यूकल्चर, कलमी तथा हाइब्रिट प्रविधिबाट विरुवाहरू उत्पादन गर्ने उदेश्यले ल्याब निर्माण गरिएको हो । ल्याबको ९० प्रतिशत काम सकिएको छ । टिस्यूकल्चर ल्याबबाट वार्षिक आलुको बिउ १० लाख दाना र पाँच लाख ओटा फलफूलका विरुवा उत्पादन गर्ने योजना छ । 


ल्याबबाट उच्चस्तरीय र स्वस्थ गुणस्तरीय आलुको शुद्ध मूल बिऊ सस्तो पाइने अध्यक्ष ओलीको भनाइ छ । ‘कृषकले बाहिर खरिद गरेको बिउभन्दा ल्याबको बिउ गुणस्तरीय हुन्छ र उत्पादनमा वृद्धि गर्छ,’ ओलीले भने, ‘ल्याबबाट उत्पादित बिउ शत प्रतिशत स्वस्थ हुनेहुँदा खेर जाँदैन र कृषकहरूलाई खेती गर्न सहज र सस्तो पनि हुन्छ ।’

गुराँसका दुई हजार आठसय कृषकहरूलाई व्यवसायिक बनाउन र उनीहरूको आयस्तर वृद्धि गर्न ल्याब निर्माण गरिएको गाउँपालिकाका ओलीको भनाइ छ । ‘महंगोमा ििबउ खरिद गर्न बाध्य कृषकहरूलाई ल्याबबाट उत्पादित बिउ सहुलियतमा उपलव्ध गराउनेछौं,’ अध्यक्ष ओलीले भने, ‘वषौदेखि कृषिमा लागेका कृषकहरूलाई यो प्रविधिबाट उपलव्ध हुने बिउले आम्दानीको स्तर बढ्ने हाम्रो अपेक्षा छ ।’

ल्याबबाट आलुको बिउ उत्पादन असोजदेखि सुरु गर्ने तयारी छ । तर हाइटेक नर्सरीबाट उत्पादन गरिएका फलफूलका विरुवाहरू हाल ४८ जिल्लामा पठाउने गरिएको छ । मुख्यगरी, कर्णाली र लुम्बिनी प्रदेशमा गुराँसेको बिउ निर्यात भइरहेको छ । पहाडी हावापानीमा फल्ने फलफूलका विरुवा उत्पादन गर्ने ल्याबको लागत निर्माण चार करोडको हो ।

योमध्य गुराँस गाउँपालिकालको एक करोड ९५ लाख र कृषि विकास फार्मको दुई करोड पाँच लाख रहेको छ । ल्याबबाट हुने आम्दानीको २० प्रतिशत गुराँस पालिकाको राजश्वमा जम्मा हुने र बाँकी ८० प्रतिशत फार्मले लिनेछ । ल्याब निर्माणसँगै प्रत्यक्ष रूपमा १७ जना रोजगारीमा जोडिएका छन् । २१ वर्षका लागि भाडामा लिएको जग्गा ७० रोपनी रहेको छ ।
 


Author

थप समाचार
x