कला

भारतमा प्रख्यात नेपाली चित्रकार

अम्बानी र अमिताभको महलमा नेपाली ठिटोका चित्र

नवराज पनेरु |
मंसिर ४, २०७७ बिहीबार ११:१३ बजे

अभिनेता अमिताभ बच्चनसँग भरत ।

धनगढी : भरत सिंह आज भन्दा ३३ वर्ष अगाडि सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा जन्मिए । बाल्यकालमै उनको परिवार कैलालीको धनगढी उपमहानगरपालीका-६ मट्यारीमा बसाइँ सरेपछि उनले डोटीमा धेरै वर्ष बस्‍न पाएनन् । भारतको मुम्बईस्थित एक नगरपालिकामा सरकारी जागिरे थिए उनका बुवा नरबहादुर विक । जब भरत ८ वर्षका भए, उनलाई परिवारसहित मुम्बई लगियो ।


मुम्बईमा नै भरतको पढाईलेखाई भयो तर चित्रकार बन्ने सपना भरतको मनको एउटा कुनामा लुकेर बसेको रहेछ । त्यसैले पनि होला १२ कक्षासम्म पढेर औपचारिक पढाइ छाडिदिए । पढ्नुभन्दा पनि चित्र बनाउन मन पर्थ्यो उनलाई । जिवन र जगतलाई कुचीको माध्यमबाट दर्शाउँदै प्रख्यात बन्ने सपना बुन्न थाले उनी । १० वर्षको उमेरदेखि नै कलाकारहरुका मुहारचित्र हुवहु उतार्न सक्थे उनी । चित्रप्रतिको त्यो लगावले नै उनलाई मुम्बईको सफल चित्रकार बनाइदियो।

रोचक कुरा त के छ भने, भरतका चित्रकलाका गुरु कोही पनि छैनन् । न उनले औपचारिक रूपमा आर्ट अध्ययन गरेका नै छन् । सानो उमेरदेखी नै पेन्सिल, रंग, कागज किनेर चित्र बनाउने अभ्यास गर्दागर्दै भरतलाई अहिले भारतको प्रख्यात चित्रकार बनाइदियो । कुनै पनि व्यक्तिको मुहारचित्र दुरुस्तै उतार्ने खुबी छ उनमा ।

नेपाली चित्रकारका रूपमा उनले मुम्बई मात्र नभएर भारतको चित्रकारितामा आफ्नो बेग्लै परिचय बनाएका छन् । उनी भन्छन्, ‘चित्रकला आत्मामा भण्डारण गरिएको गुलियो र मिठो मह हो । सोही मिठो मह बोकेर मुम्बइमा छु । चित्रकलामै रमाएको छु । रंग पोतेर गर्ने कलामा सुरुवातमा केहि ज्ञान नभए पनि अभ्यासले सफल बनाएको हो ।’

अहिले भरतको चित्रकलाको पारखी बलिउडका चर्चित कलाकारदेखि प्रतिष्ठित व्यापारी पनि छन् । भरतले बनाएका पोट्रेट आफ्नै क्षेत्र कैलाली र सुदूरपश्चिममा नभए पनि भारतका धेरै चर्चित व्यक्तिहरुका घर र कार्यालयहरुमा सजाइएका छन् । अभिनेता अमिताभ बच्चनदेखि चर्चित व्यापारी मुकेश अम्बानीको घरमा भरतको चित्रकलाले स्थान पाएको छ । ‘मुकेश अम्बानी, हर्ष गोयन्का, टीना अम्बानी, अमिताभ बच्चन, मनीषा कोइराला, दीपिका पादुकोण, ऐश्वर्या राय, बाल ठाकरे, सञ्जय दत्त, हरिवंश राय बच्चन लगायतका पोट्रेट बनाइसकेको छु,’ उनले भने ।

नेपालमा पोट्रेटको मूल्य अहिले पनि हजारमै रहेका बेला भरतसँग एउटै पोट्रेट १२ लाखमा बिक्री गरेको पनि अनुभव छ । भारतमा सरकारी जागिर र सरकारले नै दिएको आवासको सहारामा आजभन्दा २५ बर्ष अगाडि भरतका बुवा नरबहादुरले मुम्बईमा परिवार लगेका थिए । तर अहिले चित्रकलाकै माध्यमले भरतले संसारकै सबैभन्दा बढि महङगो जग्गा भएको मुम्बई जस्तो महानगरमा घर बनाएका छन् भने कार पनि जोडेका छन् । मुम्बईमा नै एउटा चित्रकलाको स्टुडियो खोलेका भरतको कलाकारिता बेलाबेला बिभिन्न स्थानमा गरिने प्रदर्शनीमार्फत देखिन्छ ।

३३ वर्षीय भरतले भारतका विभिन्न स्थानमा १० पटक आफ्ना चित्रकलाको एकल प्रदर्शनी गरिसकेका छन् । ११औँ एकल प्रदर्शनीका लागि भने उनले मातृभूमि सम्झिँएका थिए । काठमाडौं, बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा उनको ‘ब्लेस्ड फिचरर्स एन्ड ट्र्यु जेस्चर अफ नेपाल’ शीर्षकमा चित्रकला प्रदर्शन भएको थियो ।

जसमा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्वयुवराज्ञी हिमानी शाह, समाजसेवी अनुराधा कोइराला, बैंकर अनिलकेशरी शाह, पर्यटन व्यवसायी कर्ण शाक्य, उद्योगी विनोद चौधरी, गायिका आनी छोइङ डोल्मा लगायत चर्चित १४ व्यक्तित्वको प्रोट्रेट समेटिएको थियो ।

भरतका अनुसार उनी कुनै पनि व्यक्तिको पोट्रेट बनाएपछि कलेक्सन गरेर प्रदर्शनी आयोजना गर्छन् र प्रदर्शनीमा सम्बन्धित व्यक्तिलाई पनि बोलाउँछन्। ‘प्रायः पोट्रेट प्रदर्शनीमै बिक्री हुन्छन्,’ उनले भने, ‘पोट्रेट सहजै बिक्री हुँदा थप हौसला मिल्ने गरेको छ । मुम्बईमा रहेको आफ्नै सिंह स्टुडियोमा बसेर चित्र साधना गर्दै आएको छु ।’


Author

थप समाचार
x