काठमाडौँबाहिर-६
काठमाडौँसित दिक्क लागेको वा इलामले लोभ्याएको होइन
नेपाल राजनीतिक-कागजी रूपमा संघीय भएको छ । संघीय नेपालमा अधिकार मात्र होइन, सेवा-सुविधा पनि प्रदेशकरण-स्थानीयकरण हुनुपर्ने हो । शासन-प्रशासन, व्यापार-रोजगार, शिक्षा-स्वास्थ्यजस्ता क्षेत्र मात्र होइन, सञ्चारमाध्यम पनि काठमाडौँ केन्द्रित भइरहेको आरोप-अनुभव आत्मसात् गर्दै हामीले ‘काठमाडौंबाहिर’ शृंखलामा काठमाडौँ उपत्यकाबाहिर बसेर सत्कर्म गरिरहेका प्रतिनिधि पात्रका अनुभव बाँडिरहेका छौँ । यसपालि बहुआयामिक परिचय बनाएका कवि, लेखक, सम्पादक तथा उद्यमी केदार शर्माको अनुभव :
काठमाडौँ कहिले छिर्नुभयो ? कति बस्नुभयो ?
म २०३५ असार १५ गते काठमाडौँ छिरेको हुँ । त्यसबेला हाम्रातिरबाट काठमाडौँ आवतजावत गर्दा वीरगञ्ज वा हेटौँडामा बास बस्नुपर्थ्यो । म र हाम्रा गाउँका एकजना दाइसाथी घरबाट हिँडेका दिन वीरगञ्ज बसेर भोलिपल्ट त्रिभुवन राजपथको बाटो काठमाडौँ गएका थियौँ । त्यसपछि म निरन्तर ३४ वर्ष काठमाडौँ बसेँ । अनि २०६९ साल भदौमा हामी मूल बसोबास यतै हुनेगरी इलाम आयौँ । उसो त अहिले पनि मनले ‘काठमाडौँ छाडेको’ भनिहाल्न मान्दैन । जीवनका सबभन्दा जोसिला र जाँगरिला दशक बिताएको सहर अझै पनि केही मामिलामा त इलामभन्दा प्रिय र भरपर्दो पो लाग्छ ।
०३५ मा छिरेर ३४ मा फर्किनुभएछ, काठमाडौँमा मूल रूपमा के-के गर्नुभयो त ?
म एसएलसी सकेपछि पढ्न भनेर काठमाडौँ गएको थिएँ, त्यसैले पढेँ नै भन्नुपर्याे । पढेँ, बढेँ, मान्छे चिनेँ । थरीथरीका काम सिकेँ, अझ धेरै किसिमका काम गरेँ । त्यहीँ हुँदाहुँदै बिहे भयो (बिहे इलामबाटै भएको भए पनि त्यसको तारतम्य काठमाडौँले नै जुराएको थियो) । त्यहीँ छोराछोरी भए । तिनलाई पढाइयो बढाइयो । केही देखियो । अलिअलि लेखियो । असल र गुणी साथीहरू कमाइयो । यही गरेँ वा यति नै गरेँ भनेर तोकेरै भन्न लायक त खासै केही भेट्दिनँ । तर एउटा कुरा सम्झिँदा दङ्ग पर्छु, जीविकोपार्जनका लागि वा रुचिवश जे जति काम गरेँ, मैले प्रायः ती सबैमा जस पाएँ ।
काठमाडौँ छोड्नुमा काठमाडौँको विकर्षण कि गाउँ-ठाउँको आकर्षण ? कुन प्रधान रह्याे ?
काठमाडौँको विकर्षण त कत्ति पनि होइन । म काठमाडौँलाई कहिल्यै पनि नधिक्कारी त्यहाँ त्यति लामो समय बिताउने थोरै मान्छेमध्येको एउटा हुँ । किनभने काठमाडौँले मलाई सधैँ नै मैले मागेभन्दा बढी, चिताएभन्दा बढी दियो । तर खोजेभन्दा बढी पाइयो भन्दैमा सधैँ त्यहीँ टाँसिँदा त महको भाँडोमा झिँगो टाँसिएको कथा दोहोरिइहाल्छ नि !
मलाई जीवन धेरै अर्थमा पानी जस्तो लाग्छ र जीवनको यात्रा नदीको प्रवाह जस्तो लाग्छ । पानीले कि जम्नुपर्छ कि बग्नुपर्छ । जम्नुको शक्ति र सौन्दर्य अर्कै छ तर मलाई बग्नमा रुचि छ । बगाइ पनि नहरमा बगेजस्तो होइन, बगरमा बगेजस्तो । अगाडि के-के भेटिन्छ, भेटिँदै जान्छ । रोकिए दह भइदिने, हाम्फाल्नु परे छाँगो भइदिने । यो गफको वा शोखको कुरा मात्र होइन, मैले पेसागत जीवन पनि त्यसरी नै बिताएँ, बिनाबाँधको खोलाले जसरी ।
बाँध बनाउन रोजेको वा सकेको भए बढी ऊर्जावान् वा बढी उत्पादनशील भइन्थ्यो होला, तर यसै रमाइयो । समयको प्रवाहमा हेलिएर बग्दै जानुको जोखिम मिसिएको आनन्द र्याफ्टिङ गरेजस्तो, नअघाइने खालको हुन्छ । त्यसैले छोराछोरीले काठमाडौँको पढाइ सकेर उच्चशिक्षाका लागि विदेश हिँडेपछि हामीले प्रवाहको गति र दिशा मोडेका हौँ । करिब डेढ दशकसम्म हाम्रो मूल ध्येय नै छोराछोरी पढाउनु भएछ क्यार, त्यो काम सकेपछि त्यहाँ आफ्नो उपस्थितिको उस्तो अर्थ पनि केही लागेन । अनि अझ स्वतन्त्र र उन्मुक्त जीवन बिताउन भनेर हामी काठमाडौँबाट हिँडेका हौँ ।
कार्यालयहरूमा बिन्ती बिसाउन होइन, सेवा लिन जाने चलन सुरु भएको छ ।
अब इलामको आकर्षणको कुरा गरौँ । इलाम गजबको ठाउँ छ । भारतीय सिमाना र मधेसको निकटताको यस्तो लाभ पाउने ठाउँ अन्त कहीँ छैन । एउटा पनि हिमाल र हिमालबाट बग्ने नदी नभएकाले यहाँ ठूला भीरपाखा छैनन् । आफ्नो पुर्ख्याैली थलो नै यही भएपछि यहाँ जरा गाड्न अरूतिरभन्दा सजिलो हुने नै भयो । जीवनले परिवर्तन खोजेजस्तो लागेपछि सर्वोत्तम विकल्पका रूपमा हामीले इलाम रोजेका हौँ । तर फेरि भन्छु, हामीले काठमाडौँसित दिक्क लागेर वा इलामले लोभ्याएर यता बस्न थालेका होइनौँ ।
मैले यहाँ एउटा कुरा जोड्नैपर्छ, एउटा विवाहित र मध्यवयको मान्छेले सबै कुरामा ‘म’ भनेर हुँदैन, अधिकांश कुरामा हामी भन्नुपर्छ । भन्नपर्ने मात्र होइन, निर्णय पनि ‘हामी’ नै भएर लिनुपर्छ । सौभाग्यवश मेरी श्रीमती किरण र मेरो स्वभाव धेरै हदसम्म मिल्यो र कसरी-कहाँ बस्ने भन्ने कुराको निर्णय लिन हामीलाई सजिलो भयो, अनि हामी यता आयौँ ।
तपाईं इलाममा के गरिरहनुभएको छ ?
छोटोमा त ‘अल्छी गरिरहेको छु’ भन्न मन लाग्छ । मलाई नबिसाइकन के-के खाँदै हिउँदमा घाम ताप्न साह्रै मजा लाग्छ । अहिले तपाईंका प्रश्नको जवाफ पनि म बार्दलीमा एउटा लामो चकटीमा पल्टेर ल्यापटपको स्क्रिनलाई सियाँलमा पारेर घाम ताप्दै लेखिरहेको छु । तर तपाईंको प्रश्नको जवाफ यतिले मात्र पुग्दैन । कामलाई दुई भागमा बाँड्नुपर्दो रहेछ । एउटा, दुई पैसा कमाउनका लागि गर्नुपर्ने वा गरिने काम र अर्को, सामाजिक महत्त्वका काम । पहिलोथरीमा म केही लेखन-सम्पादनको काम गर्छु । अलि राम्रो पारिश्रमिक पाएँ भने अनुवादको काम पनि गर्छु ।
हामी दुवैको खानासम्बन्धी रुचि धेरै मिल्छ । नयाँ खानेकुरा, खासगरी लोकपरिकार सिक्न मन पर्छ । आफूले सिकेका कुराको उत्पादनशील सदुपयोग गर्न हामीले एउटा सानो होम स्टे पनि चलाएका छौँ । तर होम स्टेको कामबाट फुर्सद मिलाएर मौका परेसम्म घुम्छौँ पनि । नयाँ त्यसबाहेक मेरी श्रीमती पाककलाको तालिम दिन्छिन् । हामी पारिवारिक-सामाजिक महत्त्वका काममा पनि निकै व्यस्त रहन्छौँ ।
इलाममै बसेर काठमाडौँका के-के काम कसरी भ्याइरहनुभएको छ ?
लेखन-सम्पादनका काम अब भूगोलले छेक्दैन । यस पटकदेखि मिटिङ पनि अनलाइन गर्न थालियो । आफ्ना आवश्यकता साना भएपछि सानै कमाइले पुग्छ । थोरथोरै कमाइ गर्न विद्यमान सुविधा पर्याप्त छन् ।
इलाममा बस्ता काठमाडौँको सबैभन्दा के ‘मिस’ हुन्छ ?
पोहोरसम्म इलाम बस्ता काठमाडौँमा आफू साह्रै रमाएका तीनवटा कुराको न्यास्रो लाग्थ्यो- राम्रा र सुरुचिपूर्ण कार्यक्रमहरू, एक्टिभिजम र खाने कुराको विविधता । पोहोरदेखि मिस हुने अर्को कुरा थपिएको छ- नाति । हाम्रो एउटा सानो, भर्खर पहिलो जन्मदिन मनाएको नाति छ । अब हामीलाई काठमाडौँमा वा अन्त (उसका बाबुआमा पढाइ वा कामका सिलसिलामा जहाँ पुग्छन्) तान्ने एउटा शक्ति त ऊ पो भएको छ ।
अनि काठमाडौँ बस्दा चाहिँ इलामको के ‘मिस’ हुन्थ्यो नि ?
पहिले पहिले, विद्यार्थी छँदा घरको न्यास्रो लाग्थ्यो । आमाले पकाएका खानेकुरा मिस हुन्थ्यो । तर बिस्तारै बानी पर्दै गयो । यातायातको सुविधा बढेपछि घरतिरको आवतजावत पनि बढ्यो, त्यस्तो न्यास्रोपनको खाडल पुरिँदै गयो । बिहे भएर छोराछोरी पनि भएपछि आफ्नै संसार बन्यो, बढ्यो । पेसागत व्यस्तताले पनि अल्मल्यायो । तर बाल्यावस्थामा खाएका खास किसिमका फलफूल र खानेकुराको स्वादबाहेक केही पनि ‘मिस’ भएको थिएन ।
किन हामी धेरैले काठमाडौँविनाको जीवन कल्पना पनि गर्न नसकेका हौँला ?
आफ्नै कुराबाट थालौँ । हामीलाई गाउँमा बस्ने रहर चाहिँ पहिल्यैदेखि थियो र त्यो रहर पूरा गर्न २०६६ सालतिर भक्तपुरको अन्तलिङको डाँडामा एउटा सानो ग्रामीण शैलीको घर बनाउन पनि थालेका थियौँ । कारणवश त्यो घर पूरा भएन । रहर त बाँकी नै थियो र पनि काठमाडौँ छाड्ने विचार थिएन । मैले हिमाल खबरपत्रिकामा सम्भवतः २०६८ सालमा अब गाउँहरू सहरबाट फर्केका व्यक्तिहरूका पनि आवश्यकता र अपेक्षा पूरा गर्न सक्ने भइरहेका छन् भन्ने लेख लेखेको थिएँ । तर त्यसबेलासम्म पनि गाउँमा बस्ने योजना थिएन ।
अब अरूको कुरा गरिहेरौँ । धेरैले काठमाडौँबाहिरको जीवनको कल्पना गर्न नसक्नुको पहिलो कारण काठमाडौँमै सहज लागेर होला । यसका कारण अरू पनि हुनसक्छन्, जस्तो, काठमाडौँ छाड्यो भने स्वास्थ्य सेवा र सुविधा नै पाइँदैन भन्ने लाग्नु, काठमाडौँबाहिरको जीवनको सरलता र आनन्द कल्पना गर्न नसक्नु, वा रहर भए पनि काठमाडौँबाहिर गएर बसिहाल्न उपयुक्त ठाउँ फेला पार्न नसक्नु, वा आफूले पुस्तौँमा वा दशकौँमा बनाएको समाज छाड्न नसक्नु, वा हामीजस्ता काठमाडौँबाहिर बसिरहेकाहरूले आफ्ना अनुभव नसुनाउनु आदि । खर्चिलो सहरमा धेरै किसिमका असजिलाहरू सहेर, दिनहुँ अनेक कुरालाई धारेहात लगाएर बसिरहनुको किफायती र सन्तोषजनक विकल्प छ भन्ने कुरा बुझ्न नचाहेर पनि होला ।
काठमाडौँ छोड्न चाहने तर ‘हिम्मत’ गर्न नसकेकालाई के सुझाव दिनुहुन्छ ?
‘हिम्मत’ नभनौँ । त्यसो भन्दा म चाहिँ हिम्मतिलो र अरूलाई आँट दिन सक्छु भन्ने अर्थ पनि लाग्नसक्छ । तर मनको कुनै पनि कुनामा फरक किसिमले बाँच्ने रहर छ भने त्यो जीवनको अमूर्त चित्र कोर्न र त्यसलाई मन पराउन थाल्नुपर्ने रहेछ । अनि घर सल्लाह गरेर कुरा मिल्यो भने हिँडिहाल्नुपर्ने रहेछ । साँच्चै हिँड्न मन छ भने कसैलाई सोध्नु हुँदैन, ज्योतिषी हेराउनु हुँदैन । घरजग्गा जोडेर मात्र नयाँ ठाउँमा जान्छु पनि भन्नु हुँदैन । नयाँ ठाउँमा जाने हो भने मन परेको ठाउँमा डेरा गरेर बसिहाल्नु पर्छ र परिवर्तनसित रमाउन थाल्नुपर्छ । मुक्त भएर बस्न का लागि त ‘आफ्नो घरजग्गा’समेत भ्रम हो, बन्धन हो । बन्धनमुक्त हुने हो भने डोरी फ्याँकेर कुद्नुपर्छ । हामी अहिले बसेको जग्गा त पारिवारिक सम्पत्ति हो, तर हामीले निकै समयसम्म स्थायी किसिमको घरसमेत बनाएनौँ । छ वर्षसम्म निकै सानो घरमा गुजारा गरेर अब चाहिँ हातखुट्टा लागेसम्म यहीँ बस्ने हो भन्ने निर्णय गरेपछि मात्र अलि सजिलो र फराकिलो घर बनाएका हौँ ।
काठमाडौँबाहिर के काम गर्ने, के काम पाइन्छ र भन्नेलाई तपाईं स-सानो लगानीमा कस्ता-कस्ता मौलिक काम गर्न सकिने सुझाव दिनुहुन्छ ?
कमाउन भनेर गर्ने काम चाहिँ आफ्नो रुचि, क्षमता, पुँजी आदिमा भर पर्ने कुरा भएकाले यहाँ तोकेरै जवाफ दिन गाह्रो हुन्छ । तर म रेस्टुरेन्ट तथा गाई फार्म गरिहेरेर असफल भएको मान्छेका नाताले भन्छु, यदि तपाईं ५० काटेर गाउँमा जानुभएको छ भने काम गर्ने मान्छे पाइन्छ भन्न े आशा राखेर काम नगर्नुहोस् । आफूले नसक्ने र नजानेको काममा हातै नहाल्नुहोस् (त्यसैले हामीले रेस्टुरेन्ट हापेर होमस्टे थालेका हौँ) । साझेदारीमा काम गर्नबाट आफूलाई जोगाउनुहोस् । सामान्य जीवनशैलीमा रमाउने व्यक्तिका लागि हिजोआजको नेपालमा कतै पनि कामको दुःख हुँदैन । अलिकति हिसाबकिताब गर्ने सीप र उद्यमशीलता (जो मसित छैन) पनि भएका व्यक्तिले त दिनको चार घन्टा मात्र काम गरे पनि गुजारा चल्छ । आठ घन्टा काम गरे अरू केही व्यक्तिको पनि गुजारा चल्छ । रमाउनका लागि गर्ने काम त अनन्त छन् ।
संघीय नेपालको अनुभव इलामबाट के-कस्तो देखिन्छ ?
गजब देखिन्छ । मान्छेको शिर उठेको देखिन्छ । माथिका यी दुइटा वाक्य विषय प्रवेश मात्र हुन् । यो उत्तर अलि लामो हुनसक्छ । मैले पञ्चायती व्यवस्था छँदै सरकारी जागिर खाएको हुँ । म सार्वजनिक निर्माण शाखा रसुवामा सिभिल ओभरसियर थिएँ । पछि पत्रकारिताका क्रममा पञ्चायत र बहुदलीय व्यवस्थाअन्तर्गत पनि सरकारी कार्यालय, कर्मचारी, निर्णयप्रक्रिया, सीडीओ, जिल्ला विकास समिति लगायतका कुरालाई राम्ररी देखेको, हेरेको हुँ । मैले कर्मचारीका छेउमा जनता साह्रै निरीह, निरुपाय भएको देखेको छु । विकेन्द्रीकरणको भ्रान्तिको व्यापार पनि देखेको छु । त्यसैले देशमा संघीयताको कुरा उठेदेखि नै म संघीयताको पक्षधर भएँ । अहिले संघीयताको अभ्यास एकदमै नयाँ छ र पनि यसका परिणाम देखिन थालेका छन् ।
अलिकति हिसाबकिताब गर्ने सीप र उद्यमशीलता भएका व्यक्तिले त दिनको चार घन्टा मात्र काम गरे पनि गुजारा चल्छ ।
अनि यसलाई अपवाद नठान्नु होला । यता आएर म इलाममा मात्र बसेको छैन, डेढ-दुई वर्षअघि मात्र म मुलुकका ५० भन्दा बढी जिल्ला घुमेको छु र स्थानीय तहले सामान्यतया राम्रो र निकै प्रभावकारी ढङ्गले काम गरेको देखेको छु । अहिलेको संविधानअन्तर्गत नगरपालिका र गाउँपालिकाहरूले जति काम गर्न सक्छन्, त्यसबाट जनतालाई निकै सजिलो र निकै फाइदा भएको छ । यसबाट मान्छेको शिर उठेको छ, राज्यप्रति अपनत्वको भावना बढेको छ । मान्छे आफ्ना लागि आफैँ योजना बनाउन सक्ने भएका छन् । कार्यालयहरूमा बिन्ती बिसाउन होइन, सेवा लिन जाने चलन सुरु भएको छ । तर यसको अर्थ हुनुपर्ने जति सबै कुरा भइसकेको वा नहुनुपर्ने कुरा हुन छाडिसकेको भन्ने अर्थ नलगाउनु होला । परिमार्जन सबैतिर चाहिन्छ, भइरहनुपर्छ ।
संघीयतामा हाम्रो सोच र व्यवहार कति केन्द्रीकृत, कति एकात्मक छ ?
केन्द्रमा बस्ने, केन्द्रबाटै लाभ पाउनेहरूले संघीयताको विरोध गर्नु स्वाभाविक हो । हामी भरिएको बसमा ठेलमठेल गर्दै छिरेर ‘कति चैँ खाँदेको हौ’ भन्ने प्राणी हौ । यस्तो सबैतिर छ । आफूले सजिलो ठाउँमा घर बनाइसकेको व्यक्तिले प्लटिङको ठाडै विरोध गर्छ । मलाई अचम्म लाग्छ, आफ्नो घरमा गाडी पुगेको व्यक्तिले गाउँमा बाटो बनाएको देखि सहँदैन, कुरै नबुझी ‘डोजरे विकास’ भनिदिन्छ । तर तिनीहरूलाई छाडेर, गाउँघरका मान्छेलाई सोध्नुभयो भने त्यस्तो छैन । प्रतिगामीहरूबाट संघीयता जोगाउन सकियो भने अबको १० वा २० वर्षपछिका नेपाली गाउँहरू धेरै राम्रा हुनेछन् ।
यसअघिका ‘काठमाडौँबाहिर’ -
फोहोरी काठमाडौँ नगई सुखै छैन, खास्सा त पोखरा लाग्छ
काठमाडौँको पिँजडामा संघीयताको सुगा कैद छ
काठमाडौंले मात्रै थेगिने खेलकुदले मुलुकको खेलकुद उँभो लाग्दैन
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया