कला

जिन्दगी सदस्य बन्न नपाउने गरी ट्रम्पलाई अमेरिकाको कलाकार संघबाट निष्कासन

इकागज |
माघ २६, २०७७ सोमबार १२:४९ बजे

लसएन्जल्स  :  अमेरिकाको फिल्म, टेलिभिजन तथा रेडियोको कलाकारको संस्था ‘युएस स्क्रिन एक्टर्स गिल्ड, फेडरेसन अफ टेलिभिजन एन्ड रेडियो आर्टिस्ट’ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि कहिलै सदस्य बन्न नपाउने गरी उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

शनिबार भएको भिडियो कन्फ्रेन्समा ट्रम्पले दिएको राजीनाम स्वीकृत गर्दै संघले उनलाई जिन्दगीभर सदस्य बन्न नपाउने निर्णय गरेको सिन्हवाले जनाएको छ । संघको भनाई उद्धृत गर्दै सिन्हवाले लेखेको छ, ‘ उनी शासन सत्तामा रहँदा उनले संघका सदस्य र पत्रकारलाई गरेको व्यवहारका कारण  उनलाई सदाका लागि निषेध गर्ने निर्णय गरिएको हो । उनले संघको भावना र मर्म विपरित गतिविधी गरेका थिए ।’


डोनाल्ड ट्रम्पलाई सदाका लागि सदस्य बन्नबाट रोक्ने निर्णय सांकेतिक भएको संघका सभापति गाब्रिएला कारटेरिजले बताएका छन् ।  ‘ सहकर्मीमाथि दुर्व्यवहार गर्ने र उनीहरूलाई क्षति पुर्‍याउने उनको निर्णय क्षम्य छैन । संघले उनको कार्यकालमा एक जना विरुद्ध भएको आक्रमणलाई हामी सबैमाथिको आक्रमणको रुपमा बुझेका छौं,’ उनले भनेका छन् । 

ट्रम्प सन् १९८९ देखि संघको सदस्य रहँदै आएका थिए । संघमा फिल्म, टेलिभिजन तथा रेडियोमा काम गर्ने १ लाख ६० हजार कलाकार तथा पत्रकार सदस्य रहेका छन् । संघको अघिल्लो महिना बसेको बोर्ड बैठकले ट्रम्पले संस्थाको मर्म विपरित काम गरेको र अनुशासन समिति समक्ष उनले स्पष्टिकरण दिनु पर्ने प्रस्ताव पास गरेको थियो ।

खासगरी जनवरी ६ मा क्यापिटोल हिलमा भएको दंगामा ट्रम्पको भूमिकालाई लिएर संघले अनुशासन समितिमा छानबिन गर्न लागेको थियो । तर, अनुशासन समितिले उनका विरुद्ध कारबाही अगाडि बढाउने निर्णय गरेको ठीक अघिल्लो साँझ उनले सदस्यबाट राजीनामा दिएका थिए । उनले सो राजीनामामा ‘संघले मेरो सदस्य खारिज गर्ने होला तर त्यसको कसले मतलब गर्छ ? भन्दै संघको निर्णयलाई बेवास्ता गरेका थिए । 

 भर्खरै जो बाइडनसँग चुनाव हारेर ह्वाइट हाउसबाट बाहिरिएका ट्रम्पले थुप्रै फिल्ममा केमियो गरेका छन् । राजनीतिमा आउनुअघि उनले दर्जन हाराहारी सिरिज, फिल्म र रियालिटी सोमा अभिनय गरेका छन् । यही आधारमा उनले संघको सदस्यता पाएका थिए ।  

 र, याे पनि
के तपाईं कलाकार ट्रम्पलाई चिन्नुहुन्छ ?


Author

थप समाचार
x