कला

सर्तमा सोधिएका प्रश्‍नहरू

विज्ञान राज |
फागुन १, २०७७ शनिबार ६:४५ बजे

प्रश्न सोधियो तपाईंलाई माक्र्स बनाउने सर्तमा -
कस्सेको मुठ्ठीले सुरुमा उसले कसलाई हिर्काउला
मानवतालाई वा मालिकलाई ?
०००
एउटा मान्‍छे-
यस्तो समयमा दुगुरेको छ
जुन समयमा मान्‍छेहरू    
सामान्य तरिकाले हिँडिरहेका छन् ।

उ दौडेको छ यसरी कि-
जसरी दौडिन्‍छ पहिरो पहाडबाट
जसरी दौडिन्‍छ भल नदीबाट
एकै सेकेन्ड अघि बनाएर सकिएको 
गरिबको जिन्दगी भत्काउन ।


ऊ दौडेको छ-
जसरी डराई डराई दौडिन्‍छ मरुभूमि  
संसारभरि प्यास बचाइराख्‍न पानीदेखि ।

ऊ दौडेको छ -
जसरी छिटोछिटो दौडिन्‍छ मृत्यु
प्रकृतिलाई सन्तुलन राख्‍न फोक्सोदेखि ।

जुन समयमा ऊ दौडेको छ -
देश हिँडिरहेको छ पाइला नसारेर
जुन समयमा ऊ दौडेको छ -
आकाश उडिरहेको छ बादल नपन्‍छाएर

तर दौड्नैपर्ने त्यस्तो हतार
के छ र ऊ दौडियो ?

कि उसलाई छोप्‍नु छ -
आकाशबाट खसेका घामका किरणहरू ?

कि उसलाई बाल्नु छ -
लाल्टिन र जलाउनु छ जुन ?

कि च्यातेर आमाको पाठेघर 
उसलाई हेर्नु छ टुलुटुलु -
जन्म दिने तर आँखा नदिने भगवान्को अनुहार ?

प्रश्न सोधियो तपाईंलाई वैज्ञानिक बनाउने सर्तमा -
कहाँसम्म पुग्‍नलाई ऊ दौडिएको छ ?
आँखाको अँध्यारो फाल्न ब्ल्याक होलसम्म 
वा आँखामा उज्यालो हाल्न ताराहरूसम्म 

उसरी नै एउटी नारीले -
यस्तो समयमा बन्दुक उठाएकी छे
जुन समयमा नारीहरूका हातले 
चुलो, डोको र पुरुषका खुट्टाहरू छुने गर्छन् ।

प्रश्न सोधियो तपाईंलाई योगमाया बनाउने सर्तमा -
उठाएको बन्दुकले सुरुमा उसले कसलाई मार्ले
बालाई वा आमालाई ?
  
उसरी नै कुनै कारखानाको एकजना मजदुरले -
यस्तो समयमा मुठ्ठी कस्सेको छ 
जुन समयमा मजदुरहरूका हातमा
धारिला र धेरै ठूला कामका पिरामिडहरू ठोकिएका छन् ।   

प्रश्न सोधियो तपाईंलाई माक्र्स बनाउने सर्तमा -
कस्सेको मुठ्ठीले सुरुमा उसले कसलाई हिर्काउला
मानवतालाई वा मालिकलाई ?

ठीक यसै समयमा 
कसैले युद्ध घोषण गर्‍यो ।

दौडको खुट्टा काटिएर
अन्धो फेरि थला पर्‍यो ।

बन्दुक खोसेर 
नारीलाई फेरि चुलो, डोको, 
र पुरुषका खुट्टाहरू छुन लगाइयो ।

मुठ्ठीमा लट्ठी प्रहार गरेर 
मजदुरहरूका हातमा फेरि
दाससरह कामका पिरामिडहरू ठोकिए ।
 
यसै बीचमा उसैले नै फेरि
मान्‍छे भत्केको शोक घोषणा गर्‍यो 
जसले भर्खरै युद्ध घोषणा गरेको थियो 
जो स्वयं मान्‍छे पनि हो 

प्रश्न सोधियो तपाईंलाई
पुनः मान्‍छे बनाउने सर्तमा -
मान्‍छे बनेकै क्षणमा आफू सास फेर्नुहुन्‍छ ?
वा तपाईं पनि उसलेझैँ
अरुलाई फेर्न नदिन युद्ध घोषणा गर्नुहुन्‍छ ?


Author

थप समाचार
x