बैंक-वित्त

बचतकर्तालाई भारी, देशका सहकारी

कमल धिताल |
भदौ १४, २०७९ मंगलबार १४:४५ बजे

काठमाडौँ – अन्य सहकारीका मालिकहरू अर्बाैं रकम हिनामिना गरेर फरार भएका समाचार आउन थालेपछि सहकारी क्षेत्रका बचतकर्ताले जम्मा भएका रकम झिक्न थालेपछि सहकारी क्षेत्र नै धरासायी हुने हो कि भन्ने आशंका बढ्न थालेको छ । पछिल्लो समय उपत्यकाको गौतमश्री बहुउद्देश्यीय सहकारी तथा धरानमा रहेको बराह सहकारीबाट बचतकर्ताले रकम झिक्न थालेपछि यो लहर सबै सहकारीतिर सुरु भएको छ ।  

सहकारीहरू पैसा लिएर भाग्न थालेको समाचार आउन थालेपछि सेयर सदस्य तथा बचतकर्ताहरू बचत झिकेर बैंकमा सार्न थालेका छन् । काठमाडौँ उपत्यकासहित देशभरका सहकारीमा अहिले बचत गर्ने भन्दा पनि झिक्नेहरूको लाइन लाग्न थालेको छ। बचतकर्ताहरू एकै पटक आफ्नो रकम झिक्न आउन थालेपछि सहकारीले सीमा तोकेर मात्र पैसा दिन थालेका छन् । अधिकांश सहकारीले एक पटकमा १० हजार मात्र दिने प्रावधान लागू गरेका छन् ।  तर यसले रकम झिक्न चाहाने बचतकर्तालाई छेकेको छैन । भर्खरै खुलेका मात्र होइनन् वर्षौ पुराना सहकारी समेत आफ्नो बचत झिक्न सहकारीसम्म पुगेका छन् ।


‍ओरियन्टल, सिभिल लगायका ठूला सहकारीबाट बचत कर्ताले डुबेको रकम फिर्ता पाएनन् । उपत्यकामा लोकप्रिय रहेको जेष्ठ सहकारीबाट केही समयअघि एक बचतकर्ताले आफ्नो ५ करोड बचत फिर्ता माग्न आएपछि उक्त सहकारीले आफ्ना अन्य सहकारीमा समेत जम्मा रहेको बचत झिकेर दिएको थियो। व्याजदरको लोभमा परेर सहकारीमा करोडौ बचत गर्ने बचतकर्ताहरू क्रमश सहकारीबाट बचत झिक्न थालेपछि सहकारी संस्था भने समस्यामा पर्न थालेका छन् ।

यो पनि-लोभले डुबायो गौतमश्री सहकारीका बचतकर्तालाई

हाल उपत्यकामा रहेका सहकारीमा बचत निकै न्यून छ भने रकम झिक्नेको भीड लागेको छ। सहकारी भाग्ने भन्दै बचत गर्न नमान्ने गरेको सहकारीका संकलकहरू बताउँछन्।

पैसाको सट्टा जग्गा दिने योजना

ललितपुरमा रहेको एक सहकारीले बचतकर्ताहरूलाई पैसा नभएको अवस्थामा सहकारीको जग्गा पनि लिन सक्ने जनाएको छ । देउराली बहुउदेश्यीय सहकारी हल्ला चलाइए जस्तो समस्यामा नरहेको संस्थाका अध्यक्ष रविन्द्र चौलागाँइले पत्रकार सम्मेलन गर्दै पैसा नभए जग्गासमेत लिन सकिने योजना ल्याएका हुन् ।

‘संस्थाको रकम दुरुपयोग भएको नभई लगानी गरेका ठाउँहरूबाट रकम उठती नभएको कारण समस्या देखिएको हो । पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरूलाई तत्कालै संस्थाको ३ वटै काउन्टरबाट क्रमिक भुक्तानी गर्दै जान्छौं र ५ लाखभन्दा बढी बचत रकम भएकाहरूलाई २ वर्षभित्र सम्पूर्ण रकम फिर्ता गर्नेछौं,’ उनले भने ।

यस्तै ५ लाख बढीका निक्षेपकर्ताहरूले बचत सुरक्षणको लागि घडेरीको रुपमा विकास गरिएको टुक्रा जग्गा नामसारी गरी बचत रकम सुरक्षण गर्ने योजनासमेत उक्त सहकारीको रहेको छ।

चौलागाँइले चितवन जिल्लाको भरतपुर नगरपालिका वडा नं ६ मेघौलीमा रहेको ५७ विगाहा जग्गालाई १२६७ प्लटमा प्लटिङ गरिएको जानकारी दिए । उनका अनुसार मेघौली लगायत अरु विभिन्न ठाउँहरूमा समेत रहेका जग्गा बचत सुरक्षणका लागि ठूला निक्षेपकर्तालाई नामसारी गर्ने योजना संस्थाले बनाएको छ । बचतकर्ताहरूले रकमको सट्टा प्लट नै लिन पनि उक्त सहकारीको योजना रहेको छ ।

सदस्यलाई बचत फिर्ता गर्न नसकेर थला परेको देउरालीलाई कर्जा सूचना केन्द्रले कालो सूचीमा समेत राखेको छ । २०७९ साउन २९ गतेदेखि संस्था कालो सूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ । संस्थासँगै अध्यक्ष रविन्द्र चौलागाईं र पूजा खत्री पनि कालो सूचीमा परेका छन् ।

हालसम्म घोषणा भएको समस्याग्रस्त सहकारी

सहकारी टाट पल्टिन थालेपछि विभागको निर्देशन

सहकारी संस्थाका सञ्‍चालक रकम उठाएर क्रमश: फरार हुन थालेपछि सहकारी विभागले घरजग्गामा जथाभावी लगानी नगर्न निर्देशन दिएको छ। विभागले कर्जा लगानी गर्दा तत्काल प्रतिफल प्राप्त हुने स-साना व्यवसायमा लगानी गर्ने र स्थिर सम्पत्तिहरूमा (मुख्यगरी घरजग्गा) कर्जा लगानी नगर्न निर्देशन जारी गरेको हो। सहकारी संस्थाहरूलाई आवधिक र ठूलो बचत संकलनमा भन्दा नियमित बचतमा जोड दिन विभागले निर्देशन दिएको छ।

विभागले बचतकर्ता सदस्यहरूसँग नियमित भेटघाट गरी बचत फिर्ता भुक्तानी कहिले चाहिने हो ? भुक्तानीको अग्रिम तालिका बनाएर नियमित भुक्तानी गर्न समेत गराएको सहकारीहरूमा सूचना जारी गरेको छ। बचतकर्ताहरूलाई संस्थाको वस्तुगत स्थिति जानकारी गराउन समेत विभागले निर्देशन दिइसकेको छ।

विभागका प्रवक्ता टोलराज उपाध्याय सहकारी संस्थाहरूको उजुरी बढ्दै गएपछि विभागले घरजग्गामा कडाइ गरेको बताउँछन्। ‘सहकारी विभागमा सहकारीले मेरो बचत डुब्यो भन्ने गुनासो आउने क्रम बढेको र हामीले त्यस्ता सहकारीका सम्पत्ति हर्दा पनि अधिकांश घर जग्गामा लगानी गरेको पाएपछि विभागले यो निर्णय गरेको हो' उनले भने ।

सञ्चालन र घाटामा रहेका संस्थाहरूले नाफामा सञ्चालन नहुन्जेलसम्म सेयर लाभांश र कर्मचारी बोनस कोषको रकम वितरण नगर्नेदेखि सञ्‍चालकको सुविधा कटौती गर्न निर्देशन जारी गरेको छ। प्रशासनिक खर्च घटाउने, बिना योजना खोलिएका वा घाटामा चलेका शाखा वा सेवा केन्द्रहरू पनि बन्द गर्न विभागले निर्देशन दिएको छ।

छिटो छिटो बढी नाफा कमाउने लोभमा परेर सहकारी संस्थाहरूले घरजग्गा र सेयरमा जथाभावी लगानी गर्दा संस्था नै टाट पल्टिदै गएका छन्। बचतकर्ता र सेयर सदस्यहरूको पैसा लिएर सञ्‍चालकहरू नै फरार हुने क्रम बढेपछि विभागले आफ्नो ध्यानकर्षण भएको भन्दै निर्देशन जारी गरेको छ।

सहकारी क्षेत्रप्रति नै अविश्वास बढ्दै गएको आन्तरिक मूल्यांकन गर्दै विभागले सहकारी संस्था, सहकारीका सेयर सदस्य र केन्द्रिय संघ र सहकारी बैंकहरूलाई एकीकृत निर्देशन जारी गरेको छ। विभागले सेयर सदस्य प्राप्त भएपछि बचत राख्ने र तीन महिनापछि मात्रै ऋण लिन दिन समेत निर्देशन दिएको छ।

 कसरी सुधार गर्ने

राजनीतिक अस्थिरतासँगै सहकारी क्षेत्रमात्र होइन सबै क्षेत्रमा असर गरेको राष्ट्रिय सहकारी महासंघ नेपालका पूर्व अध्यक्ष तथा पूर्व गृहराज्यमन्त्री दिपक प्रकाश बास्कोटा बताउँछन् । सहकारीको क्षेत्रमा देखिएको समस्या अहिलेको मात्रै नरहेको बास्कोटा बताउँछन् । उनी भन्छन् ‘यसमा मैले देखेको कुरा सहकारीमा अनुगमन भएको छैन् । हाल दर्ता गर्ने दर्ता गरिदिएपछि सकियो काम भनेर बस्ने परिपाटी रहेको छ।‘

यस्तै सहकारी क्षेत्रमा चाहिनेभन्दा बढी संस्था दर्ता भएको बास्कोटाको आरोप छ । उनी भन्छन् ‘दर्ता गरिदिने अनि मेरो काम सकियो भनेर विभाग बस्ने गरेको छ । साथै दर्ता भएका संस्थाको सञ्चालन पद्धतिपनि राम्रो छैन्।‘

कुनैपनि क्षेत्र सिस्टमेटिक म्यानेजमेन्ट भएन भने यसमा समस्या आउँछ र सहकारी क्षेत्रमा पनि हाल यस्तै समस्या देखिएको बास्कोटा बताउँछन् ।

हाल रहेको पद्धतिले सहकारी क्षेत्र व्यवस्थित गर्नको लागि सरकार र सहकारी मुभमेन्ट नै असफल भएको विश्लेषक बताउँछन् । अहिलेका सहकारी पैसा उठाउने जग्गा खरिद गर्ने र  बिक्री भयो भने पैसा आफू खाने व्याज जति सहकारीमा राख्ने गरेर सहकारी चलिरहेको थियो । हाल आएर जग्गा पनि बिक्री नहुने र साथै बजारमा तरलता समस्या पनि आयो यसले गर्दा नै सहकारीमा समस्या प्रमुख रुपमा अघि आएको उनीहरूको ठम्याइ छ । 'देशको अर्थव्यवस्थाले सहकारीको समस्या सतहमा ल्याइदियो । तरलता समस्याले ठूला बैंकहरूनै घर घरमा गएर डिपोजिट गर भन्ने अवस्था आएको छ। २/४ लाखको चेक नै बैंकहरूले भुक्तानी नगर्ने अवस्था आइरहेको छ। यसको असर सहकारीमा नपर्ने भन्ने होइन पर्छ तर सहकारीको व्यवस्थित अनुगमनको एउटा त्रुटि हो ' बास्कोटाले भने ।

हाल सहकारीमा देखिएको समस्या समाधानको लागि सहकारी बोर्ड, तथा सहकारी संघसँग समन्वय गरी तत्कालको समस्या समाधान गर्नुपर्ने बास्कोटा बताउँछन् । साथै दीर्घकालिन समाधानको लागि पनि यसमा व्यापक अनुगमन तथा तालिम दिनुपर्ने उनको तर्क छ।

यो पनि- 'आज सहकारी दर्ता गर्ने, भोलि पैसा उठाउने र पर्सि पैसा कुम्लाएर भाग्ने परिपाटी छ'

 

 

 


Author

कमल धिताल

धिताल अर्थ/वाणिज्य क्षेत्रमा रिपोर्टिङ गर्छन् ।


थप समाचार
x