बैंक-वित्त

बैंक, वित्तीय संस्था खुला राख्ने निर्णयले ‘सुपरस्प्रेडर’ थप्ने जोखिम

कोरोना संक्रमण धेरै हुनेमा अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि तेश्रोमा बैंकका कर्मचारीहरु छन्

इकागज |
बैशाख २१, २०७८ मंगलबार ११:३५ बजे

काठमाडौँ : बैंक तथा वित्तीय संस्थाका कर्मचारीमा कोरोना भाइरस संक्रमण बढेपछि नेपाल राष्ट्र बैंकले जोखिम न्यूनीकरणका लागि भन्दै आइतबार २५ प्रतिशतभन्दा कम कर्मचारीबाट काम गर्न, नजिक रहेका शाखा सकेसम्म आलोपालोमा खोल्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । 

एकातर्फ निषेधाज्ञाका कारण आम सर्वसाधरणलाई हिंडडुलमा प्रतिबन्ध लगाइएको छ भने अत्यावश्यक सेवामा समेटेर बैंक तथा वित्तीय संस्था खुला राख्ने निर्णय सरकारले गरेको छ । अघिल्लो पटकको तुलनामा कोभिड–१९ को जोखिम बढेको भनिएपनि अहिले बैंक तथा वित्तीय संस्था खुला राखिएको छ । यद्यपि अघिल्लो वर्ष बन्दाबन्दीमा सीमित पासहरु दिएर थोरै संख्यामा र अत्यावश्यक पर्ने शाखा मात्र खोल्न दिइएको थियो । 


वाणिज्य बैंकहरूले संकलन गरेको तथ्यांक अनुसार वैशाखको पहिलो सातासम्म स्थिति सामान्य थियो, जतिबेला १९९ जना कर्मचारीहरू संक्रमित भएको उनीहरूको तथ्यांक छ । वैशाख २० गतेसम्म एक हजार एक सय ५४ कर्मचारीहरू संक्रमित भैसकेका छन् । नेपाल राष्ट्र बैंकले ब्याक अफिस कामहरू रिमोट एक्सेस दिएर गर्न सकिने अनुमति दिएको छ तर फ्रण्ट अफिस (ग्राहकलाई प्रत्यक्ष सेवा) दिने काम भने निरन्तर गर्न भनेकाले बैंक खुला राख्नुपरेको नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालले बताए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार, कोरोना संक्रमण धेरै हुनेमा अग्रपंक्तिका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीपछि तेश्रोमा बैंकका कर्मचारीहरु रहेका छन् । जोखिम न्यूनीकरणका लागि अत्यावश्यक शाखामात्र सीमित कर्मचारीले सीमित समयमात्र खोल्ने विषयमा छलफल गर्न जिल्ला प्रशासनले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई आज बोलाएको छ । 

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर नीलम ढुंगानाले भने बैंक तथा वित्तीय संस्थाले ग्राहकहरूलाई सकेसम्म विधुतीय कारोबारका लागि प्रोत्साहन गरी बैंकमा उनीहरूको भौतिक उपस्थिति घटाउनुपर्ने बताइन् । अत्यावश्यक सेवा भएकाले आलोपालोमा थोरै कर्मचारी राखेर सेवा दिनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । विधुतीय भुक्तानी प्रोत्साहन, मुख्य कार्यालयमा २० प्रतिशतभन्दा कम र शाखामा २५ प्रतिशतभन्दा कम कर्मचारी मात्र उपस्थित हुन पाउने र नजिकका शाखा आलोपालोमा खोल्ने लगायत व्यवस्था गरी जोखिम न्यूनीकरणलाई राष्ट्र बैंकले उल्लेख्य प्राथमिकता दिएको र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिशमा स्थानीय प्रशासनले निषेधाज्ञा थप कडा बनाएमा सोही अनुसार थप निर्देशन जारी गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । 

यो पनि पढ्नुहोस्
एक चौथाइ कर्मचारीबाट बैंकका शाखा सञ्चालन गर्न निर्देशन


Author

थप समाचार
x