बैंक-वित्त

ब्याजदर माथिको दबाब कम हुँदैछ : गभर्नर

इकागज |
बैशाख १४, २०८० बिहीबार १८:३१ बजे

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका छन् ।

राष्ट्र बैंकको ६८ औं वार्षिकोत्सवका अवसरमा बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले तरलताको अवस्थामा पनि क्रमिक सुधार र ब्याजदर माथिको दबाब पनि कम हुँदै गएकाले मुलुकको आर्थिक तथा वित्तीय क्षेत्रका सूचकहरू क्रमशः सुदृढ हुँदै गएको बताएका हुन् । उनले सोधानान्तर स्थिति बचतमा रहन थालेकाले अघिल्लो वर्षको तुलनामा अर्थतन्त्रको बाह्य क्षेत्रलगायत तरलता पनि सुधार आएको उल्लेख गरे ।


उनले मुद्रास्फीति घट्दो क्रममा रहेको र आयात घट्दा सरकारी वित्तमा भने केही दबाब परेको जानकारी दिए ।

केही बैंकहरूले ब्याजदर घटाउन थालेकाले आन्तरिक आर्थिक गतिविधिहरू सुधार हुँदै जाने देखिएको उनले बताए । गभर्नर अधिकारीले राजस्व चुहावट नियन्त्रणमा थप सक्रियता अपनाइएका कारण राजस्व संकलनमा सुधार हुने अपेक्षा राखिएको धारणा राखे ।

नेपाली अर्थतन्त्र बढी आयात र विप्रेषणमा निर्भर रहेकाले विश्व अर्थतन्त्रको प्रभावको सामना गर्दै आन्तरिक सन्तुलन कायम राख्ने कार्य चुनौतीपूर्ण रहेको उनकाे भनाइ छ । वित्तीय स्थायित्व कायम राख्दै समष्टिगत आर्थिक स्थिरता कायम राख्ने कार्यमा राष्ट्र बैंक प्रतिबद्ध रहेको उनको जिकिर छ ।

कार्यक्रममा बैंकका पूर्व गभर्नर, उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान गरिएको थियो । 


Author

थप समाचार
x