बैंक-वित्त

करोडौं ठगेर सहकारी सञ्चालक फरार, न्याय माग्न प्रहरी कार्यालय धाउँदै पीडित

इकागज |
भदौ १३, २०८० बुधबार १६:१२ बजे

फाइल फोटो

सुर्खेत - सुर्खेत स्थित शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ । ब्याजको प्रलोभनमा परि स्थानीय नागरिकहरू करोडौं रकम जम्मा गरेका थिए । 

सहकारी संस्थाको सुर्खेतको वीरेन्द्रनगरस्थित कार्यालयले यहाँका स्थानीयबाट करोडौ रुपैयाँ ठगेको पाइएको छ । सुर्खेत प्रहरीले जिल्ला अदालतमा बुझाउन तयारी गरेको प्रतिवेदनमा ११ करोड विगो माग दावी गर्दै ११ जनालाई प्रतिवादी बनाएको छ । 


एक सय ७८ जनाले आफूहरू शिवशिखर सहकारीबाट ठगिएको भन्दै जाहेरी दिएका थिए । उनीहरूको ११ करोड रकम ठगी भएको प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ । त्यस यता पनि २० जना बढीको निवेदन आइसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले जानकारी दिए । 

उनीहरूले दिएको जाहेरीमा बढी ब्याजको प्रलोभनमा परेर आफूहरूले सहकारीमा रकम जम्मा गरेको उल्लेख छ । डीएसपी शाहीका अनुसार आफूहरू ठगिएको भन्दै निवेदन ल्याएर आउने क्रम भने रोकिएको छैन । ‘ एक सय ७८ जनाले आफूहरू सहकारीबाट ठगिएको भन्दै जाहेरी निवेदन दिनु भएको थियो त्यो सबै हामीले अनुसन्धान गरेर अदालतमा बुझाएका छौ,’ शाहीले भने, ‘त्यस यता पनि २० जना भन्दा बढीको जाहेरी आइसकेको छ । अझै जाहेरी आउने क्रममै रहेकाले ठगिनेहरूको संख्या अझै धेरै हुनसक्छ ।’

भक्तपुरमा प्रधान कार्यालय रहेको शिवशिखरले सुर्खेतको वीरेन्द्रनगर र मेहलकुनामा शाखा कार्यालय खोलेको थियो । उक्त सहकारीले बचत र ऋण कारोबारसँगै अन्य क्षेत्रमा समेत लगानी गर्दै आएको थियो । दुइ वटै शाखाबाट झण्डै ३० करोड रूपैयाँ सहकारीले सेयर र विभिन्न बचतका नाममा उठाएको अनुमान छ । प्रहरीले सहकारी ठगीमा संलग्न सहकारीका निर्देशक तथा अन्य कर्मचारीमाथि अनुसन्धान गरिरहेको छ । 


Author

थप समाचार
x