बैंक-वित्त

निक्षेप तथा कर्जा सुरक्षा कोर्षको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

इकागज |
असोज ४, २०८० बिहीबार १८:१४ बजे

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बदल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षा कोर्षको ५० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् । 

अर्थतन्त्रमा समस्या भएता पनि ती समस्या बिस्तारै कम हुँदै गएको उनको भनाइ थियो । ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन,’ उनले भने, ‘सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन् ।’


उनले अगाडि भने, ‘पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिसोर्स आइरहेको छ, तर चलायमान भएको छैन । हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरूले लगानी नगरुन्, पैसा थुपारुन्, राखून् भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ ।’

४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको र करिब १७ लाख ऋणीलाई कोर्षले सुरक्षा दिइरहेको मन्त्री डा. महतले बताए । उनले भने, ‘यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।’


Author

थप समाचार
x