ब्लग

थोरै देखेर धेरै बुझेको चीन

जीवन लामा |
असार ३१, २०८० आइतबार १३:२४ बजे

घुम्‍नलाई औधी मन लाग्छ मलाई । देश पनि हेर्ने, मुख पनि फेर्ने भन्छन् । यी भनाइ सही नै हो जस्तो लाग्छ । कोभिड १९ को कारण ४ वर्षको अवधिमा देशभित्र र बाहिर कहीँ कतै घुम्‍न जानै पाइएन । घुम्‍ने रहर जागे तापनि महामारीको समयमा आफैँले बुझ्ने कुरा हो । मन थामेर बसेँ । १० वर्षे पासपोर्टको समय पनि लगभग सकिन लागेको थियो । २०७२ सालमा घाना र दुबई गएको थिएँ, अमार्कको कार्यक्रममा ।

त्यो नै मेरो पहिलो विदेश भ्रमण थियो । पहिलो पटक नेपालको एअरपोर्टमा छिर्दा कर्मचारीले धेरै सताए । किन जाने ? पैसा कत्ति छ ? कति दिन बस्ने ? को को जाने ? जस्ता धेरै प्रश्नको सामना गर्नु पर्यो । मलाई थाहा थिएन पहिलो पटकको यात्रुलाई यस्तै यस्तै प्रश्न सोधिन्छन् भनेर । दोस्रो पटक २०७५ सालमा इन्डोनेसिया र थाइल्यान्डको यात्रा थियो अमार्ककै सेमिनारमा सहभागी हुन् । त्यत्तिबेला खासै प्रश्नहरू सोधेनन् । साह्रो गाह्रो हुने नै नयाँलाई रहेछ भन्ने बुझाइ गरेँ । 


चीनको विकासको बारेमा धेरै पटक सुनेको थिएँ । सामाजिक सञ्जालमा देखिन्थे । बेला बेलामा समाचार पनि हेरिन्थे । तर, आफ्नै आँखाले देखे जस्तो र आफ्नै हातले छामे जस्तो मन नबुझ्दो रहेछ । २१ दिने सेमिनारमा सहभागी हुनको लागि मेरो नाम प्रस्ताव गर्नु भएछ नेपाल चीन हिमालयन फ्रेन्डसीप सोसाइटीका महासचिव रिनन पोखरेलले । वैशाखको तेस्रो हप्ता इमेल आयो जेठ २६ गतेदेखि सेमिनारमा सहभागी हुनेबारे । २१ दिनको अवधि लामो लाग्यो । तर, पढ्ने र घुम्‍ने दुवै भएकाले समय कटाउन त्यत्ति कठिन हुँदैन कि जस्तो लाग्यो ।

जेठको दोस्रो सातादेखि नै नेपाली टोली जानथाले । एउटा सेमिनारमा ३ जनाको नेपाली टोली रहेछ । मेरो टिममा भीमेश्वर नगरपालिका मकैबारीका अवतार सिंह लामा र जिरी नगरपालिका श्यामाका पासाङ रिन्जी शेर्पा थिए । २६ गतेदेखि सेमिनारमा सहभागी हुनुपर्ने समय तालिका भएतापनि प्लेन टिकट २७ गते राति १२ बजेको थियो । २८ गते बिहान ४ बजेतिर गोन्जाओ पुगेँ । नेपालको समय भन्दा दुई घण्टा अगाडि रहेछ चीनको समय । माथि आकाशबाट तलतिर हेर्दा सहर पूरै उज्यालो देखिन्थे । झन् एअरपोर्ट अध्याँरो हुने कुरै भएन । अग्ला अग्ला भवन, फराकिला सडक, सडक वरिपरि हरिया रुखहरू, ठाउँ ठाउँमा सडक बत्तीले चीनलाई चिनाएको थियो । 

विकसित चीनको पहिचान झल्काइ रहेको थियो । अनि मेरो मनमा लाग्यो चीन साँच्चिकै चिन्न नसकेको चीन रहेछ । चार घण्टाको उडानपछि पुग्ने देशमा म किन पछि परेछु । आफ्नै खर्चमा आको भए हुन्थ्यो नि यसअघि । यति सुन्दर र विकसित देशको भूमिमा पाइला टेक्न ढिला गरेकोमा आफैँ पछुताएँ । हुन त रहरले मात्र हुँदैन । हरेक कुराको समय आउँछ भन्छन् । मलाई पनि यो वर्ष समय आएको ठानेँ । 

चाइना साउदन विमानबाट गोन्जाओ एअरपोर्टमा ओर्लेपछि चर्पी जाने, कफी खाने योजना बनायौँ । किनकि बेलुकी ४ बजेतिर मात्र हाम्रो यात्रा थियो । नानचाङ सिटीको ट्रान्जिट गोन्जाओ थियो । हामी पुग्नुपर्ने थलो जियाङ्सी प्रदेशको नानचाङ सहर थियो । त्यसैले दिनभर हामी एअरपोर्टभित्र घुम्‍ने, खाने र पोट खेल्ने बाहेक अन्य विकल्प थिएन । हाम्रो झोलामा बिस्कुट, चाउचाउ टन्नै भएपनि अनुभव लिनका लागि कफी, थुक्पा किनेर खायौँ । 

कफि सपमा कफी माग्न त समस्या भएन तर थुक्पा खानको लागि मेनुमा थुक्पाको फोटो देखाउनु पर्‍यो । चाइनिज भाषा काम चलाउको रुपमा अवतार सिंह लामाले बोल्थे । उनकै कारण धेरै ठाउँमा सहजता भयो पनि । चाइनिजहरू अंग्रेजी भाषा बुझे तापनि फिटिक्कै नबोल्ने । बरु हातले संकेत गर्ने । सँगै डोर्‍याउने । तर अंग्रेजी नबोल्ने । आफ्ना भाषाप्रति कत्ति धेरै मोह, माया र सम्मान । तर हाम्रो सानो मुलुकमा जन्मेदेखि नै अंग्रेजी भाषा, स्कुलमा पठाउन लागेदेखि नै अंग्रेजी मिडियमको कक्षारे ।

एअरपोर्टभित्र कहिँकतै देखेन अंग्रेजी भाषाको साइनबोर्ड, संकेतहरू । होटलको मेनुसमेत चाइनिज भाषामै । उही खानेकुराको फोटोबाट चिन्नुपर्ने । एअरपोर्टको बयान गरी साध्य छैन । कत्ति ठूलो होला एअरपोर्ट भनेर आँकलन समेत गर्न नसकिने । एअरपोर्टभित्रको सरसफाई, चर्पीको सरसफाई हेर्दा हामी कुन दुनियाँमा छौँ जस्तो लाग्यो । एक्लै कतै निस्कियो भने त्यहीँ हराउने पक्का हुन्थ्यो । किनकि सबैतिर उस्तै बाटो, उस्तै गेट, उस्तै गार्डेन, उस्तै पसलहरू । 

गोन्जाओ एअरपोर्टबाट नानचाङ एअरपोर्टमा एक घण्टा १५ मिनेट जत्तिमा पुग्यौँ । उडान त्यत्ति धेरै माथि आकासिएको थिएन । माथिबाट तलतिरको बजार, खेतबारी, सडक सहजै नियाल्न सकिन्थ्यो । मेरो सिट झ्यालकै छेउमा र दिउँसै भएकाले राम्ररी नियालेँ, सवा एकघण्टा । सवा एक घण्टाको अवधिमा विमानबाट नियाल्दा वन नै विनास हुने गरी सडक निर्माण गरेको देखिएन । उत्पादनशील जग्गा नै मासेर घर, टहरा ठड्याएको पनि देखिएन । जग्गाहरू खाली, बाँझो देखिएन । जताततै सडक सञ्जाल देखिएन । छरपस्ट विद्युत पोल, लाइनहरू देखिएन । गाडीहरू जाममा अड्केको देखिएन । नाङ्गा डाँडाहरू देखिएन । छरिएको बस्ती देखिएन । 

आफूखुसी जताततै भीरपाखाहरू कोतारेको देखिएन । योजनावद्ध नै होला उद्योग, कलकारखाना, बजारहरू एकीकृत रुपमा निर्माण गरेको देखिन्थे । झ्यालतिर नियाल्दा नियाल्दै मेरो मुन्टो नै दुखेछ तर दुखाइको याद नै भएन । आँखाहरू चिम्लेको थिएन । सवा एक घण्टाको यात्रा केही मिनेट जस्तो लाग्यो ।

नानचाङ विमानस्थलमा ओर्लेपछि हामीलाई लिन मिस हुङ रुइयिङ (मिस रि) गाडी लिएर आउनु भएछ । नेपाल र क्युबाका सहभागीहरू सेमिनारमा छुटेको रहेछ । हामी पुग्दा होटलमा बेलुकीको खाना खाने समय सकिने भएकाले हामीलाई प्याकिङ खाजा ल्याउनु भएछ । एक घण्टा जत्तिमा होटलमा पुग्यौ । हामी बस्ने होटल याओ लेक पर्ल नामक तीनतारे होटल थियो । बासको व्यवस्था भएपछि भोलिपल्ट बिहान प्रत्येक देशको प्रस्तुति रहेछ । 

हामीले पनि आफ्ना देशमा मिनेरल रिसोर्सेसको बारेमा प्रस्तुतिको तयारीमा जुट्यौँ । बिहान सात बजेदेखि ब्रेकफास्ट थियो । नौ बजेदेखि कक्षा सुरु । लगभग ३ मिनेट जत्तिबाँकी हुँदा कार्यक्रम हलमा पुग्यौँ । त्यहाँ सबैका उपस्थिति भइसकेका रहेछन् । नाम हेरेर बस्यौँ । हाम्रातिर प्राय आधा घण्टा, एक घण्टासम्मको समय सामान्य मान्न थालेका छन् । तर नेपालबाहेकका देशहरूमा सेकेण्ड, मिनेटको महत्व छ । त्यसैले त बन्छ देश । 

२१ दिने सेमिनारमा ११ देशको प्रतिनिधित्व थियो । कुनै देशका १ जना, कुनै देशका ७ जनासम्म सहभागी थिए । सहभागी देशहरू घाना, पेरु, भेनेजुला, जोर्डन, इजिप्ट, क्युबा, उज्बेकिस्तान, नाइजेरिया, मोजाम्बिक, जिम्बाबे र नेपाल थिए । प्राय गरेर विकासोन्मुख देशका सहभागीहरू थिए । यस अवधिमा जियाङ्सी प्रदेस अन्तर्गत रहेका विभिन्न कलेजका प्रोफेसरहरूको प्रस्तुति थियो । ३/४ दिन कक्ष र ३/४ दिन भ्रमणले दिन बिताउन खासै गाह्रो थिएन ।

विश्वको टपटेन सिटी र बेइजिङपछि विकसित सहर संघाईमा दुई रात बस्यौँ । त्यहाँको विकासले फड्को मारेको देख्दा नेपाल त कहाँ हो कहाँ कल्पनै गर्न सकिन्न । विकासको के बयान गर्ने सडक, यातायात, सरसफाई, संस्कार, प्रविधि, सञ्चार, नागरिकको चेतनास्तर वृद्धिलगायत सबै क्षेत्रमा उत्तिकै अग्रस्थानमा रहेको देखें । हन्जाओ सहरमा पनि दुई रातको बसाई थियो । हरेक सहर, हरेक प्रदेशको एक अर्कामा प्रतिस्पर्धीको रुपमा देखें । कलेज, उद्योग कल कारखाना, होटल, संग्रहालयसमेत एकअर्काको प्रतिस्पर्धी देखें ।

कलेजले समेत एक वर्षे, पाँच वर्षे, सात वर्षे योजनाहरू भवनको भित्ता भित्तामा तयार पारेको देखें । जसले गर्दा देशकै विकासमा टेवा पुगेको देखें । मनमनै सोचेँ पनि विकास विकास भनिरहँदा केलाई विकास मान्ने ? ठूला ठूला भवन, चिल्ला सडक, ठूला ठूला होटल ? यी मात्रै त पक्कै होइनन् । नागरिकको चेतनास्तर पनि मापन गर्नुपर्छ कि जस्तो लाग्यो । 

कुनै पनि सहर, बजार, नागरिकको घर अगाडि फोहोर छैन । एअरपोर्ट होस् या रेल स्टेशनमा कहिँकतै पालो मिचेको देखिएन । हरेक नागरिकको साथमा स्मार्ट फोन हुन्छ । क्यूआर कोड हुन्छ । त्यहाँ कहिँकतै गफ लाएर बसेको देखिएन । चियापसल, भट्टि पसल छैन । सडकमा लखरलखर हिँडेको देखिँदैन । रेल, बस, प्लेन, कार्यक्रमहरू तोकिएकै समयमा सुरु हुन्छन् । सुरु मात्र होइन अन्त्य पनि तोकिएकै समयमा हुन्छ । यी सबै कुराहरू बुझ्न मलाई हप्तौँ समय लाग्यो । थोरै बसाइमा धेरै बुझाइ भयो ।

यदि धेरै बसाइ भएको भए धेरै सिकाइ हुन्थ्यो होला जस्तो लाग्यो । अध्ययनको साथसाथै भ्रमण पनि भएकाले धेरै कुराहरू देखेरै सिक्ने अवसर पायो । चीनले साना साना कुराहरूलाई पनि संग्रहित गरेको देखें । अभिलेखीकरण गरेको देखें । खोज्दा र सोच्दा पाउने कुराहरू अरु देशबाट ल्याएका छन् । नपाएका तर ऐतिहासिक कुराहरू, वस्तुलाई जस्ताको तस्तै उतारेका छन् । यस्तै यस्तै फरक र नयाँ शैलीकै कारणले पनि विश्वमा चीनलाई चिन्नु पर्ने अवस्था आएको मैले बुझें ।

असार १४ गते समापनको दिन भनेर बिर्से जस्तो लाग्यो । किनकि दिनदिनै नयाँनयाँ अनुहार, जिब्रोलाई फरक स्वाद, आँखालाई नयाँनयाँ वस्तुको हेराइले गर्दा अझैं केही दिन लम्ब्याउन पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो । नयाँ अनुभव, नयाँ सिकाइले जिन्दगीमा ठूलो र नयाँ उपलब्धि पाए जस्तो लाग्यो ।

जिन्दगीको सम्पत्ती नै यही सिकाइ ठानें, सम्झें । अन्तमा नेताहरू भन्ने गर्छन् नेपालाई स्वीजरल्यान्ड जस्तो, अमेरिका जस्तो बनाउने भनेर भाषण ठोक्छन् । तर, मलाई लाग्छ नेपाल नेपालजस्तै बनाउनु पर्छ । नेपालको कला, संस्कृति र सम्पदालाई संरक्षण सम्वर्द्धन गर्दै विश्वसामु चिनाउन सकेमा अरु मुलुकचाहिँ नेपाल नेपाल जस्तै हुनेछ । बन्नेछ । 

लामाको यसअघिका लेख


Author

थप समाचार
x