विचार-वार्ता

गुराँस पार्कमा जो पनि पुग्दछन्

जीवन लामा |
जेठ ९, २०८० मंगलबार १७:१२ बजे

जिरी भन्ने बित्तिकै जाउँ जाउँ लाग्छ । नेपालको स्विजरल्याण्ड भनेर चिनिने जिरीको नाम नसुनेका सायदै होलान् । जिल्लाकै मान्छेको मन पनि पटक पटक तानिरहेको हुन्छ जिरीले । जिल्लाका पत्रकारहरु प्राय वर्षमा तीनचार चोटी पुगेकै हुन्छन् । सोमबार बिहानै चरिकोटबाट चिरञ्जीवी मास्के, दिलबहादुर केसी, प्रभु जिरेल, गोकर्ण भण्डारी र म बोलेरोमा जिरी लाग्याैँ । 

जिरीमा चीन सरकारको सहयोगमा जिरी माविको भवन शिलान्यास कार्यक्रम थियो । कार्यक्रम बिहान सबेरै सम्पन्न भयो । अहिले जिरीमा प्रशस्तै घुम्ने पार्कहरु निर्माण गरेका छन् । पहिला जिरीमा घुम्ने भनेपछि उही हाटडाँडा र लिङ्कन बजार मात्र हुन्थ्यो । यसपटक नजिकै घुम्न कहाँ जाने भनेर सल्लाह गर्‍याैँ। हाटडाँडाबाट ६ किलोमिटरको दूरीमा रहेको गुराँस पार्कमा जाने योजनाका साथ अघि बढ्याैँ ।


जिरी नगरपालिकाका प्रथम मेयर टंक जिरेलकै पालामा गुराँस पार्क निर्माण भएको हो । यहाँ साना गाडीबाट सजिलै पुग्न सकिन्छ । गुराँस पार्क पुग्नु अघिनै बुद्ध पार्क नघुमी गति अघि बढ्दैन । जहाँ बौद्ध धर्मीलम्वी मात्र होइन, शान्तिको प्रतीकको रुपमा पुग्ने गर्छन् जोकोही । पूर्वसांसद इन्द्र बहादुर खड्काको पहलमा निर्माण गरेका हुन्,बुद्ध पार्क । यस पार्कबाटै जिरी लिङ्कन बजारको सुन्दरता मज्जाले चुम्न पाइन्छ । नुम्बुर हिमालको साथै हिमश्रृङ्खला पनि नजिकैबाट नियाल्न सकिन्छ ।

अलि अघि बढेपछि सहिद स्मृति आवासीय माध्यमिक विद्यालय रहेको छ । जहाँ द्वन्द्वकालमा सहिद भएका अभिभावकहरुका छोराछोरीहरु अध्ययन गर्ने विद्यालय छ । जतिजति अघि बढ्दै जान्छौ उति नै सुन्दर दृश्यहरु अवलोकन गर्न पाइन्छ । शेर्पा समुदायहरुले निर्माण गरेका बुलडाँडामा रहेको गुम्बा । २०७२ सालको भूकम्पले भत्काएपछि अहिले नयाँ निर्माण गरेका छन् । 

गुराँस पार्कमा अहिले पनि सेताम्मे देखिने चिमाल फुलेका छन् । फागुन चैत्रमा लालीगुराँस फुल्छन् यहाँ । वैशाख जेठमा चिमाल । यस ठाउँको नामाङ्कन गुराँस पार्क राखे तापनि चिमाल पार्क राख्दा पनि खासै फरक नपर्ला । यहाँ चिमाल हेर्न मात्र होइन, सुन्दर पोखरी, ध्यान केन्द्र, पिकनिक पार्क र चौँरी हेर्न पनि पुग्ने गर्छन्, पर्यटकहरु । बिदाको दिन प्रायः पारिवारिक र कार्यालयका कर्मचारीहरु प्रायः घुम्न पुगेकै हुन्छन् । दुई हजार ८०० मिटर उचाइमा रहेकाले गर्मी छल्न पनि यहाँ पुग्ने गर्छन् । अहिले त टिकटक बनाउन र सेल्फी खिच्न पनि गुराँस पार्क युवा पुस्ताका लागि नयाँ गन्तव्य बनेको जिरी युवा सञ्जालका अध्यक्ष केन्द्रज्योति खड्का बताउँछन् ।


Author

थप समाचार
x