बीपी-वृत्तान्त

बीपीपछि मुलुकले राष्ट्रिय नेता पाउन सकेको छैन

रमेशनाथ पाण्डे |
साउन ६, २०७८ १३:२ बजे

राजा महेन्द्र र बीपी कोइरालाबीच मेरो अग्रसरतामा वार्ता भएको थियो । त्यतिबेला बीपी सुन्दरीजल सैनिक जेलमा बन्दी अवस्थामा हुनुहुन्थ्यो । त्यस वार्ताको क्रममा मैले देख्दा दुवै बीचमा मुलुककै विषयमा कुरा उठेको थियो । उहाँहरूबीच मुलुककै चिन्ता थियो । मुलुकबाहेक अन्य विषयमा छलफल नै हुँदैन थियो । मिलनविन्दु राष्ट्र नै थियो भन्ने मैले बुझेँ। 

त्यसपछि राजा वीरेन्द्र र बीपीबीच पनि छलफल हुँदा मैले मुलुककै विषयमा चिन्तन गरेको पाउँथेँ । बीपीलाई जेलबाट छोडेर विदेश (अमेरिका) मा उपचार गराउने विषयमा निर्णय भएको थियो । दवैको चासो राष्ट्र हुनाले नै बीपीलाई अमेरिकामा उपचार गरेर भए पनि ल्याउनुपर्छ भनेर राजा वीरेन्द्रले सबै खर्च व्यहोर्ने हुनुभएको हो । 


तर, विडम्बना भनौँ या दुर्भाग्य, राजा र बीपी कोइरालाबीच सहकार्य नहोस् भनेर लाग्नेहरूले लामो समयसम्म खेले । एक थरीका त्यस्ता मानिसहरूले राजा र बीपीबीच सम्बन्ध सुदृढ नहोस् भनेर छद्म अभियान नै चलाए । उनीहरू लागि नै रहे । गतिरोध बढ्यो, परिणाम इतिहासले लेखेको छ । 

नेपाल जस्तो देशमा जनशक्तिको प्रतिनिधित्व बीपीले गर्नुभयो अर्थात् जनशक्तिको प्रतिनिधित्व जनताद्वारा निर्वाचित प्रतिनिधिहरू र उनीहरूको समग्र राजनीतिक पार्टीले गर्छन् ।

यस अलावा मुलुकमा तटस्थ शक्ति पनि छन् । परम्परागत शक्ति पनि छन् । राष्ट्रिय संस्कारबाट हुर्केका शक्ति पनि छन् । नेपाल जस्तो मुलुकले हिजो पनि आपसी मनोमानीलाई खप्न सकेन र धेरै ठूलो क्षति भोगिसकेको छ । भविष्यमा पनि त्यो ठूलो क्षति हुन सक्ने देखिन्छ । नेपालको भविष्य जोगाउन प्रजातन्त्रको सार्थक प्रयासबाट राष्ट्रका सम्पूर्ण शक्तिहरूबीच समझदारी अनिवार्य छ । 

त्यो समझदारीले विचारको आधारमा दलहरू प्रकट हुनु स्वाभाविक हो । राष्ट्रिय मामिलामा राष्ट्रका सबै सबैलाई एक गर्न सकियो भने उन्नतशील र सुरक्षित होइन्छ । 
बीपीपछि मुलुकले राष्ट्रिय नेता पाउन सकेको छैन । बीपी कोइरालाका विचारधारा  स्वयं नेपाली कांग्रेसबाट धेरै खण्डित र क्षतविक्षत भइसकेका छन् । वैैचारिक रूपमा राष्ट्रलाई एक बनाउने राष्ट्रिय चिन्तनमा सबै नेपालीलाई लिएर हिँड्ने नेतृत्वको विकास भएको छैन । 

त्यस निम्ति राष्ट्रिय नेतृत्वको विकास नहुँदा देश संक्रमण कालमा नै छ । यसको पूर्ति दुई किसिमबाट हुन सक्छ । एउटा लोकतान्त्रिक माध्यमबाट युवा पुस्ता, जसले देशको भविष्यको नेतृत्व गर्छ । उनीहरू अघि बढ्न आवश्यक छ । उनीहरूसँग सामथ्र्य, तागत, समर्पण भाव र त्याग गर्ने ऊर्जा छ । तर अनुभव छैन । त्यो अनुभव अघिल्लो पुस्तासँग छ । त्यो दुई पुस्ता मिलाएर राष्ट्रिय नेतृत्व दिन सकेमा बीपी कोइरालाको सक्कली स्मारक त्यही नै बन्नेछ । त्यसो हुन सकेन र संक्रमणमा नै रह्यो अनि आपसमा राष्ट्रिय शक्तिहरूबीच पानी बाराबारको अवस्था र प्रकृति नै कायम रह्यो भने हामीले नसोचेको बाटोबाट फरक इतिहास बन्ने देखिन्छ । 

बीपी कोइरालाले सधैँ खास खास निर्णय गर्नुभयो । उहाँ निर्णयकर्ता हुनुहुन्थ्यो । निर्णयकर्ता नेतृत्व नेपालले पाएको छैन । जसले राष्ट्रिय नेतृत्व लिन खोजेको छ उसले निर्णय गर्न सक्नुपर्छ । निर्णय गर्ने बेलामा इतिहासको हेक्का राख्नुपर्छ । आजको र आफ्नो सजिलो मात्र खोज्नु हुन्न । 

(पूर्वपरराष्ट्र मन्त्री पाण्डेसँग चन्द्रशेखर अधिकारीले गरेको कुराकानीमा आधारित ।)

    


 



Author

थप समाचार