खाद्य विभागले भारतीय दुई ब्रान्डका ४ मसला आयातमा प्रतिबन्ध लगायो
काठमाडौं - खाद्य मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै आयातमा रोक लगाएको छ । विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई चार प्रकारका मसलामा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले समेत रोक लगाएको जनाएको छ ।
विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो ।
एमडीएचका उक्त मसला १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । ‘सम्बन्धित कार्यालयमा केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको छ,’ पछिल्लो निर्णयबारे जानकारी दिँदै विभागकी महानिर्देशक मतिना जोशी वैद्यले बताएकी छन् ।
विभागले उल्लिखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलिन अक्साइड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत भनेको छ ।
‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो । यसलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले कार्सिनोजेनिक रसायनको समूह–१ मा राखेको छ । यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर हुन सक्ने आईएआरसीको भनाइ छ ।
सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन् । मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । बीबीसीका अनुसार भारतले झन्डै ४ बिलियन डलर बराबरको मसला बर्सेनि निर्यात गर्छ, जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो ।
नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँ बराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँ बराबरको आयात गर्दै आएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया