ब्रान्‍ड

सामसुङविरूद्ध खनियो मोबाइल व्यवसायी महासंघ, आजबाट देशभर भिजिबिलिटी बन्द

इकागज |
भदौ २६, २०८१ बुधबार १०:३९ बजे

काठमाडौँ- नेपाल मोबाइल व्यवसायी महासंघले आजबाट देशभर सामसुङ नेपालका मोबाइल फोनको भिजिबिलिटी बन्द गर्ने घोषणा गरेको छ । व्यवसायीले उठाएको मुद्दालाई बेवास्ता गरेको र कार्यक्रम नै बिथोलिन पुगेको भन्दै व्यवसायीहरूको छाता संगठन महासंघले सामसुङ नेपालविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

सुदूरपश्चिमको धनगढीमा गत भाद्र २० गते सामसुङ नेपालले सुदूरपश्चिम प्रदेशका नौ जिल्लाका मोबाइल व्यवसायीका लागि लक्षित गर्दै आयोजना गरेको रिटेल मिट कार्यक्रममा व्यवसायीहरूले मार्जिनको बिषय उठाउँदा कार्यक्रम नै भाँडिएको थियो । सो कार्यक्रम व्यवसायीहरूले बहिष्कार नै गरेका थिए ।


नेपाल मोबाइल व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष भरत भट्टराईले महासंघ केन्द्रले उठाएको बिषय प्रदेश संरचनाबाट उठ्नु स्वभाविक भएको र उठेका मुद्दालाई समन्वय गर्नुपर्नेमा कार्यक्रम आयोजकले त्यसलाई सम्बोधन गर्न नसक्नु दु:खद भएको बताए ।

'व्यवसाय सम्बन्धि कुनै पनि बिषय कार्यक्रमका शिलशिलामा उठ्छन्, मार्जिनको बिषय त केन्द्रको चासोको बिषय नै थियो, त्यो स्वभाविक पनि हो, कार्यक्रममा उठेका बिषयलाई सामसुङ नेपालले सम्बोधन गर्नुपर्नेमा वातावरण झन बिथोल्ने अवस्था बन्यो, यो सुखद होइन' महासंघका केन्द्रीय अध्यक्ष भट्टराईले भने ।

महासंघले सोही बिषयलाई लिएर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । जसअनुसार आज र भोलि देशभर सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने र यो दुई दिनमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर)लाई फिर्ता पठाउने निर्णय भएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

महासंघका उपाध्यक्ष रमेश घिमिरेले महासंघले उठाएको बिषयलाई सम्बोधन गरेर वातावरण सहज बनाउने दिशामा कम्पनीले चासो नदिए पहिलो चरणको दवाबमुलक कार्यक्रमपछि थप कार्यक्रम घोषणा गरिने बताए ।

धनगढीमा आयोजित रिटेल मिटमा व्यवसायीहरूले मोबाइल बिक्री गर्दा प्राप्त गर्ने मार्जिन बढाउन आग्रह गरेका थिए । तर सामसुङ नेपालका प्रतिनिधिहरूले भने सो बिषयका लागि कार्यक्रम आयोजना नगरिएको भन्दै व्यवसायीहरूलाई जुन कार्यक्रमका लागि बोलाइएको त्योबाहेक अन्य बिषयमा छलफल नै नहुने जवाफ दिएका थिए ।

महासंघका सुदूरपश्चिम अध्यक्ष सुरेश सापकोटाले आयोजकले व्यवसायीहरूलाई अपमानित व्यवहार गरेकाले त्यसपछि व्यवसायीहरू कार्यक्रम नै बहिष्कार गरेर हिँडेको बताएका थिए ।


Author

थप समाचार
x