ब्रान्‍ड

शिवम् सिमेन्ट पहिलो आवमा नाफामा, गुणस्तर अब्बल बनाउँदै सिमेन्ट

इकागज |
मंसिर १२, २०८१ बुधबार १७:५३ बजे

फाइल फोटो

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा शिवम् सिमेन्ट्स मात्र नाफामा देखिएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले १ करोड २७ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही समयमा शिवम् ५ करोड ३४ लाख रुपैयाँ घाटामा थियो । सूचीकृत बाँकी ३ सिमेन्ट कम्पनी भने घाटामा छन् ।

यस कम्पनीको सिमेन्ट बिक्रीबाट १ अर्ब ६२ करोडबाट घटेर १ अर्ब ४० करोड आम्दानी कायम भएको छ । बिक्री लागत भने १ अर्ब ४५ करोडबाट घटेर १ अर्ब ३० करोड रुपैयाँमा झरेको छ ।


कम्पनीको अन्य आम्दानी २ करोड १२ लाखबाट बढेर १० करोड ५७ लाख पुगेको छ । अन्य आम्दानी बढ्दा नाफा पनि बढेको हो । वित्तीय खर्च भने जम्मा २७ लाख रुपैयाँ रहेको छ । जुन सूचीकृत ४ कम्पनीहरुको भन्दा कम हो ।

शिवम् सिमेन्ट्सले शिवम् होल्डिङ्सबाट पनि लाभांश पाउने गरेको छ । होल्डिङ्सको होङ्शी सिमेन्टमा लगानी छ । पहिलो त्रैमासको रिपोर्ट अनुसार कम्पनीको ४ अर्ब ५८ करोड ५२ लाख रुपैयाँ लगानी सहायक कम्पनीहरुमा लगानी देखिएको छ ।

यता, यस सिमेन्टको जगेडा तथा अन्य कोषहरु अरु सिमेन्टको भन्दा धेरै छ । कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ रहेको छ । सिमेन्टले प्रिमियममा आइपीओ बिक्री गरेको थियो । सोही प्रिमियममा संकलन गरेको रकम सेयर प्रिमियममा जम्मा छ ।

यस कम्पनीले उक्त रकमबाट सेयरधनीलाई लाभांश वितरण गर्न मिल्छ । उक्त रकमबाट मात्रै कम्पनीले सेयरधनीलाई १९ प्रतिशतसम्म लाभांश वितरण गर्न मिल्ने देखिन्छ ।

शिवम् सिमेन्ट सन् २००३ मा स्थापना भएको नेपालमा एक प्रमुख सिमेन्ट उत्पादक हो । यस कम्पनीले २०११ मा व्यावसायिक उत्पादन सुरु गर्‍यो र देशको सबैभन्दा ठूलो ग्रीनफिल्ड परियोजनाहरु मध्ये एक सञ्चालन गर्छ । जसको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन छ ।

कम्पनीले १३ करोड ३१ लाख बोरा ओपिसी सिमेन्ट बिक्री गरेको गरेको छ । यो सबैभन्दा धेरै सिमेन्ट बिक्री गर्ने कम्पनी पनि हो । साथै, यसले भारतमा पनि निर्यात थालिएको छ ।

शिवम् सिमेन्टले ४३ र ५३ ग्रेडको ओर्डिनरी पोर्टल्याण्ड सिमेन्ट उत्पादन गर्छ ।  जुन नेपाल स्टान्डर्ड (एनएस) ५७२ अनुसार छ । सन् २०१९ मा शिवम् सिमेन्ट नेपालमा पहिलो कम्पनी बन्यो जसले एनएस गुणस्तर पुरस्कार प्राप्त गर्‍यो ।

शिवम् सिमेन्टले चिनियाँ कम्पनी होङ्शी होल्डिङ्ससँगको साझेदारीमा होङ्शी-शिवम् सिमेन्टमा ३०% हिस्सेदारी राखेको छ । यसले नेपालको सिमेन्ट उद्योगमा यसको स्थान थप मजबुत बनाएको छ ।


Author

थप समाचार
x