सिनेमा

इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर

इकागज |
पुस ८, २०८० आइतबार १०:५४ बजे

काठमाडौँ - प्रेमकथामा आधारित फिल्म ‘पर्खी बसें तिमीलाई’ को ट्रेलर इन्टरनेटमा सार्वजनिक गर्नु अगाडि हलमा रिलिज गरिएको छ । राजाराम बुढाथोकीद्वारा निर्मित फिल्मको सार्वजनिक ट्रेलरले दर्शकमा कौतूहलता बढाएको छ । अहिले हलमा विभिन्न फिल्म हेर्न पुगेका दर्शकलाई ट्रेलरले मनोरञ्जन दिएको छ । 

दीपक श्रेष्ठको निर्देशनमा तयार भएको फिल्म पुस २७ मा प्रदर्शन गरिने तय भएसँगै हलबाट ट्रेलर सार्वजनिक गरिएको हो । दुई पोस्टर र गीत सार्वजनिक गरिएको फिल्मको ट्रेलर इन्टरनेटमा भने सोमबार सार्वजनिक गरिने निर्माण पक्षले जानकारी दिएको छ ।


हलमा बजिरहेको ट्रेलरले सकारात्मक प्रभाव पारिरहेको अभिनेत्री रक्षा बुढाथोकीले बताइन । सञ्चारमाध्यममा अन्तर्वार्ता दिने क्रममा उनले ठूलो पर्दामा देखिँदाको अनुभव छुट्टै रहेको समेत बताइन । ‘सार्वजनिक ट्रेलरमा हाँसो, रोदन, एक्सन, विछोड सम्पूर्ण कुराको मिश्रण छ । दर्शकले यसबाट भरपूर मनोरञ्जन पाउनुहुनेछ’, रक्षाले भनिन् । उनले फिल्ममा आफू लभर गर्लको भूमिकामा रहेको जानकारी दिइन् ।

निर्देशक श्रेष्ठले ‘पर्खी बसे’ मार्फत नयाँ कलाकारका रुपमा राजबल्लभ कोइराला र युना उप्रेतीलाई फिल्ममा डेब्यु गराएका थिए । यसपटक उनले ‘पर्खी बसें तिमीलाई’ मार्फत अभिनेतामा किरण श्रेष्ठ र अभिनेत्रीमा रक्षा बुढाथोकीले डेब्यु गराएका छन् ।

अभिनेता किरणले पनि लभ स्टोरीमा प्रस्तुत हुन् पाउँदा खुसी व्यक्त गरे । ‘दीपक सर जस्तो लिजेन्ड निर्देशकको एक्सन कटमा काम गर्न पाए । निकै उत्साहित छु । आफू सुहाउँदो भूमिकामा प्रस्तुत भएको छु’, किरणले भने । उनले आफूलाई विश्वास गरेर डेब्यु गराउने निर्माता राजारामलाई समेत धन्यवाद व्यक्त गरे ।

निर्माता राजाराम बुढाथोकीले विना सम्झौता फिल्म तयार गरिएको जानकारी दिए । उनले भने, ‘यसमा प्रेमसँगै पारिवारिक द्वन्द्वको मिश्रण छ । यो विशुद्ध मनोरञ्जनात्मक फिल्म बनेको छ । सपरिवार हेरेर मनोरञ्जन लिन सक्नु हुनेछ । यसमा अहिलेको पुस्ताको प्रेम कथा देखाइएको छ ।’

रोमान फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा अनिशा रसाइली, शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनीले प्रदर्शनका लागि वितरण गर्नेछ । वितरक श्रेष्ठले हलमा रिलिज गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहेको र हल संचालक ट्रेलरलाई लिएर सकारात्मक रहेको बताए । 


Author

थप समाचार
x