सिनेमा

चलचित्रमा अभिनय गर्न सात महिना तालिम

इकागज |
फागुन ४, २०८० शुक्रबार २०:१२ बजे

काठमाडौँ- वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र निर्माण हुने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले निर्माता-निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ निर्माण गरेका छन् ।

यही फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नुअगाडि नै बेलायतमा प्रिमियर गरेर अन्तर्राष्ट्रिय रूपमा चर्चामा रहेको चलचित्र निर्माण पूरा गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए ।


'मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रूपमा सैनिकले लड्ने युद्ध देखाएको छु । म आफैँ पूर्वसैनिक भएकाले पनि यसमा कुनै सम्झौता गरिँन । चलचित्रमा सैनिकको घरपरिवार र पेसालाई देखाइएको छ । यसको तयारी एक दशक अगाडिको भएता पनि छायाङ्कनमा तीन वर्ष खर्चेको छु,' निर्देशक चाम्सले भने । 

उनले चलचित्रमा सैनिक देखिन सम्पूर्ण पात्रलाई झण्डै सात महिनाको प्रशिक्षण दिएको जानकारी दिए । मुख्य अभिनेता रितेश चाम्स आफैँ पूर्वसैनिक रहेकाले उनीबाहेकका अन्य कलाकारले तालिम लिए । त्यसमध्येका एक अभिनेता रेअर राईले उक्त समयमा निकै कठिन भएको बताए । 

'एउटा चरित्रका लागि सात महिनासम्म हामीले तालिम गरेर उक्त जीवनलाई पर्दामा जिउने कोसिस गरेका छौँ । सुरुमा  छोडेर जाउँजस्तो नभएको पनि होइन  तर हाम्रो पुर्खाका गौरवगाथाले मलाई यो भूमिकासँग जोडेर राख्यो,' अभिनेता राईले भने । उनले तालिममा गरिएका अभ्यासले चलचित्र छायाङ्कनमा सहजता भएको बताए । 

निर्देशक चाम्सले चलचित्रमा सन् १९४९ को समय देखाउन उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरिएको जानकारी दिए । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक भएता पनि चलचित्रका लागि विभिन्न प्रशिक्षण लिएको बताए । 

'मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । गोर्खाली गाथामार्फत नेपाललाई विश्वमा चिनाउने उद्देश्यका साथ यसमा अभिनय गरेको हुँ । गोर्खाली भनेपछि हामीले विदेशमा पाइरहेको सम्मानलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ । यो गोर्खालीको पराक्रमको दस्तावेज हो,' अभिनेता चाम्सले भने । चलचित्रमा विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रलाई प्रदर्शनका लागि रिच इन्टरटेन्मेन्टका  करण श्रेष्ठले वितरण गर्दै छन् ।


Author

थप समाचार
x