सिनेमा

बहुसंख्यक महिलाको नेतृत्व रहेको एक मुठ्ठी बादल

इकागज |
बैशाख २, २०८१ आइतबार १०:८ बजे

काठमाडौं -बहुसंख्यक महिला युनिटको संलग्नता रहेको साथ एक मुठ्ठी बादल, My Share of Sky को सुटिङ समाप्त भएको छ । लेखक तथा निर्देशक सहारा शर्माको नेतृत्वमा यो चलचित्रमा पहिलो पटक महिलाले चलचित्र निर्माणका विभिन्न विभागहरूमा प्रमुखको भूमिका निर्वाह गरेका छन् । पोखराका लामाचौर र आसपासका ठाउँमा खिचिएको फिल्म  २२ दिनमा सकिएको हो ।​

डक्सकुल र प्लान इन्टरनेशनल नेपालले सन् २०२१ मा गरेको एक अनुसन्धानले नेपालमा चलचित्रकर्मीहरू भित्रको महत्त्वपूर्ण लैङ्गिक असमानतालाई प्रकाश पारेको थियो। अध्ययनको निष्कर्ष अनुसार, नेपाली चलचित्रमा १० प्रतिशतभन्दा कम महिलाहरूले चलचित्र निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन् । यही कुरालाई मध्यनजर गर्दै निर्माण टिमले महिलाहरू प्रमुख, रचनात्मक र प्राविधिक भूमिकाहरूमा फस्टाउन सक्ने वातावरण निर्माणका लागि मुख्य विधाहरूमा महिलाको भूमिका चयन गरेको हो । यसले फिल्म निर्माणमा विद्यमान लैङ्गिक असमानता र असन्तुलनलाई चुनौती दिने विश्वास लिएको छ । ​


साहारा शर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा छायांकारको भूमिका लिन ड्यानले निर्वाह गरेकी थिइन् । भियतनामकी ड्यानको यो तेस्रो फिचर चलचित्र हो भने, एक मुठ्ठी बादल पहिलो नेपाली फिचर चलचित्र हुनेछ । यसैगरी प्रोडक्सन डिजाइनमा भारतकी यशस्वी सबरवाल, अडियो मिक्सर प्रियंका गायकवाड, र प्रमुख सहायक निर्देशक मर्णा जेम्स रहेका छन् । चलचित्रमा कीर्ति जोशीले  मेकअप विभागको प्रमुखको जिम्मेवारी निर्वाह गरेकी थिइन्  पोशाक विभागको जिम्मेवारी जानकी कडायतले सम्हालेकी थिइन्।​

निकुन श्रेष्ठको कार्यकारी निर्माता रहेका चलचित्रलाई अभिमन्यु दीक्षित, अनुप पौडेल, र सामीप्यराज तिमल्सेनाले संयुक्त रुपमा निर्माण गरेका हुन् । गौथली इन्टरटेन्मेन्ट, मन प्रोडक्सन र अन्डरग्राउन्ड टकिजको प्रस्तुति रहेको चलचित्रमा महिला कलाकारलाई नै मुख्य भूमिकामा देख्न सकिनेछ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा, उषा रजक, अस्मिता गौतम, भीमा मैनाली, शेखर चापागाइँ, मनिष निरौला, गौरव विष्ट, सहयोग राज अधिकारी, अविरलप्रताप अधिकारी आदि कलाकारको अभिनय रहेको छ। प्रस्तुत कलाकार तथा प्राविधिकको संलग्नतामा विविध प्रतिभाले क्यामेरा पछाडि मात्र नभई अगाडि पनि महिलालाई सशक्तीकरण गर्ने स्पष्ट सन्देश दिने विश्वास लिइएको छ। 


Author

थप समाचार
x