सिनेमा

‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक, दशैंमा रिलिज

इकागज |
असार १६, २०८१ आइतबार १२:२८ बजे

काठमाडौँ - अभिनेता विराज भट्टको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘१२ गाउँ’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । आगामी दशैंमा प्रदर्शनमा आउने सिनेमाबाट अभिनेता भट्टका छोरा समीर भट्टले नेपाली रजतपटमा डेब्यु गर्दैछन् ।

समीरको डेब्यु सिनेमा भएका कारण पनि सिनेमा निर्माण घोषणादेखि नै चर्चाको शिखरमा छ । विराजले नेपाली सिनेमा इतिहासकै उच्च स्तरीय एक्सन पस्किने तयारी ‘१२ गाउँ’ मार्फत गरेका छन् । यो सिनेमाले नेपाली सिनेमाको एक्सनलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने विश्वास निर्देशक तथा अभिनेता भट्टको छ ।


निर्देशक विराजका अनुसार अबको १० दिनमा सिनेमाको प्याकअप हुनेछ । यो सिनेमामा समावेश गरिने एउटा एक्सन दृश्यको छायांकन भारतको मुम्बईमा गर्नु पर्ने भएकाले अबको १० दिनमा सम्पूर्ण छायांकन सकिने उनको भनाई छ ।

नेपाली सिनेमामा रियल एक्सन स्टारका रुपमा परिचित विराजले आफ्नो सोही छविलाई ‘१२ गाउँ’बाट अझ एक कदम अगाडि लैजाने बताउँछन् । यही सिनेमाबाट डेब्यु गर्न लागेका उनका छोरा समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर डेब्यू गरेका हुन् । समीरले मुम्बईमा किशोर-नमितबाट अभिनय प्रशिक्षण लिएका थिए ।

यही सिनेमाबाट दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेब्यु गर्दैछन् । सिनेमामा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतिमा निर्माण भएको सिनेमामा अर्जुन पोखरेल र निरजको संगीत, रामजी लामिछाने, सुनिल क्षेत्री र कविराज गहतराजको कोरियोग्राफी तथा प्रवीन केएल र भुपेन्द्र अधिकारीको सम्पादन रहनेछ । सिनेमामा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ ।

एक्सन-थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन् । तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन् । महेश पौडेल छायांकन रहेको सिनेमाको काठमाडौं, ललितपुर, विरगञ्ज र हेटौंडामा पनि छायांकन गरिनेछ । सिनेमाको वितरण काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले गर्नेछ ।


Author

थप समाचार
x