नेपाली कांग्रेस १४औँ महाधिवेशन

तीन कोइराला तीनतिर

के होला परिवारको विरासत ?

दुर्गा आचार्य |
मंसिर २५, २०७८ शनिबार ११:१४ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन रोचक मोडमा पुगेको छ । आकांक्षीहरू धेरै हुँदा संस्थापन र संस्थापनइतर समूहलाई नेता व्यवस्थापनमा हम्मेहम्मे परेको छ । 

संस्थापन पक्षतिर सभापतिमा शेरबहादुर देउवा ‘निर्विकल्प’ भनिएको छ । यद्यपि उनीसँगै तीन दशकदेखि निकट सहयोगी विमलेन्द्र निधिले चुनौति दिँदैछन् । निधि संस्थापन पक्षका उपसभापतिमा छन् । निधिले सभापतिमा उम्मेद्‌वारी घोषणा गरेपछि देउवालाई झस्का पुगेको छ नै ।


दुवै प्यानल नै लिएर मैदानमा जाने योजनामै छन् । देउवाको प्यानलमा पर्न सक्ने नेताको आँकलन गरिए पनि निधिको प्यानलमा को-को पर्छन् भन्‍ने अझै खुलेको छैन । यद्यपि उनले युवाहरूको टिम बनाउने बताउँदै आएका छन् । 

यता संस्थापनइतर समूहमा सभापतिका आकांक्षीहरूबीच नै कुरा मिल्न सकेको छैन । संस्थापनइतरमा पनि हालसम्म सभापतिका दुई उम्मेद्‌वार देखिएका छन् । प्रकाशमान सिंहले सभापतिमा कुनै हालतमा नछाड्ने भएपछि रामचन्द्र पौडेल पक्षले डा‍. शेखर कोइरालालाई अगाडि बढाउने तयारी गरेको छ । 

पौडेलले आफू सभापतिको रेसबाट बाहिरिएको पत्रकार सम्मेलन गरेरै जानकारी दिएका छन् । तर, उनको समर्थन कसलाई हुने भन्‍ने खुलाएका छैनन् । 

पौडेल पक्षमै रहेकी सुजाता कोइराला भने पछिल्लो समय सिंहको प्यानलबाट उम्मेद्‌वारी दिने तयारीम छिन् । देउवा सरकारमा सहभागी हुन चाहना राखेकी सुजाता कोइरालालाई शशांकले ‘ब्याक’ गराएर मिनेन्द्र रिजाललाई मन्त्री बनाएपछि उनी शशांकसँग रुष्ट भएकी थिइन् । 

लगत्तै सुजाताले एउटा टेलिभिजन कार्यक्रममा शशांक र रामचन्द्रको पछि नलाग्‍ने बताएकी थिइन् । मन्त्री नबनाएकै रिसमा सुजाताले प्रकाशमान सिंह प्यानललाई साथ दिन खोजेको हुन सक्ने जानकारहरू बताउँछन् ।

के होला विरासत ?
कांग्रेसमा कोइराला परिवारको विरासतको निकै चर्चा हुने गर्छ । कृष्णप्रसाद कोइराला, विपी कोइराला, केशव कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालापछि कोइराला विरासत थाम्‍ने जिम्मा विपीपुत्र शशांक कोइराला, गिरिजापुत्री सुजाता कोइराला र केशव पुत्र शेखर कोइरालाको थियो । 

पटक-पटक 'डिनर र लन्च' मिटिङ गरेर उनीहरूले १४ औँ महाधिवेशनमा कोइराला परिवार एकै ठाउँमा उभिने संकेत दिँदै आएका थिए । तर, महाधिवेशनको संघारमा आइपुग्दा शेखर र सुजाता फरक-फरक प्यालनबाट चुनावी मैदानमा देखिने सम्भावना बढेको छ ।

संस्थापनइतर समूहकै एक समूहबाट शेखर सभापतिको उम्मेद्‌वार बन्दै छन् भने सुजाता सिंह पयानलबाट उप-सभापतिको उम्मेद्‌वार बन्दै छिन् । शशांकको सहयोग कसलाई हुन्छ भन्‍ने अझै प्रष्ट नपारेतापनि उनले शेखरलाई नै साथ दिने स्रोतले बताएको छ ।

यसरी ‘तीन जना तीनतिर’ भएपछि कोइरालाको विरासत भने अलपत्र पर्ने भएको छ । पटकपटक विरासत फर्काउँछौं भन्‍ने उनीहरूको अभिव्यक्ति र अहिलेको फरक बाटोले कोइराला विरासत ढल्ला या गाढिएला आम कांग्रेसीजनका लागि चासो र चिन्ताको विषय बनेको छ ।


Author

थप समाचार
x