कर्पोरेट

पुस मसान्तमा एनसीएचएल सिस्टमबाट ८४ अर्ब बढीको कारोबार

इकागज |
माघ २, २०८० मंगलबार २१:४२ बजे

काठमाडौँ- नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले आफ्नो विभिन्न प्रणालीहरू मार्फत पुस मसान्तको अन्तिम दिनमा रु.८४ अर्बभन्दा बढीको भुक्तानी कारोबार फर्छ्यौट गरेको छ । गत वर्षको सोही दिनमा भएको भुक्तानी कारोबारको तुलनामा उक्त कारोबार संख्याको आधारमा ६०% र रकमको आधारमा ७०% ले वृद्धि भएको हो ।

एनसीएचएलका प्रणालीहरू मध्ये एनसीएचएल-ईसीसी, एनसीएचएल-आईपीएस र आरपीएसमार्फत क्रमश: रु.४१ अर्ब, रु.१४ अर्ब र रु.२९ अर्ब बराबरको भुक्तानी कारोबार उक्त एक दिनमा फर्छ्यौट भएको हो ।


विद्युतीय भुक्तानीको स्वीकार्यता सँगै आरपीएस अन्तर्गत कनेक्ट आइपिएस (वेब, एप तथा गेटवे), कर्पाेरेट पे, बैंक शाखाहरू, मोबाइल बैंकिङ्ग, वालेट तथा एनपीआईसँग जोडिएका विभिन्न च्यानलहरू मार्फत रियल टाइम भुक्तानीको संख्यामा अधिकतम वृद्धि भएको देखिन्छ ।

त्यस्तै पौष मसान्तको अन्तिम दिनमा एनसीएचएल-आईपीएस र आरपीएस मार्फत रु. १.६ अर्ब बराबरको राजस्व संकलन तथा रु. ६.८ अर्ब बराबरको सरकारी खर्चसम्बन्धी १ लाख २५ हजारभन्दा बढी भुक्तानी कारोबारहरू भएका छन् । सरकारी भुक्तानीसम्बन्धी कारोबारहरू कनेक्ट आइपिएस, कर्पाेरेटपे, नेपालपे क्यूआर, गेटवे, बैंक शाखाहरू, मोबाइल बैंकिङ्ग तथा वालेट मार्फत गर्न सकिने व्यवस्था रहेको छ ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिगत पहलहरूले नेपालको विद्युतीय भुक्तानीमा उल्लेख्य परिवर्तन आएको देखिन्छ । एनसीएचएलका भुक्तानी प्रणालीहरूमा डाइरेक्ट सदस्यका रूपमा ५३ बैंक/वित्तीय संस्थाहरू तथा इन्डाइरेक्ट/टेक्निकल सदस्यका रुपमा १०० भन्दा बढी गैर-बैंकिङ्ग संस्थाहरू आबद्ध भई प्रयोग गर्दै आएका छन् ।

सदस्य बैंक/वित्तीय संस्थाले आफ्ना ७ हजारभन्दा बढी शाखाहरू तथा मोबाइल बैंकिङ्ग प्लेटफर्म मार्फत आफ्ना दुई करोडभन्दा बढी ग्राहकहरूलाई यी सेवाहरू प्रदान गर्दै आएका छन् ।


Author

थप समाचार
x