कर्पोरेट

फर्निचर एक्स्पोमा आईएनआई सिनेमाको ‘पार्टनरशीप’, अवलोकनकर्ता लाभान्वित हुने

इकागज |
जेठ ३१, २०८१ बिहीबार १८:१९ बजे

काठमाडौँ- दशौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पोको आधिकारिक सिनेमा पार्टनरमा आईएनआई सिनेमाले सहकार्य गर्ने भएको छ । हलका दर्शक तथा एक्स्पोका अवलोकनकर्तालाई सहुलियत दिने उद्देश्यका साथ बिहीबार दुई संस्थाका बीचमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो ।

बिहीबार एक कार्यक्रमका बीच आईएनआई सिनेमाका प्रबन्ध निर्देशक भिमसेन कँडेल र एक्स्पोको व्यवस्थापक इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले सम्भौता पत्रमा हस्ताक्षर गरेका हुन् ।


सम्झौताअनुसार आगामी असोज २ देखि ५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने दशौं संस्करणको फर्निचर एक्स्पोका अवलोकनकर्ताहरूले दैनिक रूपमा गोला प्रथाबाट आईएनआई सिनेमाको टिकट पाउने छन् । प्रचार प्रसारका साथै सेवाग्राहीलाई चाडपर्वको समयमा सिनेमा हेर्दा सहुलियत होस् भन्नका लागि यस्तो सम्झौता गरिएको आईएनआई सिनेमाका सञ्चालक गृहेन्द्र मुनंकर्मीले बताए ।

‘आत्मनिर्भरतामा एक कदम अगाडि’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५ गतेसम्म तदनुसार सेप्टेम्बर १८ देखि २१ सम्म एक्स्पो आयोजना गर्दैछ ।

एक्स्पोका संयोजक सम्येक मान सिंहका अनुसार पहिलो पटक एक्स्पोस्थलमा फर्निचरजन्य उत्पादनको प्रत्यक्ष किनबेच गराउन फर्निचर तथा फर्निसिङको खुल्ला बजार पनि सञ्चालन हुनेछ । २० वटा स्टलमा सञ्चालन हुने फर्निचर बजारमा आकर्षक छुट तथा अफरमा अवलोकनकर्ताहरूले फर्निचर तथा फर्निसिङका सामान खरिद गर्न सक्नेछन् । किस्ताबन्दीका साथै धेरैभन्दा धेरै छुटका सम्बन्धमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूसँग सहकार्य गरिने पनि उनले जानकारी दिए ।

असोज २ गतेदेखि १० दिनसम्म फर्नेक्स २४ डट इभेण्ट सोलुसन नेपाल डटकमडटएनपी डोमेनमा आयोजना हुने भर्चुअल एक्स्पोमा मात्र पनि सहभागिता जनाउन सकिनेछ । एक्स्पोको स्टल बुकिङ गत महिनादेखि नै खुल्ला भइसकेको छ ।

एक्स्पोमा मुख्यतया फर्निचर तथा फर्निसिङ सामग्री, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर र व्यवसायीलाई केन्द्रित गरिनेछ । एक्स्पोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूलाई साझा प्लेटफर्म प्रदान गरी उपभोक्तासम्म पुग्न लागि सहज मार्ग निर्देशन गर्नेछ भने ग्राहकहरूलाई एउटै प्लेटफर्ममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू उपलब्ध गराउन भूमिका खेल्ने विश्वास आयोजकको छ ।

साथै फर्निचर र फर्निसिङ सामग्री उत्पादक, मेसिनरी आपूर्तिकर्ता, आयातकर्ता, वितरक, डिलर, इन्टेरियर डिजाइनर, स्टार्टअप तथा फर्निचर उद्योगमा काम गर्न इच्छुक व्यक्तिहरूलाई साझा प्लेटफर्म प्रदान गर्ने एक्स्पोको उद्देश्य छ । नेपालको फर्निचर तथा फर्निसिङ क्षेत्रको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।


Author

थप समाचार
x