अदालत

दैलेखको जिससमा पुनः मतदानको माग गर्दै सर्वोच्चमा रिट

इकागज |
असार १, २०७९ बुधबार १५:३७ बजे

फाइल फोटो

सुर्खेत - दैलेखको जिल्ला समन्वय समिति (जिसस) मा पुनः मतदान गर्नुपर्ने माग राख्दै सर्वोच्वमा रिट दायर भएको छ । 

नेपाली कांग्रेसबाट जिसस प्रमुखको उम्मेदवार बनेकी दुर्गाकुमारी श्रेष्ठले मंगलबार रिट दायर गरेकी हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख लगायतका विरुद्ध परेको रिटमा जिल्ला समन्वय समिति दैलेखको प्रमुख पदमा पुनः कानुन बमोजिम निर्वाचन गराउन माग गरिएको छ ।


श्रेष्ठले दायर गरेको रिटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय दैलेख, मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने, जिल्ला समन्वय समिति दैलेख, जिल्ला समन्वय समितिमा स्वतन्त्र उम्मेदवारी दिई निर्वाचित भएका नमराज शाही, स्वतन्त्र उम्मेदवारका प्रस्तावक सुन्दरकुमार केसी, समर्थक बिना कार्की, प्रदेश निर्वाचन कार्यालय कर्णाली प्रदेश र निर्वाचन आयोग समेतलाई विपक्षी बनाएको छ ।

आठबीस नगरपालिका–७ को वडा सदस्यमा नेपाली काँग्रेसबाट निर्वाचित भएका नमराज शाहीले जिसस प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिन नपाउने रिटमा जिकिर गरिएको छ । ‘नेपाली काँग्रेसबाट निर्वाचित भएका शाहीले स्वतन्त्र हैसियतमा जिल्ला समन्वय समितिको निर्वाचनमा उम्मेदवारी दिन नमिल्ने भन्दै उम्मेदवारी दर्ता खारेज गरी पाउँ भनि दिएको निवेदन समेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले अस्वीकार गरेको रिटमा उल्लेख छ ।

गत जेठ २६ गते भएको जिल्ला समन्वय समिति दैलेखको निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार नमराज शाही विजयी भएका छन् । जिसस प्रमुखमा निर्वाचित शाहीले १३ मत प्राप्त गरेका थिए । 

सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको तर्फबाट प्रमुखको उम्मेदवार नेपाली काँग्रेसकी दुर्गा कुमारी श्रेष्ठले ९ मत प्राप्त गरेकी थिइन् । 

उपप्रमुखमा सत्ता गठबन्धनलाई हराउँदै नेकपा एमालेका उम्मेदवार केशवबहादुर शाही निर्वाचित भएका छन् । उनले ११ मत प्राप्त गरेर विजयी भएका छन् । गठबन्धनको तर्फबाट उपप्रमुखको उम्मेदवार बनेकी एकीकृत समाजवादीकी शान्ति शाहीले १० मत प्राप्त गरेकी थिइन् ।

स्वतन्त्र उम्मेदवारी दिएर जिसस प्रमुखमा निर्वाचित शाही नेपाली कांग्रेस दैलेखका उपसभापति हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिएपछि काँग्रेसले साधारण सदस्य समेत नरहने गरी उनलाई पार्टीबाट निष्कासन गरिसकेको छ ।  

समन्वय समितिको सदस्यहरुमा नेकपा एकीकृत समाजवादीका कविताकुमारी गिरी, कोकीलाकुमारी खड्का पुर्णा विक, नेकपा माओवादी केन्द्रकी तुल्छा विक, फत्तबहादुर डांगी, नेपाली कांग्रेसका अङ्गबहादुर शाही र स्वतन्त्र उम्मेदवार दिलबहादुर शाही निर्वाचित भएका थिए ।
 


Author

थप समाचार
x