अदालत

खारिएको टिम छौँ, नजित्‍ने कुरै भएन (अन्तर्वार्ता)

इकागज |
असार २३, २०७९ बिहीबार ८:४६ बजे

कानुन व्यवसायीको पेशागत हितको लागि नेपाल बार एशोसियसनको भुमिका महत्वपूर्ण हुन्छ । बारको नेतृत्वमा बसेर पदाधिकारीबाटै अदालतमा विचौलियाको काम हुने गरेका घटनाहरू पछिल्लो समय बाहिरिँदै छन् । यसैक्रममा उच्च अदालत बार एशोसियसन पाटनको कार्य समिति निर्वाचन यही असार २५ गते हुँदैछ । यो एकाइमा २ हजार ८ सयभन्दा बढी कानुन व्यवसायी आवद्ध छन् । प्रस्तुत छ, कोषाध्यक्षका उमेद्‌वार अधिवक्ता मन्दिरा अधिकारीसँग गरिएको कुराकानी :

उच्च अदालत बार एशोसियसनको कोषाध्यक्षमा तपाईंको उमेद्‌वारी किन ? यहाँले आफ्नो उमेद्‌वारीलाई कसरी पुष्टि गर्नुहुन्छ ?
यहाँलाई विदितै छ, पछिल्लो समय अडियो प्रकरणमा मुछिएका अधिवक्ताले हाम्रै बार एकाइबाट राजनीति सुरु गर्नुभएको थियो । उच्च बार पाटनमा यसअघि एकै समुह र संगठनका चुनिँदै आउने गरेका छन् । त्यसकै उपज पनि हो त्यो अडियो प्रकरण । हामी अदालतमा २/२ वर्षमा  न्यायाधीश सरुवा हुनुपर्छ भन्छौँ, फाँटका कर्मचारीसमेत एकै फाँटमा धेरै बस्न हुँदैन भ्रष्टाचार बढ्छ भन्‍ने आवाज उठाइरहेका हुन्छौँ । अब बार एकाइमा सधैँ एकै समुहले नेतृत्व लिइरहँदा यसले विकृति विसंगति मौलाउँछ भन्‍ने पुष्टि भइसकेको छ । एकै समुहको निरन्तरताले बारभित्रको पारदर्शिताको कुरा र बेन्चसँग बारको स्वच्छ सम्बन्धका विषय धरापमा पर्छन् ।


पछिल्लो उदाहरण नै हेर्नुहोस् न कानुन व्यवसायीको जिल्ला न्यायाधीशसँगको अडियो प्रकरण । यही उच्च बारमा नेतृत्व लिइसक्नुभएको कानुन व्यवसायी अडियो प्रकरणमा मुछिनुले उच्च बारमा नयाँ समुहको उदय हुनैपर्ने देखिन्छ । नभए गुपचुप रुपमै भ्रष्टाचार मौलाउने खतरा सधैँ छ । तसर्थ एकै समुह र संगठनबाट नेतृत्व सञ्चालन हुनुहुँदैन, परिवर्तन जरुरी छ भनेरै मैले मेरो उमेद्‌वारी दिएको हुँ ।   

मेरो उमेद्‌वारीको मुलतः उद्देश्य नै न्यायपालिकाभित्रका विकृति विसंगति र भ्रष्टाचारको अन्त्यको लागि शुद्धिकरण र सुदृढिकरणमा समर्थन गर्दै जाने हो । पदीय हैसियतको दुरुपयोग गरी न्यायपालिकाभित्रका विकृति विसंगति र भ्रष्टाचारजन्य गतिविधिमा संलग्न हुने प्रवृत्ति अन्त्य गर्न ढिलो भइसक्यो । न्यायपालिका प्रतिको जनआस्था बढाउन बार र  बेन्चलाई जिम्मेवार र क्रियाशिल बनाई कानुन व्यवसायीसमेतलाई मर्यादित बनाउन भुमिका खेल्ने ध्येय नै मेरो उमेद्‌वारीको मुख्य उद्देश्य हो । 

कानुन व्यवसायीको पेशागत हकहित र सुरक्षाको लागि तपाईंसँग के कस्तो योजनाहरू छन् ?
पुरानालाई सम्मान नयाँलाई प्रोत्साहन भन्‍ने मुल नाराका साथ मैले मेरो उमेद्‌वारी दिएको हुँ । नवोदित कानुन व्यवसायीलाई पेशामा स्थापित गर्नको लागि सहजीकरण गर्ने, प्रोत्साहन कार्यक्रमहरू सञ्चालन गर्ने, स्वतन्त्र र सक्षम न्यायपालिकाको लागि सकारात्मक भुमिका निर्वाह गर्न राज्यका विभिन्‍न तहहरूमा कानुन व्यवसायीको पेशागत पहुँच विस्तार गर्ने, कानुन व्यवसायीको बीमा व्यवस्था तथा सामाजिक सुरक्षाको व्यवस्थाको लागि आवश्यक पहल गर्ने, महिला जनजाति दलित र नवोदित कानुन व्यवसायीमा दक्षता अभिवृद्धि गर्ने र पेशागत संलग्नता बढाउनको लागि नेपाल बार एशोसियसनसँग समन्वय गरी कार्यक्रमहरू ल्याउने योजना छ ।

कम्पनी सम्बन्धी कामको लागि पेश हुने कागजातको मस्यौदाकर्तामा कानुन व्यवसायीको हस्ताक्षर अनिवार्य हुने व्यवस्था ल्याउन पहल गर्नेछु । कानुन व्यवसाय कै मस्यौदा हुनुपर्ने व्यवस्थामा परिवर्तन गरिँदा कागजातमा गल्तीहरू भई धेरै सेवाग्राहीहरूले अल्पकालीन र दीर्घकालीन रुपमा हैरानी पाइरहेका छन् । त्यसैले कम्पनी सम्बन्धी कागजातको मस्यौदामा कानुन व्यवसायीको हस्ताक्षर अनिवार्य गर्ने हाम्रो मुख्य अभियान हुनेछ ।

कानुन व्यवसायीबाहेकका अन्य क्षेत्रका व्यक्तिले बारको राजनीति गर्नु हुँदैन भन्‍ने विषयमा आवाज उठाइरहनुभएको छ यो यतिबेलै आवाज उठाउनुपर्ने कारण के ?
हेर्नुहोस् नेपाल बार भनेको कानुन व्यवसायीहरूको छाता संगठन हो । कानुन व्यवसाय र कानुनको क्षेत्रमा कार्यरतहरूले पेशागत राजनीति गर्ने मुल थलो हो । तपाईं यही पेशामा रहँदा तपाईंलाई पेशाप्रति अपनत्व र समस्याहरूबारे जानकारी हुने हो । कानुन व्यवसायीको परिभाषाभित्र बहस पैरवी गर्नेहरू मात्र पर्नुहुन्‍न संघ संस्थामा कानुन/विभाग शाखामा काम गर्ने, बैङ्क तथा वित्तीय क्षेत्रमा कानुन सम्बन्धी काम गर्ने, कानुन विषयकै अध्यापन गर्ने/गराउनेहरू सबै पर्नुहुन्छ ।

कानुनसँग सम्बन्धित काम गर्नेहरू कानुन व्यवसायीभित्र पर्नुहुन्छ तर लाइसेन्स लिएको र ल फर्म खोलेर राखेको भरमा कानुनदेखि बाहेकका विषयमा स्थायी जागिर खानेहरू बारको राजनीतिको लागि अयोग्य मानिनुपर्छ भन्‍ने विषयमा मैले आवाज उठाएकी हुँ । कानुनी कामदेखि बाहेकका कामको लागि स्थायी रुपमा अनुबन्धित भई जागिर खाएकाहरूलाई कानुन व्यवसायीको रुपमा समेटेर लैजाने बारको पद्धति र व्यवस्थालाई अन्त्य गरौँ भन्‍ने  मेरो मुख्य माग र एजेण्डा हो । कानुनसँग सम्बन्धित विषयवस्तुमा काम गर्नेहरूको हकमा अन्यथा सोचिनुहुँदैन ।

यो सम्बन्धमा धेरै अग्रज कानुन व्यवसायीहरूसँग मेरो बातचित भएको हो । यो पद्धति बदलिनुपर्छ भन्‍नेमा सबैको आन्तरिक रुपमा एकमत त पाएँ तर यसलाई बदल्नको लागि खुलेर आवाज उठाउनेहरूको चाहीँ कमी महसुस गरेको छु । सबैले पहिल देखि यस्तै चल्दै आएको छ भन्‍नुहुन्छ । मैले तपाईं हामीबाटै परिवर्तन सुरु गरौँ भन्छु । गलत पद्धति र व्यवस्थाको पक्षमा मैले बिजारोपण गरेको यो धारणालाई मुर्त रुप दिने मेरो प्रयास निरन्तर रहनेछ । 

विगतको जस्तो कानुन व्यवसायीको गरिमा अहिले कायम हुन नसकेको अवस्था छ आगामी दिनमा कस्तो परिकल्पना गर्नुभएको छ ?
कानुन व्यवसायीको गरिमा कस्तो बन्‍ने बनाउने भन्‍ने कुरामा बारको नेतृत्वकर्ताको अहम भुमिका हुन्छ । हेर्नुहोस् अहिले अडियो प्रकरणमा मुछिएका कानुन व्यवसायी हाम्रै बार एकाइको नेतृत्व लिइसकेका व्यक्ति हुन् भन्दा हामीलाई लज्जाबोध हुन्छ । बार र  बेन्चको सम्बन्ध न्यायलाई किनबेच गर्ने प्लेटफर्मको रुपमा होइन न्याय सम्पादन कार्य छिटो छरितो बनाउने तथा स्वच्छ र तटस्थ रुपमा न्याय दिने अस्त्रको रुपमा हुनुपर्छ । कानुन व्यवसायीको पेशागत कठिनाईलाई समाधान गर्न सकियो भने पनि धेरै हदसम्म बिसंगतिलाई कम गर्न सकिन्छ भन्‍ने मलाई लाग्छ ।

निर्वाचनमा तपाईंको समुहले विजय हासिल गर्ने स्ट्रेन्थ के हो ?
हाम्रो टिमको कुरा गर्नुहुन्छ भने यो नेपालको कानुन व्यवसायको क्षेत्रमा खारिएको टिम छ । यसमा पुराना कानुन व्यवसायीदेखि नवोदित कानुन व्यवसायीसम्मको टिम समेटिएको समावेशी टिम छ । यसले व्यवसायिक र क्षेत्रगत सन्तुलन समेटेको छ । यसैले न्यायपालिकाभित्रका विकृति विसंगति र भ्रष्टाचारको अन्त्यको लागि न्यायिक शुद्धिकरण र सुदृढिकरणमा समर्थन गर्दै कानुन व्यवसायीको पेशागत हकहितको सुनिश्चतता गर्न, पेशागत रुपमा देखा परेका समस्या समाधान गर्न तथा कानुन व्यवसायीका हकहित र अधिकारका लागि लबिङ्ग गर्न यो टिम सशक्त र सक्षम छ । कानुन व्यवसायीको हकहितका लागि काम गर्ने भएकाले नजित्‍ने भन्‍ने कुरै हुँदैन् ।

अन्त्यमा चुनावी तयारी सकिएको अवस्था छ । तपाईंहरू निर्वाचनको संघारमा हुनुहुन्छ । निर्वाचनमा सहभागी कानुन व्यवसायीहरूलाई तपाईंको सन्देश के छ ? 
कानुन व्यवसायीहरूले बारका काम कारबाही न्यायालयभित्र हुने विकृति विसंगतिको विरुद्ध, कानुन व्यवसायीको पेशागत सुरक्षा, मर्यादा र गरिमा बढाउनको लागि केन्द्रित हुनुपर्छ भन्‍ने आवाज उठाइरहनुभएको छ । बारको नेतृत्वले कानुन व्यवसायीको समस्या नजिकबाट  बुझोस् र समस्याको सम्बोधन गर्न सक्ने होस् भन्‍ने आम कानुन व्यवसायीको अपेक्षा रहेको छ । उहाँहरूको अपेक्षा र हाम्रा उद्देश्य साझा छन् ।

हाम्रा सम्पूर्ण मतदाता कानुन व्यवसायीलाई नेतृत्व छनोटका लागि अहिले गर्ने निर्णयले उच्च बार एकाइ पाटनको समग्र क्षेत्रको भविष्य निर्धारण गर्नेछ । म मेरा सहकर्मी र सहृदयी सबै कानुन व्यवसायीहरूको आशा र भरोसाको संवाहक भनेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । 


Author

थप समाचार
x