अदालत

बर्खास्त न्यायाधीश साहको कानुन मन्त्रीलाई प्रश्न : पितासँगको प्रतिशोध ममाथि किन ?

इकागज |
असार ३१, २०७९ शुक्रबार १३:१५ बजे

काठमाडौँ- न्याय परिषद्ले गत असार २५ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका साहलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गर्‍यो । २०७५ चैत २० मा उच्च अदालतमा नियुक्त भएकी धनुषाकी साहले निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्दै बर्खास्त गरेको थियो ।

न्यायाधीश नियुक्त हुनका लागि आवश्यक योग्यता नपुगेको (ढाँटेको) अभियोगमा न्याय परिषद् सचिवालयको सिफारिसमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले बर्खास्त गरेका हुन् । संविधान र कानुनबमोजिम निरन्तर कानुन व्यवसाय गरेको हुनुपर्नेमा उनले निरन्तर जागिर खाएको पाइएको निस्कर्ष निकालेको थियो ।


यता बर्खास्तमा परेकी साह भने आफूमाथि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले प्रतिशोध साँधेको आरोप लगाएकी छिन् । शुक्रबार साहले सबै प्रक्रिया पुर्‍याएर नियुक्ति गरिएको साढे तीन वर्षपछि कानुनमन्त्री कोइरालाले आफ्ना पिता एवं पूर्व प्रधानन्यायाधीश रामकुमारप्रसाद साहसँगको प्रतिशोध आफूमाथि साँधेको बताइन् । उनले नियुक्त भएर काम गरिसकेको यो अवधिसम्म का.मु. प्रधानन्यायाधीश कार्कीसहित न्यायपरिषद्ले कार्यक्षमता, व्यवहार र आचरण तथा कार्यदक्षतामा प्रश्न नउठाएको भन्दै कानुनमन्त्री कोइरालाले मन्त्री बनेपछि आफ्नो नाम कमाउन र योजनावद्ध तरिकाले बर्खास्त गरेको बताइन् ।

उनले भनिन्, ‘अहिले म किन अयोग्य भएँ ? साढे तीन वर्ष नियुक्तिको प्रक्रिया पूरा भइसकेपछि फेरि फर्किएर नियुक्तितिर जानु भनेको प्रतिशोधको कारणले भइरहेको छ । यो प्रायोजित रुपमा भएको जस्तो मलाई लागेको छ । यो बीचमा मलाई एकपटक पनि का.मु प्रधानन्यायधीशले रेणुका साहको कार्यक्षमता, दक्षता, आचरण, व्यवहारमा कुनै प्रश्न गर्नुभएको छैन । जबदेखि नयाँ कानुनमन्त्री नियुक्त हुनुभयो, गोविन्द कोइराला, उहाँ बिल्कुलै प्रतिशोधको भावनाले आउनुभएको छ । प्रतिशोध कसलाई हो तर मलाई टार्गेट बनाइयो । म न्यायपालिकामा सुदृढीकरण गर्छु भन्नुभएको छ । तर यो कुरा योजनावद्ध तरिकाले आएको छ । एउटा ट्रयाकमा हिँडिरहेको मान्छेलाई कसरी फाल्दा काम गर्न आफूलाई सजिलो हुन्छ र जनताको अघि अयोग्य देखाउन सजिलो हुन्छ भनेर प्रायोजित रुपमा ल्याइएको छ । अहिलेका कानुनमन्त्री गोविन्द बन्दी उहाँ संविधान र कानुनभन्दा माथि रहेर काम गरिराख्नुभएको छ । रेणुका साह अयोग्य थियो भन्ने लाग्छ भने त्यो बेलाको सबै नियुक्ति बदर गर्नुपर्छ । मैले नियुक्ति गरेको बैला नै सबै डकुमेण्टहरू दिएको थिएँ । अपुग थियो भने त्यही बेला भन्नुपर्थ्यो । अहिले स्पष्टीकरण सोध्दा पनि मैले मेरा सबै डकुमेण्टहरू बुझाउन जरुरी नरहेको बेला पनि बुझाएको छु ।’

उनले कानुनमन्त्री कोइराला संविधान र कानुनभन्दा पनि माथि गएर निर्णय गरिरहेको बताइन् । आफूले सबै डकुमेण्टहरू दिइसकेको भन्दै आफ्नो नाम कमाउने चाहनामा कानुन मन्त्रीले प्रतिशोध लिएको बताइन् । नियुक्ति गरेर करिव ४ वर्ष काम गरिसकेको मानिसलाई बर्खास्त गर्नुको कारण अहिलेसम्म नदिएको बताइन् । साहले आफ्नै नियुक्तिलाई बदर गर्नु र सर्वोच्चको अन्तिम भएर बसेको फैसलालाई पनि ओभरटेक गरेर फैसला विपरित काम गर्नु सरासर गैरकानुनी भएको बताइन् ।

उनले भनिन्, ‘मलाई नियुक्ति गरिसकेपछि आफ्नै नियुक्तिलाई बदर गर्नुभयो, त्यो एउटा गैर कानुनी भयो । सर्वोच्चको अन्तिम भएर बसेको फैसलालाई पनि ओभरटेक गरेर फैसला विपरित गएर न्यायपरिषद्को अयोग्य देखाउने काम गरेको छ । अझ उहाँले पूर्व प्रधानन्यायाधीशको छोरी हो भनेर जोड्नुभएको छ । उहाँलाई नाम कमाउन त्यो कुराले सहज भयो होला । ममाथि परेको अन्यायमाथि अब कसले बोल्छ ? ममाथि अत्याचार भएको छ, अयोग्यताको छाप लगाइदिएको छ, मेरो अयोग्यताको बारेमा केही भनिएको छैन । अब कुनै बाटो लिनेछु ।’

उनले न्याय दिनेमाथि नै अन्याय भएको कुरा बोल्ने मानिस को छ भन्दै प्रश्न गरिन् । उनले आफूमाथि भएको अन्याय र अत्याचार साथै अयोग्यताको छाप मेटाउन आफू नयाँ बाटो लिएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरिन् । २०७५ चैत २० गते न्यायाधीश नियुक्त भएकी साह पूर्व–प्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरीसमेत हुन् । उनको अयोग्यतामाथि प्रश्न उठेपछि परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गरेको थियो । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको अध्यक्षतामा बसेको न्याय परिषद्को बैठकले साहलाई गरेको नियुक्तिको निर्णय का.मु. प्रधानन्यायाधीश कार्कीले उल्ट्याएका थिए ।


Author

थप समाचार
x