अदालत

सर्वोच्च फर्किने जबराको तयारी, राेक्ने रणनीतिमा बार र न्यायाधीश

इकागज |
असोज २, २०७९ आइतबार ९:३४ बजे

काठमाडौँ - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च फर्किने तयारी गरेका छन् । उनीनिकट स्रोतका अनुसार जबराले सर्वोच्चको नियमित जिम्मेवारीमा फर्कने तयारीमा गरेका हुन् । उनीविरुद्ध महाअभियोग लगाउन ९ वटा आधार र कारण लगाउन संसदीय सिफारिस समितिले प्रतिवेदन बुझाएको भोलिपल्ट जबरा सर्वोच्च फर्किने तयारीमा लागेका हुन् । प्रतिनिधिसभाको कार्यकाल सकिएसँगै आफूमाथि लागेको महाभियोग स्वतः निष्क्रिय हुने दाबी राणाको दाबी छ ।

यता सर्वोच्च अदालतले भने जबरा सर्वोच्च फर्किने 'औपचारिक जानकारी' नआएको जनाएको छ । सर्वोच्चका प्रवक्ता विमल पौडेलले निलम्बित प्रधानन्यायाधीश जबरा सर्वोच्च फर्किने औपचारिक जानकारी नआएको इकागजलाई बताए । 


राणा सर्वोच्च फर्किने तयारि गरेपछि नेपाल बार र सर्वोच्च अदालतका न्यायाधीशहरूले रोक्ने तयारी गरेका छन् । निलम्बन फुकुवा नभएको भन्दै उनलाई सर्वोच्चमा प्रवेश नदिने उनीहरूको तयारी छ । संसद्ले निलम्बन गरेकोले महाभियोग पुष्टि भएन भनेर संसद्ले सफाइ नदिएसम्म निलम्बन कायम रहने बार र न्यायाधीको तर्क छ । जबरा आउन खोजे अवरोध गर्ने बारको तयारी छ । 

यस्तै सर्वोच्चका न्यायाधीशले समेत उनलाई रोक्ने बताएका छन् । 'उहाँ आउने भन्ने कुरा औपचारिकरूपमा जानकारीमा छैन । सञ्चार माध्यमबाट उहाँ सर्वोच्च फर्किने तयारिमा हुनुहुन्छ भन्ने जानकारी पाएका छौँ,' सर्वोच्चका एक न्यायाधीशले भने, 'यदि उहाँ आउनुभयो भने हामी रोक्छौँ। आउन नदिने तयारीमा छौँ ।'

उनलाई महाभियोग लगाउने विषयमा समितिमा एकमत हुन सकेको थिएन । एमालेले समितिको प्रतिवेदनमा फरक मत राखेपछि प्रतिवेदन बहुमतबाट पारित भएको थियो  ।

प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले राणालाई महाभियोग लगाउनुपर्ने सिफारिससहितको प्रतिवेदन सभामुख अग्नि सापकोटालाई संसद्‌काे कार्यकाल सकिनुअघि शनिबार दिउँसाे नै बुझाएको थियाे । 

सत्तारूढ दल ६ सांसद महाअभियोगमा पक्षमा उभिएका छन् भने एमाले र लोसपाका सांसदले प्रतिवेदनउपर फरक मत राख्दै असहमति जनाएका छन् । जबरामाथि केही विषयमा अनुसन्धान गर्नुपर्ने औंल्याउँदै सत्तागठबन्धनका सांसदले त्यसका लागि यस संसदमा समय अपुग भएकाले अर्को प्रतिनिधिसभाको बैठक पर्खिनुपर्ने सुझाव दिएका छन् । एमालेले ८ बुँदामा ‘नोट अफ डिसेन्ट’ लेखेको छ ।

 

 


Author

थप समाचार
x