अदालत

वरिष्ठ अधिवक्ता बिडारी भन्छन्- जबराविरुद्धको महाभियोग निर्वाचनपछि आउने संसद्‍ले हेर्छ

एमालेले जबरालाई जोगाउन षड्यन्त्र गरिरहेको आरोप

इकागज |
असोज २, २०७९ आइतबार १३:५५ बजे

काठमाडौँ - राष्ट्रिय सभाका पूर्वसदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताएका छन् । आइतबार सर्वोच्च अदालत परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वरिष्ठ अधिवक्ता बिडारीले प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव मंसिर ४ गतेको निर्वाचनपछि आउने प्रतिनिधि सभाले हेर्ने बताए । 

संसद् जीवित रहेको उनको भनाइ छ । उनले संसद् भंग नभएको र अधिवेशन मात्रै अन्त्य भएको स्पष्ट पारे। आवश्यक परेमा संसद्को अधिवेशन बोलाउन सकिने पनि उनको तर्क छ । ‘महाभियोग राष्ट्रिय सभामा जाँदैन । त्यो प्रतिनिधि सभाले हेर्छ । अब आउने संसद्ले हेर्छ । आवश्यक पर्‍यो भने अहिले पनि संसद् भंग भएको छैन । विघटन भएको छैन,' उनले भने, 'अहिले पनि अधिवेशन अन्त्य भएको हो । अधिवेशन आवश्यक भयो भने एक चौथाइले फेरि बोलाउन सक्छ । अब अधिवेशन बस्दैन । अब आउने निर्वाचनबाट नयाँ आएको संसद्ले अब हेर्छ ।’


वरिष्ठ अधिवक्ता बिडारीले नेकपा (एमाले) ले प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरालाई जोगाउनका लागि षड्यन्त्र गरिरहेको आरोप लगाए । उनले महाभियोग सिफारिस समितिले गरेको बहुमतको निर्णय लागू हुने स्पष्ट पारे। ‘समितिमा फरक मत आउनु पनि राम्रो कुरा होइन । नेकपा (एमाले) नाम गरेको पार्टीले चोलेन्द्र जस्तो भ्रष्टाचारीको पक्षलाई जोगाउनको निम्ति आलेटाले कुरा गरेर प्रक्रिया पुगेको छैन, हेर्न बाँकी छ भन्दै जालसाजी र षड्यन्त्रपूर्वक कुरा गरेर हिँड्नु गलत हो,' 'यस्तो गर्नु राम्रो होइन । बहुमतको निर्णय जहाँ पनि लागू हुन्छ  । आफ्नो वर्चस्व केही नचल्ने भएर, चालेन्द्रलाई चोख्याउनको निम्ति एमालेले खेलेको षड्यन्त्र हो ।’ उनले महाभियोगको प्रक्रिया ढिलो भयो भनेर भ्रष्टाचारीले उन्मुक्ति पाउनु नहुने उनले बताए । 
 


Author

थप समाचार
x