अदालत

जालसाजी आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दायर

इकागज |
मंसिर २७, २०७९ मंगलबार ८:२० बजे

रुपन्देही - तिलोत्तमा नगरपालिका ११ का नवनिर्वाचित वडाध्यक्ष विष्णुबहादुर बराल क्षेत्रीविरुद्ध ​जिल्ला अदालत रुपन्देहीमा जालसाजी गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग गरेको भन्दै पीडित पक्षले जनप्रतिनिधिलाई विपक्षी बनाई अदालतमा मुद्दा दर्ता गरेको हो ।

वर्षौंदेखि पति, सासुससुरा र देवरले अनुचित व्यवहार गरी बेवास्ता गरेको तथा मानसिक यातना दिएकोले एकासगोलमा बस्न नसकी स्वतन्त्रपूर्वक अलग बस्न श्रेयस्कर ठानी पीडितले २०७७ पुषमा पति लगायतलाई विपक्षी बनाई अंश सम्बन्ध विच्छेद मुद्दा दायर गरेकी थिइन् ।


अदालतमा अंश मुद्दा विचाराधीन रहेको अवस्थामा पीडित महिलाको अंश हक लाग्ने जग्गामा कम सम्पत्ति दिने र अंश हकबाट वञ्‍चित गराउने दूषित मनसायका साथ वडाध्यक्षले विपक्षीसँग मिलेमतो गरी कलुषित नियतका साथ दुराशयपूर्ण तवरले जानीजानी झुठ्ठा व्यहोरा उल्लेख गरी दुई वटा फरकफरक व्यहोराको लिखित पत्र बनाई जिल्ला अदालतलाई पेश गरेको पीडितको आरोप छ ।

२०७७ पुषमा विपक्षीको नाममा कुल एक कठ्ठा जग्गा रहेको भनी तत्कालीन वडा अध्यक्ष मुक्ति नारायण चौधरी थारुले सिफारिस गरेका थिए । २०७८ साल चैत्रमा अदालतले विपक्षीको जिम्मामा दर्ता रहेका चलअचल सम्पत्तिको तायदाती विवरण माग गर्दा विपक्षीले उक्त जग्गा देखाएका थिएनन् ।

पछि पीडितले उक्त तायदाती उपर उजुरी दिएपछि २०७९ भदौमा अदालतले वडा कार्यालयलाई उक्त जग्गाको विवरणको बारेमा जवाफ माग गरेको थियो । अदालतको पत्रको जवाफ दिने सिलसिलामा वडा अध्यक्षले एउटै चलानी नम्बर र मिति राखी दुईवटा फरकफरक व्यहोराको लिखित पत्र बनाएर पठाएको पत्ता लागेको हो ।

अदालतलाई पठाएको पत्रमा विपक्षीको नाममा जम्मा एघार धुर जग्गा रहेको भनी लेखिएको छ । उक्त व्यहोराको जवाफ अदालतलाई पठाएको थाहा पाएपछि पीडित र उनका परिवारका सदस्य वडा कार्यालयमा गई उक्त पत्रको कार्यालय प्रति हेर्न भनि माग गरेका थिए ।

सोही क्रममा वडा कार्यालयले आफूले कार्यालयमा राखेको पत्रमा विपक्षीको नाममा एक कठ्ठा जग्गा भोगचलनमा रहेको भनी उल्लेख गरेको देखिएको हो । पीडित महिलाको तर्फबाट मुद्दा हेर्दै आएका कानून व्यवसायीले स्थानीय सरकारका जनप्रतिनिधिले आफ्नो पदीय मर्यादा विपरीत अमुक मुद्दाका कुनै पक्षलाई फाइदा र अर्को पक्षलाई बेफाइदा गराउने अभिप्रायले जालसाज गर्नु निन्दनीय रहेको बताए ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएको ६ महिना नबित्दै जनप्रतिनिधि विरुद्ध मुद्दा पर्नु स्थानीय सरकारले सम्पादन गर्ने काम गर्ने प्रवृतिमाथि नै प्रश्न उठ्ने उनको भनाइ छ ।

वडा अध्यक्षले विपक्षीलाई लाभ पुर्‍याउने उद्देश्यले जग्गाको सही सूचना लुकाई अदालतलाई नै गुमराहमा राखी गलत व्यहोराको पत्र पठाई जालसाजी गरेको स्पष्ट भएको हो । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा क्षेत्री नेकपा एमालेको तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।


Author

थप समाचार
x