अदालत

सर्वोच्चमा अनलाइनबाट पनि मुद्दा दर्ता गर्न व्यवस्था गरिँदै

इकागज |
माघ ६, २०७९ शुक्रबार १९:३६ बजे

काठमाडौँ- कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतमा अनलाइनबाट मुद्दा दर्ता गर्न सकिने गरी तयारी गरिरहेको बताएका छन् ।

शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गर्दै कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्चमा अनलाइनमार्फत मुद्दा दर्ता गर्न सकिने व्यवस्था गर्न लागिएको बताएका हुन् । यसका निम्ति अध्ययन भइ कार्यान्वयनको तयारीमा रहेको उनले जानकारी दिए ।


त्यस्तै अदालतमा कोर्ट रुम टेक्नोलोजी लगायतको प्रविधिहरूको प्रयोग गर्ने प्रयास गरिरहेको पनि उनले बताए । पेसी अटोमेसनका लागि सफ्टवेयर लगायतका पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे । का.मु. प्रधानन्यायाधीश कार्कीले अदालतहरूमा रहेका अभिलेख मिसिलहरूलाई डिजिटाइजेसन गर्न सुरु गरिएको बताए ।

अदालतले ३६ लाख मुद्दाका मिसिल कागजातहरूलाई स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गराउने सोच राखेको उनले जानकारी दिए ।

का.मु. प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतले सूचना प्रविधि सम्बन्धी विभिन्न प्रकारका प्रणालीहरूको प्रयोग गर्नाले कार्य सम्पादनमा सहजता ल्याएको बताए । उनले यसबाट मुद्दाका पक्षहरू र अदालत स्वयंलाई कार्य सम्पादनमा सहज भएको उल्लेख गरे ।

विद्युतीय प्रणालीको प्रयोगका कारण अदालतहरूमा पक्षहरूको उपस्थितिलाई न्यून गर्दै मुद्दाको कारबाहीका बारेमा सहज जानकारी उपलब्ध गराउन सकिएको उनले बताए ।

उनले न्यायपालिकाको सूचना प्रविधिको स्तर तुलनात्मक रूपमा सन्तोषजनक रहेको उल्लेख गरे । का.मु. प्रधानन्यायाधीश कार्कीले शुक्रबार न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयरको शुभारम्भ गरेका हुन् ।

यस सफ्टवेयरमा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुस्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायतका सुविधा रहेको जनाइएको छ ।


Author

थप समाचार
x