अदालत

पूर्वप्रधानन्यायाधीश र न्यायाधीशलाई राष्ट्रपति-उपराष्ट्रपति हुन कानुनले रोक्दैन : न्यायाधीश समाज

इकागज |
फागुन ११, २०७९ बिहीबार १३:२७ बजे

कठमाडौँ - न्यायाधीश समाजले राष्ट्रपति उपराष्ट्रपतिलगायत पदहरूमा जान पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरूलाई कुनै बन्देज नरहेको प्रष्ट पारेको छ । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउनु पर्नेसमेत चर्चा भइरहेका बेला बहालवाला न्यायाधीशहरूको समाजले पूर्वप्रधानन्यायाधीश वा न्यायाधीशहरू नेपालको संविधान बमोजिम निर्वाचनद्वारा पूर्ति गरिने पदमा उम्मेदवार बन्न नपाउने भन्ने कतै नभएको प्रस्ट्याएको हो । समाजले न्यायाधीशलाई निर्वाचनमा भाग लिन कानुनले छेक्ने भन्दै सार्वजनिक भइरहेका टिकाटिप्पणीको समेत खण्डन गरिएको छ । 

समाजका अध्यक्ष ईश्वरप्रसाद खतिवडाले विज्ञप्ति जारी गर्दै सेवा निवृत्त प्रधानन्यायाधीश वा न्यायाधीशहरूलाई निर्वाचनद्वारा पूर्ति हुने राष्ट्रपति तथा उपराष्ट्रपति पदमा निर्वाचित हुन नेपालको संविधान, प्रचलित कानुन, संयुक्त राष्ट्रसंघद्वारा पारित स्वतन्त्र न्यायापालिकासम्बन्धी आधारभूत सिद्धान्त तथा अन्तर्राष्ट्रिय अभ्याससमेत कुनै दृष्टिले बन्देज नलगाएको बताएका छन् ।


‘सर्वोच्च न्यायालयबाट सेवा निवृत्त न्यायाधीशहरू राष्ट्रपति, उपराष्ट्रपति तथा अन्य कतिपय राजनीतिक पदको निर्वाचनमा सहभागी भई निर्वाचित भएका दृष्टान्तहरू अन्य मुलुकमा प्रशस्त छन् भने हाम्रै देशमा समेत यस प्रकारको अभ्यास गरिएको दृष्टान्त छ,’ विज्ञप्तिमा भनिएको छ, 'निर्वाचनमा उम्मेदवार हुने वा नहुने भन्ने कुरा पूर्वन्यायाधीशलगायत योग्यता पुगेका आम नेपाली नागरिकको स्वतन्त्रता र इच्छाधीन विषय  हो । राष्ट्रपति तथा उपराष्ट्रपति पदको आसन्न निर्वाचनको पूर्वसन्ध्यामा गरिएका पूर्वन्यायाधीशहरूप्रतिको असान्दर्भिक चर्चा, अमर्यादित टिकाटिप्पणी तथा योग्यता सम्बन्धमा अगाडि सारिएका आग्रह र पूर्वाग्रहपूर्ण दृष्टिकोणप्रति न्यायाधीश समाज नेपाल गम्भीर सरोकार, असहमति र आपत्ति प्रकट गर्दछ ।’


Author

थप समाचार
x