न्यायाधीशहरुको कमीले काम गर्न सकिएन : कायममुकायम प्रधानन्यायाधीश
फाइल फोटो
काठमाडौँ - कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीशहरूको कमीले अपेक्षित न्याय सम्पादनको काम हुन नसकेको स्पष्ट पारेका छन् ।
शुक्रबार ललितपुरमा आयोजित ‘अभिवक्ताको ३० औं परीक्षामा उत्तीर्ण भएका कानुन व्यवसायीहरूको लागि संचालित पूर्वव्यवसायिक आधारभूत तालिम उद्घाटन समारोह’मा बोल्दै उनले सो कुरा बताएका हुन् ।
न्यायालय सुधारको काममा लागि परेपनि न्यायाधीशको संख्या कमी भएका कारण त्यस कामले गति लिन नसकेको कायममुकायम प्रधानन्यायाधीश कार्कीको भनाई थियो । उनले मुद्दा बढ्ने तर न्यायाधीशको संख्या कमी हुने स्थितिबाट अदालत गुज्रनु परेपनि आफूहरुले न्यायमा ढिलाई हुन नदिने र न्यायको गुणस्तर मर्न नदिने कुरामा सचेत रहेर काम गरिरहेको दावी समेत गरे । कायममुकायम प्रधानन्यायाधीश कार्कीले न्यायालयको सुधार र निष्पक्ष एवम् गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा रचनात्मक र सकारात्मक सहयोग गर्न कानुन व्यवसायीहरूलाई पनि आग्रह गरे ।
उनले भने, ‘हामी निरन्तर न्यायालय सुधारको काममा लागि रहेका छौं । हामीलाई अहिले मुद्दाले धेरै जितेको छ । न्यायाधीशको संख्या कम छ । हामीले चाहेर पनि नहुने स्थिति भएको छ । उच्च अदालतमा एक चौंथाई न्यायाधीशहरू पूर्ति गर्न सकिएको स्थिति छैन । सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त छ । यो स्थितिमा अहिले हामी हिँडिरहेका छौं । र, यो न्यायाधीशको कम संख्यामा पनि हामी गुज्रिरहेका छौं । र, मुद्दाको संख्या आज दिनानुदिन बढदै गईरहेको अवस्था छ । तर त्यतिमा अहिले हामीले वास्तवमा अहिले दुइटा कुरालाई । एउटा न्याय ढिला नहोस् भन्ने कुरालाई पनि सजगता अपनाएका छौं । र, न्यायको गुणस्तरीयता नमरोस् भन्ने कुरामा पनि सजगता अपनाएर काम गरिरहेका छौं । वास्तवमा दूरदराजका मान्छेहरुले अदालतमा आउँदै र अनि पालो आएन भनेर फर्किदै जाने स्थितिको अन्त्य गर्नका लागि पेश सूचीलाई अघि बढाउने दिशामा पनि लागि सकेका छौं । अदालतको सुधारका प्रयासहरूलाई र अदालतले निष्पक्ष, गुणस्तरीय न्याय प्रदान गर्ने कुरामा यहाँहरुको एकदमै रचनात्मक र सकारात्मक सहयोग र योगदान रहनेछ भन्ने विश्वास राख्दछु ।’
कायममुकायम प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतलाई अटोमेशन सिष्टममा लैजान खोजेपनि सोत, साधनको अभावका कारण त्यो कामलाई अघि बढाउन नसकिएको बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया