अदालत

रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्छ : प्रधानन्यायाधीश कार्की

इकागज |
असार ३१, २०८० आइतबार १४:२५ बजे

काठमाडौँ- प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सर्वोच्च अदालतसहितका न्यायालयमा रिक्त न्यायाधीशको पूर्ति छिटो गर्नुपर्ने बताएका छन् । न्यायाधीश नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा अदालतको न्याय सम्पादन प्रक्रियामा नै अवरोध आउनसक्ने उनकाे भनाइ छ ।

आइतबार न्यायिक पत्रकार मञ्चको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानन्यायाधीश कार्कीले सबै तहमा ६० जना न्यायाधीश पद रिक्त रहेको जिकिर गरे । उनले सर्वोच्च अदालतमा मात्रै ७ जना न्यायाधीशको पद रिक्त रहेको जानकारी दिए ।


साउन २० गतेबाट अनिवार्य अवकाशमा जान लागेका प्रधानन्यायाधीश कार्कीले समयमा न्यायाधीश नियुक्त हुन नसक्दा न्याय सम्पादनमा समस्या देखिन थालेको उल्लेख गरे। उनले न्यायाधीश नियुक्तिमा ढिलो भइरहँदा प्रक्रियामा रहेका मुद्दाको फैसलामा ढिलाइ हुने र समयमा न्याय सम्पादन हुन नसक्ने अवस्था आएको बताए ।

प्रधानन्यायाधीश कार्कीले न्यायिक पत्रकार मञ्चसँगको भेटमा प्रधानन्यायाधीशले न्यायाधीश नियुक्तिको मापदण्ड निर्देशिका बनाएर लागू गरिएको बताए । उनले मापदण्डबिनाको न्यायाधीश नियुक्तिले समस्या ल्याएको धारणा राखे । उनले वस्तुनिष्ठताको आधारमा न्यायाधीश नियुक्ति गर्नुपर्ने व्यवस्थाको लागि मापदण्ड बनाएर लागू गरिएको बताए ।

न्यायपरिषद्को बैठक लामो समयदेखि बस्न नसक्दा न्यायाधीश नियुक्तिको मुख्य प्रक्रिया नै रोकिएको अवस्था छ । परिषदको बैठक परिषदका सदस्यहरूको कार्य व्यस्तताका कारणले बस्न नसकेको बताइए पनि सरकारसँग प्रधानन्यायाधीशको मतभेद रहेको टिप्पणी हुन थालेको छ । ९ महिनासम्म कायममुकायम भएर रहेका प्रधानन्यायाधीश आगामी साउन २० गतेदेखि नियमित अवकाशमा जाँदै छन् ।

सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिमा प्रमुख राजनीतिक दलहरूले पनि आफ्नो चासो राख्दै आएका छन् । न्यायाधीश सिफारिस गर्दा कानुन व्यवसायीलाई न्यायाधीश नियुक्ति सिफारिस गर्ने विषयमा कानुनमन्त्री धनराज गुरुङ सकारात्मक नरहेको बताइएको छ । 


Author

थप समाचार
x