अदालत

बर्खास्तीमा परेका तीन प्रदेश सांसदका रिटमा भोलि पेसी

प्रतिवादीहरूलाई अदालतमा उपस्थित हुन आदेश

सुभाष कर्ण |
जेठ १८, २०७८ मंगलबार २०:४४ बजे

जनकपुरधाम : सर्वोच्च अदालतले माओवादी केन्द्रले दल त्याग कानुन प्रयोग गरी प्रदेश सभा-२ बर्खास्त गरेका तीन सांसदको हकमा जेठ १९ गतेका निम्ति पेसी तोकेको छ । बर्खास्तीमा परेकाहरुले उठाएका विषयबस्तुको प्रकृति हेर्दा दुवै पक्षबीच छलफल गरी अन्तरिम आदेश जारी हुने/नहुने प्रश्नको निरुपण गर्न पेसी तोकेको हो । 

सर्वाेच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलाशबाट तिनीहरुको पद कायम रहने/नरहने सम्बन्धमा परमादेश जारी गर्नु नपर्ने कुनै कारण भए लिखित जवाफसहित विपक्षी प्रदेश सभा सचिवालय, निर्वाचन आयोग, माओवादी केन्द्र प्रदेश-२ का संसदीय दललाई अदालतमा उपस्थित हुने आदेश गरेको छ । 


प्रदेश सभा सचिवालयलाई मुख्य न्यायाधिवक्तामार्फत्, निर्वाचन आयोगलाई महान्यायधिवक्ता मार्फत् र माओवादी केन्द्र संसदीय दललाई आफै सबुद प्रमाणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्नू भनेको थियो । त्यो रिटमा अन्तरिम आदेश हुने/नहुने सम्बन्धमा छलफल गर्न जेठ १९ बुधबारका दिन उपस्थित हुन आदेश गरेको हो ।

माओवादी केन्द्रले प्रदेश- २ मा प्रत्यक्ष निर्वाचित सांसदद्वय रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र समानुपातिक सांसद मोहम्मद समीर पदबाट हटाएको थियो ।तिनले प्रदेश सभा सचिवालय, निर्वाचन आयोग र माओवादी केन्द्र संसदीय दललाई विपक्षी बनाई गत जेठ १३ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले जेठ १४ मा विपक्षीहरुको नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न र सर्वोच्च नियमावली २०४७ को नियम ४९ को २ (ग) को प्रयोजनार्थ छलफलका लागि जेठ १९ गते उपस्थित हुन आदेश गरेका हुन । 

नेकपा माओवादी केन्द्र पार्टी पूर्ववतः अवस्थामा फर्केपछि प्रदेशसभा सदस्य रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीर पार्टीको विधान विपरित अन्य दल लागेको भन्दै पार्टीबाट निस्कासित गर्दै तिनीहरुको पद बर्खास्तका लागि प्रदेश सभालाई सिफारिस गरेको थियो । माओवादी केन्द्रका सूचना बमोजिम बमोजिम प्रदेश सभा सचिवालयले ती सांसदहरुको पद बर्खास्त गरेको थियो । कुन्दन कुशवाहा रौतहट-३ को (२) बाट, रामचन्द्र मण्डल धनुषा निर्वाचन- १ को (२) बाट र मोहम्मद समीर बाराबाट समानुपातिक बन्द सूचीबाट प्रदेशसभा सदस्य पदमा निर्वाचित भएका थिए । 

सर्वाेच्च अदालतकै आदेश बमोजिम माओवादी केन्द्र र एमाले अलग-अलग दल भएपछि उनीहरु एमालेमै रहेपछि कारबाही गरेको थियो । यता माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले पार्टी निर्वाचितले पार्टी छाडिसकेको र पार्टीले पटक-पटक ताकेता गर्दा समेत बेवास्ता गरेपछि प्रदेशसभा सदस्य पद बर्खास्त गरिएको बताए । उनको थियो, ‘दलीय नैतिकता नै नभएका व्यक्तिले पदलोलुपता देखाउनु स्वाभाविक हो ।’  


Author

सुभाष कर्ण

कर्ण मधेस प्रदेशस्थित इकागज प्रतिनिधि हुन्।


थप समाचार
x